मधेश मन्त्रिपरिषद् विस्तार, भागबण्डा नमिल्दा माओवादीले पठाएन मन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् भने भागबण्डा नमिल्दा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भएको छैन।
शुक्रबार ६ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्री र मुख्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट मन्त्री थपिएका हुन्। सत्तारूढ दल माओवादीले भने मन्त्री पठाउन अस्वीकार गरेको छ। माओवादीले दुई मन्त्री मागेको थियो, तर एउटा मात्रै पाएपछि सरकारमा सहभागी नभएको जनाइएको छ।
शुक्रबार शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, खानेपानी तथा ऊर्जामन्त्री सिंगासन सा कलवार, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, महिला बालबालिका, युवा तथा खेलकूदमन्त्री मोहम्मद जयद आलमले शपथ लिएका हुन्।
त्यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सञ्जयकुमार यादवले पनि शपथ लिएका छन्।