अस्ट्रेलियाको राजधानीमा नेपथ्यको पहिलो कन्सर्ट
अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यले पहिलो पटक साङ्गीतिक प्रस्तुति दिएको छ।
क्यानबेरास्थित ‘म्येनिङ क्लार्क हल, काम्ब्री’ मा शुक्रबार नेपथ्यको कन्सर्ट शुरू भएको थियो। कन्सर्टमा नेपथ्यले ‘आँगनैभरि हिउँ नै झरे’ बाट प्रस्तुत गरेको थियो।
त्यसपछि ‘छेक्यो छेक्यो’ सँगै ‘भेंडाको ऊन जस्तो’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरूले निरन्तरता पाएका थिए। त्यस्तै, ‘नैनाताल’, ‘यो जिन्दगानी’, ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएका थिए। अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम समापन गरिएको थियो।
नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुशी र अर्को मनले दुःखी पनि महसूस गरेको नेपथ्यका प्रमुख गायक अमृत गुरुङले बताए। “तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,” गुरुङले भने, “तर, यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ।”
मञ्चमा अमृतलाई सधैंजस्तै ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए। यसपटकको शृङ्खलाबद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुतिपछि नेपथ्य वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी पर्थ पुगेको छ।