आसाम आश्रय
आसामका नेपाली बस्तीहरूमा राणाकालमा शासकको शोषणले खेदिएर पुगेका पुर्खाहरूका संघर्ष र परिश्रमका गाथा लुकेका छन् जुन उधिन्न र लेखिन बाँकी छ।
विसं २०६७ को वैशाखतिर जस्तो लाग्छ। कार्यालयको छतमा खरबुजा खाँदै थियौँ। आसाममा जन्मेका किशोर प्रधानले सुनाए, “यहाँ त खरबुजा पनि अति महँगो, यस्ता खरबुजा त हामी केटाकेटी छँदा ब्रह्मपुत्रको फाटकमा फूटबल खेल्थ्यौँ।” हामीले खाँदै गरेको खरबुजाको दाम ४०० रुपैयाँ थियो। यति महँगो खरबुजाको यति सस्तो बयान! कहाँ होला त्यो ब्रह्मपुत्रको फाटक? किशोरका पुर्खा कहाँबाट कसरी किन त्यहाँ पुगे होलान्? त्यही वेला मेरो मनमा आसाम देख्ने इच्छा जागेको थियो।
दशकपछि एक दिन आयो। २०७९ असोजको कुनै दिन म गुवाहाटी-शिलाङ (जीएस) रोडको आठ माइल नजिकै साइँला मामा (लेखनाथ खनाल)को गाईखुट्टीमा पुगेको थिएँ। लगत्तै अर्को दिन मलाई किशोरको घर जान चौचौ लागिसकेको थियो। ब्रह्मपुत्रको फाटकमा खरबुजाको भकुन्डो खेलिएको देखुँला-नदेखुँला, तर एउटा इरादा पक्का थियो- लीलबहादुर क्षेत्रीको ब्रह्मपुत्रका छेउछाउ किताब देखाएर एउटा फोटो त पक्कै खिचाउनेछु।
आठ माइलबाट किशोरको घर धेरै माइल टाढा रहेछ। गुगलले भन्यो, ३७० किलोमिटर नाप्नुपर्छ। मेरो इरादा सुनेपछि मामाका छोरा माइल्दाइ (लक्ष्मण खनाल) ‘अरू वेला हिन्न पाइन्न, भाइ आएको निहुँ पनि छ, म पनि जान्छु’ भनेर कस्सिए। मलाई नि साथी हुने, गज्जब भयो। भाउजूले बाटामा खानलाई अलिकति खीर घोटेर पानीकागतमा कुटुरो पारिदिनुभयो। विश्वकर्मा पूजाको दिन थियो, पूजा गर्न थन्क्याइएका गाडी चल्लान्÷नचल्लान्। जे त होला, हामी बाटोतिर लम्कियौं।
आठमाइलको गणेश मन्दिरबाट लखिमपुर जाने एउटा गाडी भनेकै समयमा भेटियो। हामी जाने लखिमपुर साइड आसामको पूर्वी कुनामा पर्दो रहेछ। बिहान ९ बजे हिंडेका हामी नेशनल हाइवेको १५औं अर्थात् ‘एनएच-१५’ सडकमा दिनभर गुड्यौं। सोनापुर, खेत्री, जागिरोड, नौगाउँ, आमुनी पुग्यौं। आमुनीमा खाजा खान गाडी रोकियो। भाउजूले बनाइदिएको खीरको पोको त्यहीं फोएर मस्त खायौं। त्यसपछि गाडी कोलियाबोर, तेजपुर, मिशन चारआली, वालिपाडा, जामगुडी, विश्वनाथ चारआली, हेलेम हुँदै घाइगाउँ आइपुग्यो। लखिमपुरभन्दा १०० किलोमिटर वरै पर्ने घाइगाउँ किशोरको घर धूपावर जाने चोक थियो।
साथीहरू आउँदै छन् भनेर किशोरले भाइ भीमलाई खबर गरिसकेका थिए। घाइगाउँ चोकैमा भीम पनि मामाका छोराका साथ दुई वटा मोटरसाइकल लिएर उभिएका रहेछन्। बसबाट के ओर्लिएका थियौँ, उनीहरूले चिलले कुखुराका चल्ला झैं टिपेर बतासैको वेगमा दक्षिणतिर हुइँक्याए। निमेषमै धूपावर पुगियो।
