मर्मत हुँदै राष्ट्रपति भण्डारीको बूढानीलकण्ठस्थित घर (तस्वीरहरू)
राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको बूढानीलकण्ठस्थित घर मर्मतसम्भार गरेर तयार पारिंदै छ।
निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने तालिका सार्वजिनक गरेको छ। नयाँ राष्ट्रपति आउनुअघि शीतल निवास छोड्ने योजना सहित राष्ट्रपति भण्डारीको घरको मर्मतसम्भार गरिन लागेको हो।
बूढानीलकण्ठ नगरपालिका-२ मा राष्ट्रपति भण्डारीले घर निर्माण गरेकी थिइन्। नयाँ घरमा सर्ने तयारी गरेका वेला २०७२ काे विनाशकारी भूकम्पले क्षति पुगेको थियो। मर्मतसम्भार गरेर नयाँ घर नसर्दै उनी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारी शीतल निवास सरेकी थिइन्। जसले गर्दा नयाँ घरमा बस्न मौका नजुरेको राष्ट्रपति भण्डारीका भाइ डेकेन्द्र पाण्डेले बताए।
पाण्डेका अनुसार, २०७२ वैशाख १६ गते नयाँ घरमा सर्ने तयारी थियो। तर, वैशाख १२ गते गएको भूकम्पले क्षति पुगेको थियो। “घर बनेको सात वर्ष भइसक्यो, अहिलेसम्म प्रयोगमा आएन,” पाण्डेले भने, “पहिलेदेखि आफ्नै घरमा बस्ने राष्ट्रपतिको इच्छा भएकाले मर्मत गरेर सर्ने योजना बनेको हो।”
दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भण्डारीको कार्यकाल आउँदो फागुनमा सकिंदै छ।
मर्मतको ठेक्का पाएको एवान बिल्डरका इन्जिनीयर दिनेश पौडेलले घरको बनावटमा केही परिवर्तन नगरी भित्री र बाहिरी भागमा नयाँपन दिन लागिएको बताए। “घरको छतमा पानी चुहिने समस्या थियो, त्यसलाई बनाउने, घरलाई अपाङ्गमैत्री बनाउने, भित्री सजावट, रङ्गरोगनको काम भइरहेको छ,” इन्जिनीयर पौडेलले भने। एवान बिल्डरसँग फागुन २० भित्र मर्मतसम्भार सम्पन्न गर्ने सम्झौता भएको छ।
राष्ट्रपति भण्डारी कहिले सर्छिन् त नयाँ घरमा? ठ्याक्कै कहिले घर सर्ने यकीन नभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका दाहालले बताए। दाहालले हिमालखबरसँग भने, “राष्ट्रपतिको पदावधि फागुन २९ गते सकिने भएकाले त्यही अनुसार घरमा सर्ने योजना छ।”