नेपालबाट छोराका साथी आउँदै छन् भन्ने सुनेका वृद्ध बा दानबहादुर हामीलाई आँगनमै कुरिबसेका रहेछन्। सन्चो-बिसन्चो हुँदै थियो, त्यही वेला दुई छोरा सहित हामीतिर हाँस्दै आइरहेकी एक महिलालाई भीमले चिनाउँदै भने, “यी मेरी पूजा हुन्।” माइल्दाइले गम्भीर भएर सोधे, “ए, सासूकी छोरी!” भीमले माइल्दाइलाई सम्झाए, “मेरी श्रीमती हुन् के दाइ।” दाइले फेरि भने, “त्यै त तपाईंकी सासूकी छोरी।” भीम बल्ल मरीमरी हाँस्न थाले। त्यसपछि एकअर्कामा झ्याम्मिन बेरै लागेन।
मनले चाहेको ठाउँ टेकेकोमा म यसै पुलकित थिएँ। पहाडमा खेलेहुर्केको मान्छे, वरिपरिका अल्का अल्का तामुलका बोट देख्दा पनि नयाँ लाग्ने। तामुल सुके सुपारी हुन्छ भन्ने संसारी ज्ञान डुलेपछि पो थाहा भयो। पानको लहरो पनि त्यही तामुलमा लहरिएको थियो। पान र तामुल पसलमा देखे पनि प्रकृतिबाटै जोडी भएर उत्पत्ति हुने कुरा मलाई थाहा थिएन।
फराकिलो आँगन, वरिपरि फूल। दक्षिणी छेउमा उत्तर फर्किएको दुईतले घर। काठमाडौंमा किशोर भन्थे, “वरिपरि कसैको दुईतले घर छैन, हामीलाई नै दुईतले भनेर चिन्छन्।” पुरानो बान्कीको घर मलाई हेर्दैमा सुन्दर लाग्यो। मैले बा दानबहादुरलाई सोधे, “तपैंले बनाउनुभो बा यो घर?” बाले भने, “हैन, मेरा हजुरबुबाको कमाइ-अह्राइबाट मेरा बुबा छविलालले बनाएको घर हो।” हजुरबुबा अर्थात् भीमबहादुर।
भीमबहादुर श्रेष्ठ (विसं १९४०-२००२)को जीवन कहानी पुस्तकमा पनि उतारिएको रहेछ (उनका सन्ततिले पछि आफ्नो थर प्रधान लेख्न थाले)। भीमबहादुरकै इच्छा मुताबिक उनको निधनपछि २००५ देखि २००८ सालको बीचमा छोरा छविलालले बनारसबाट आएका कवि पण्डित नित्यानन्द तिम्सिनालाई त्यो जीवनी लेख्न लगाएका रहेछन्। पण्डितले विभिन्न छन्द कवितामा बाँधेको स्वर्गीय दानवीर भीमबहादुर श्रेष्ठ पुस्तक ललितपुरस्थित मदन पुरस्कार पुस्तकालयमा रहेछ। इन्टरनेटबाट पत्तो लगाई पनाति किशोरले यो किताबको फोटोकपी साथमा राखेका थिए।
यो पढ्दा थाहा हुन्छ, भीमबहादुर किन पूर्वी नेपाल, ताप्लेजुङको हाङदेवाबाट ब्रह्मपुत्रको शरणमा गए भनेर।
त्यति वेला नेपालमा रातो खुर्सानी झैं पिरो राणाशासन थियो। जसले शासकलाई ‘पिरो’ भन्थे, उनीहरू फाँसीमा लट्काइन्थे। यो उकुसमुकुसमा पहाडका रैतीहरू मुग्लानतिर धारो लाग्थे। अन्न खान नपाएर रगत सुकेकाहरूको दुःखको गाथा नित्यानन्द यसरी लेख्छन्-
चालिस लाख हिँडी सके अवतहाँ चौसठ्ठी लाखै रहे।
हिड्छन् फेरि कती गरीव अरुफेर यै नीति चालू भये।।
उति वेलाको नीति नै रहेछ, रैतीबाट खजाना असुल्ने। सरकारले मात्र हैन, स्थानीय सुब्बा मुखियाले पनि। पहाडमा यसै त उब्जनी कम, त्यसमाथि खाने मुख ज्यादा। खोले र सिस्नु खाएर बस्नुपर्ने अवस्थाका रैतीले ककसलाई खजाना पुर्याउन सक्नु? यस्तो अवस्थामा साहूबाट लिन्नँ भन्दाभन्दै पनि लिएको ऋण समयमा तिर्न नसक्दा अर्को साहू गुहार्नुपर्ने हुन्थ्यो।
एकातिर चक्रवृद्धि ब्याजको रन्को, अर्कातिर सुब्बा मुखियाको शासन। भोको पेटको पीडा व्याप्त थियो। यी चतुर्मुखी समस्या खेप्न नसकेपछि मानिसहरू एक मात्र विकल्प मुगलान पस्नुलाई देख्थे। भागेर लाहुर जाने चलन यसरी नै बस्यो। त्यो जमानामा लाहुर जाने मानिसले भनेको कुरा कवि नित्यानन्द उतार्छन्-
भन्छन् ती, अव देशमा गरिवले ढुङ्गो र पानी फगत्।
खानू पर्दछ, छैन क्यै अन्नहरू सूक्यो शरिर्को रगत्।।
दिन्को एक मुठी पनी उदरमा पर्थ्यो त हामी कहाँ।
हिँड्थ्यौं एसरि, विल्लि-वाठ हुनगै अर्का विदेशैमहाँ!
भीमबहादुर पल्लो किरातका बासिन्दा थिए। उवेला पल्लो किरातमा धनकुटा, चैनपुर, मुलापानी, आठराई, तुपके, ओलाङचुङै, म्याङलुङ, ताप्लेजुङ र हटिया गरी नौ खण्ड थिए। नित्यानन्दका अनुसार, त्यहाँको जनसंख्या तीन लाख ५३ हजार थियो। भीमबहादुर हाङदेवामै जन्मे। गाउँमा जे मिल्यो, त्यही खाई दुःख भुलेर बसेका थिए। विद्या, धनदौलत केही थिएन। विसं १९५१ को कुरा हो, भीमबहादुरका बाबु रामनारायण तेल पेल्न एक बाहुनकहाँ गए। तेली बाहुनले केही कारण देखाएर भोलि आउन भन्यो। गएको काम नभएपछि एक भारी घाँस भए पनि लैजान्छु भनेर भीरमा खर काट्न गए। फर्कंदा उनी खरको भारीसँगै खसेछन्।
बाबुको शेषपछि भीमबहादुरका जिम्मेवारी थपिए। बिहेबारी गरे, १९६२ सालमा छोरा पनि जन्मे। १९६५ सालमा भाइहरूबीच छुटीभिन्न भएपछि उनी नजिकै सिरुबारी भन्ने ठाउँमा गएर बसे। त्यहाँ जति परिश्रम गर्दा पनि खान पुगेन, ४० रुपैयाँ ऋण लिन बाध्य भए। त्यही पैसा समयमा तिर्न नसक्दा साहु लछुमन भट्टराई आँगनमा धाइरहन थाले। सकुन्जेल उनका वज्र वचन सहिरहे। म्याद माग्दै गरे। अति भएपछि घरबारी बेचेर दिउँला भने। अनिकालका वेला साहुले आँगन टेकिरहँदा भीमबहादुर ज्यादै सकसमा थिए।
अर्कातिर ताप्लेजुङमा सुब्बाहरूको अत्याचार बेग्लै थियो। ऋण लागेकै वेला सुब्बा चोमेश्वर लिम्बूले फेरि ‘खजाना दे’ भन्दै छोरो लालेलाई पठाए। अघि तिनै लिम्बूलाई दिएको खजाना सरकारमा गयो रे! अब फेरि कहाँबाट जुटाउनु? लाले खजाना माग्दै हप्कीदप्की गर्न थाल्यो। सहन नसकेर भीमले ‘लौ ले खजाना’ भन्दै उसलाई भकुर्नु भकुरे। चोमे लिम्बू आगो भएर भीमबहादुरलाई पक्राउ गरे।
‘तिरो बुझ, नत्र नेल ठोक्छौं’ भनेर सुब्बा मुखियाले हप्कीदप्की गरेपछि आफन्त भेला भएर हारगुहार गरे। सिंहका मुख्यान्जी बाख्राको के लाग्थ्यो, सरकारी रकम-कलम उठाउने मान्छेकहाँ लैजाँदै गर्दा भीमबहादुर बाटैबाट बेपत्ता भाग्छन्। उनैको सवाईमा नित्यानन्द लेख्छन्-
ज्यानै सम्म पनी बँचाउन ञहाँ मुस्किल भयो के गरू!
यस्ता दुर्जनभित्र वस्तिन यसै लाग्छू विदेशै बरू।।
...
राजा साहु बुझाउनै कठिन भो के खानु के लाउनू!
कस्ले दिन्छ भनेर ढुक्क परनू कस्का घरै धाउनू!!
हाङदेवाको कहानी लेख्ने नित्यानन्दले भीमबहादुर र अरूको पीडा सुनेर होला, त्यस गाउँलाई ‘यातना दिने महानरक’ जस्तै गरी बयान गरेका छन्। भीमबहादुर राति घर आएर आमा र श्रीमतीलाई आफू कुनै हालतमा गाउँ नबस्ने, विदेश जाने कुरा सुनाउँछन्। त्यो वेला आसामले नै आश्रय दिन्थ्यो। सबै घरका छोरा हिंडेका थिए। धन-विद्या बटुली घर फर्केका पनि थिए।
अन्याय-अत्याचारको भुमरीमा फसेका वेला भीमले भनेको श्रीमती र आमाले नमान्ने कुरै थिएन। आमा ‘एक्लै नजा, भाइलाई पनि लिएर जा, विदेशको ठाउँमा उसले दुःखमा मद्दत गर्नेछ’ भनेर सम्झाउँछिन्। भाइ रत्नबहादुर सँगै जाने भए। विद्या, बुद्धि र दौलत विदेशमै मिल्ने अठोट लिएर साइतै नहेरी दाजुभाइ बाटो लागे।
यता लछुमन साहु आत्तिए, ऋण नतिरी भाग्यो कि भनेर। रातमा आउँछ कि भनेर घरमै ढुके। उता घर छाडेको पहिलो रात दाजुभाइ मुकाम ताप्लेजुङको एक कैञाँकहाँ गएर बसे। भोलिपल्ट फौदारको पाटीमा पुगेपछि चाहिं हप्तै बिताए। मुग्लान जानेहरूको ताँती त्यही पाटी हुँदै जान्थ्यो। त्यहाँ भीमबहादुरलाई सान्त्वना मिल्यो, किनकि उनी जस्तै दुःखीजन अरू पनि भेटिए। चिनजानका मानिस पनि देखिए।
आठौं दिनमा फालेलुङ भन्ने ठाउँ पुगे। तीन-चार दिन फालेलुङ बसेपछि समूहका साथीहरू कोही कता, कोही कता लागे। १८ जनाको उनको समूह छुट्टियो। महीना दिनको यस्तो यात्रापछि उनीहरूले पूर्वबाट बग्दै आएको ब्रह्मपुत्र भेट्टाए, जहाज चढ्ने ठाउँ भेटियो।
जहाज देख्दा उनीहरू खूब खुशी भए। साथीहरूमध्ये एक जनाले भनेका थिए, “घरमै बसेको भए यसरी जहाज देख्न कहाँ पाइन्थ्यो?” पानीमाथि पनि फलामको जहाज गुडाउने ‘कुइरे’ को त्यो उद्यमलाई उनीहरूले ‘धन्य’ भन्दै स्याबासी दिए। जहाजमा चढेका अरू मानिस पनि कामकै खोजीमा थिए। आरा कटाइ गर्ने सरदारहरू पनि थिए। यही समूह लिएर जहाज पूर्वतिर कुद्यो।
जहाजबाट ओर्लेपछि भीमबहादुरको समूह आसामको तेलेनीमा हस्तवीर भण्डारीको घर खोज्दै हिंड्यो। हाङदेवाकै हस्तवीर पनि दुःख लुकाउनै त्यहाँ पुगेका हुनुपर्छ। भीमका दाजुभाइ शुरूका १० दिन केही नगरी ढसमस्स बसे। तर, पछि हस्तवीरलाई काममा सघाए। नाला खनेर बिरुवाहरू रोपे। डेढ महीनासम्म त्यहीं बसे।
कति दिन यत्तिकै बस्नू भनी भीमले अब नोकरी गर्ने इरादा लिए। हस्तवीरले उनलाई डिपुरा भन्ने ठाउँमा कुलनाथ तिम्सिनाकहाँ काम गर्न राखिदिए। भीमका भाइ चाहिं छिमेकी कर्णाखरका घरमा बसे। पहाडबाट झरेकाहरू अघि आएका मानिसकहाँ गोठालो बस्ने र काम सिक्ने चलनै जस्तो थियो। कुलनाथ र कर्णाखरकहाँ उनीहरूलाई केकति तोरी र धान तनखास्वरूप दर्माहा दिने भन्ने कुरा पनि तय गरियो।
भीमले कुलनाथकहाँ निकै परिश्रम गरे। गाई चराउने, दुहुने, खेत जोत्ने, रोप्नेसम्मका काम भ्याए। छिटाछरिता उनले भाँडा मात्र होइन, सबैका पाउ पनि मोले। कुलनाथले काममा खूब दलाए। दुई जना चाकरले जति काम गर्न सक्ने ठान्थे भीम आफू पनि। जे भए पनि यहाँ हाङदेवाको तुलनामा खान-लाउन सुख थियो।
भीमकै परिश्रमले उब्जनी निकै राम्रो हुँदै गयो। उता कुलनाथका मनमा तिकडम चल्न थाल्यो, केही निहुँ गरी निकाल्न पाए सबै बाली आफ्नो हुन्थ्यो भनेर। किनभने, तनखास्वरूप उब्जनी पनि दिनुपथ्र्यो। एक दिन जोतिसकेर भीम घर जाँदै गर्दा बाटामा पर्ने पोखरीभित्र निकै राम्रा माछा देखिए। दुवै गोरु छाडेर उनी माछा मार्न गए। निकै बेरपछि जाँदा त गोरु हराएछन्।
गोठ पुगे, त्यहाँ पनि थिएनन्। गोरु कसैले लगेको खबर आयो। त्यो थाहा पाएका मालिक कुलनाथ क्रुद्ध भए। भीमलाई निकै गाली गरे। सहन नसकेर भीमले पनि तनखा मागे, दर्माहा नदिने ‘कात्तिके’ भनेर गाली गरे। कुलनाथलाई त खोजे जस्तै निहुँ भइहाल्यो। काम गरेको पाँच महीना भएको थियो।
त्यसपछि दुवै भाइ फेरि उनै हस्तवीर मुखियाकहाँ फर्किए। यता कुलनाथको मनमा भीमले केही गर्लान् कि भन्ने डर पसेछ। त्यसैले पछि दर्माहा स्वरूप ५६ रुपैयाँ तनखा दिए। त्यो पैसा भीमले हस्तवीरलाई राख्न दिए। अनि त्यहाँ पनि भूतले जसरी काम गर्न लागे। उनी आएपछि अल्छी नोकरहरू भाग्न थाले।
हस्तवीरले पनि भीमका दाजुभाइलाई सायद तनखा दिन चाहेनन्। तर, उनीहरूलाई बारी किनिदिए। तेलेनीका उमापति नामक छिमेकीको एक पूरा बारी र ६ पूरा खेत ५६ रुपैयाँमा किनिदिएका थिए। जुन उनलाई भीमले कुलनाथकहाँबाट ल्याएर थमाइदिएको पैसाले नै पुगिहाल्थ्यो। पहाडबाट आएको ६ महीनामै ब्रह्मपुत्रको छेउछाउमा भीमको खेतबारी भइहाल्यो। हाङदेवाको ‘महानरक’ बाट उम्केका भीम दाजुभाइलाई तेलेनीले ठूलो गुन लगायो।
जग्गा जोरेपछि उनीहरूले तेलेनीमै एक रिजाल्नी ब्राह्मणीबाट जोडा गोरु सापटी लिए। यस बापत रिजाल्नीले आफ्नो बारी जोतिदिन भनिन्। पहाडतिर अर्मपर्म भनिने यस्तो प्रचलनलाई आसाममा ‘तेरी-मेरी’ भनिँदो रहेछ। त्यसपछि भीमले दूध खान मिल्ने माउ गाई किने। उवेला आसाममा जग्गा सस्तै पाइन्थ्यो, थप्दै गए। उनी बिहान तीन बजे उठ्थे, अरूलाई पनि सुत्न दिँदैनथे। यसरी मिहिनेत गर्दा दुःखका दिन भाग्दै गए। उनी नोकरबाट मालिक हुँदै गए।
अब लछुमन साहूको ऋण तिर्ने र परिवार पनि आसाम ल्याउने भनी भीम पहाड गए। लछुमनलाई पहिले ऋण तिर्न नसक्नुका सबै कहानी सुनाई परिवारले अन्य साहूसँग लिएका ऋण पनि फार्से गरिदिए। बिदा माग्न आएको भन्दै छरछिमेकीसँग भेटघाट गरे। भेटे जति सबैसँग आसामको बयान गर्दै भने, “त्यहाँ दुःखीले पनि धानको भात खान्छन्। पहाडमा जस्तो साहुहरूले महाजुलुम गर्दैनन्।”
उनको जीवनीको यो प्रसङ्गमा नित्यानन्द लेख्छन्-
पहाड नेपालको दुःख सम्झि रुन मात्रै आउँछ।
दुःखि लाइ आसामल्यै वरु बचाउँछ।।
...
ईश्वरका सृष्टिमाहाँ गरिवको ठाउँ।
नेपालमा रैनछ नी बरु अन्तै जाउँ।।
भीमबहादुरको दिन फर्केको देखेका अरूले पनि अब आसाम कल्पिन थाले। १९७४ सालमा उनले परिवारै आसाम पुर्याए। दोस्री पत्नी पहिल्यै उनलाई खोज्दै त्यहाँ पुगिसकेकी थिइन्। पहाडमा रहेका साला, जेठान, इष्टबन्धु पनि ब्रह्मपुत्र तरे। तेलेनीमा सबै एक ठाउँ भएपछि अपार आनन्द मानेर बसे।
यति वेला भीम पुराना मालिक कुलनाथकै हैसियतमा पुगिसकेका थिए। पहाडबाट आएकाहरूलाई केही समय आफ्नोमा काम गराउने र जग्गा किनाउने, फैलाउने गरे। यसो गर्दा उनले जमीनसँगै आफन्तको संख्या पनि बढाए। तेलेनी र धूपावरमा दुईतले घर बनाए। तकदीरको भर नपरी बाहुबललाई जोड दिने उनी कमाइसँगै संसारी नियम पनि चलाउँदै गए। छोराहरूको विवाह गरिदिए। बारम्बार सन्तानशोकले उनलाई सुर्ता नपरेको हैन। चित्तका रोगी पनि भए। त्यसैले उत्तरार्धमा संसारलाई निस्सार ठानी भक्तिचित्तमा मन लगाउन थाले। युवाकालमा कमाएको सम्पत्तिले तीर्थव्रत गरे। धर्मशाला र पाठशाला बनाए। अन्ततः ६२ वर्ष सात महीनाको उमेरमा हर्साको बिमारबाट उनले देहत्याग गरे।
तिनै भीमबहादुरको अह्राइ-पराइमा छोरा छविलालले तेलेनी नजिकै धूपावरमा बनाएको घर काइदाको थियो। त्यही घरमा म पश्चिमको, चिन्नु न जान्नुको मान्छे ११० वर्षपछि पुगेर एक रात बिताएँ। वृद्ध भइसकेकी उनकी छोरी र नातिलाई पनि भेटें। पनातिको नाउँ दिलीप भए पनि सबैले भीम भनेरै बोलाउँदा रहेछन्। उनीहरू खेती सहित बह्मपुत्रको फाटकमा अहिले पनि गाईभैंसीको छप्पड चलाइरहेकै थिए। गाईभैंसी काजिरंगा राष्ट्रिय निकुञ्जमा चर्न जान्थे, अनि आफैं फर्कन्थे। तर, पानीमा साह्रै रमाउने भैंसी कहिले खेल्दाखेल्दै धेरै टाढासम्म पुग्दा रहेछन्। थुप्रै दिन हराएर फर्किंदा रहेछन्।
पनाति भीमले सुनाए, “निकुञ्जमा हराएका भैंसी अस्ति २१ दिनमा फर्के।” कतिलाई चाहिं बाघले उतै खाइदिँदो रहेछ। भीमका गाई पनि रहेछन्, एक कट्टेल परिवार उनीकहाँ गोठालो बसेको रहेछ। भीमले मलाई ती कट्टेलकहाँ पुर्याई तामुल पान खुवाए। गाईले दूध कम देखाएकाले उनले तीन वर्षयता बाँकी दूध दर्माहास्वरूप गोठालालाई नै राख्न भनेका रहेछन्। जिजुका पालाको धर्मचलन धानिरहेका छन् उनी।
धूपावर पुगेको साँझ पनाति भीमले मलाई ब्रह्मपुत्र किनारमा पुर्याए। कल्याणी मन्दिर लगे। मेल बजार घुमाए। वरिपरिका नेपाली बस्ती बताइदिए। साँझ छिप्पिएकाले झिलिमिली बत्ती देखिए पनि बस्ती देखिँदैनथे। अर्को दिन उज्यालोमा फेरि ब्रह्मपुत्र किनारमा गयौं। विशाल नेपाली आसामी बस्तीहरू छर्लङ्गै देखिए। असोजको त्यो मौसममा ब्रह्मपुत्रको मैदानमा खरबुजाहरू थिएनन्। खेती गर्नै छाडिसकेका रहेछन्। तर, त्यहाँ कैयौं गाई चरिरहेका थिए। यो देखेपछि लीलबहादुरको ब्रह्मपुत्रका छेउछाउ किताबको बाहिरी गातोमा छापिएको परिदृश्य प्रत्यक्ष हेर्ने मेरो तिर्खा मेटियो। पनाति भीमलाई भनें, “धन्यवाद! तपाईंले मेरो इच्छा पूरा गरिदिनुभयो।”
कवि नित्यानन्दका अनुसार, २०औं शताब्दीमा दुःख पाएर गएका ४० लाखमध्ये १५ लाख नेपालीलाई आसामले आश्रय दिएको थियो। त्यति वेला गएकाहरू आसामलाई मातृभूमि नै सम्झेर बसे। केन्द्र र स्थानीय शासकको शोषणमा परेकाहरू शोक र भोकले खेदिंदा आसाममा सानो नेपाल अटाउन पुगेको थियो। कम्तीमा भीमबहादुरको समय अर्थात् राणाहरूले चर्को शोषण गरेका वेला गएका मानिसहरू आसाममा स्थापित भएको देखिन्छ।
उता कडा परिश्रम गर्नुपरे पनि खानलाउनको दुःख थिएन। त्यहाँका मालिकलाई नोकरको डरभर थियो, तर उनीहरू राणा, सुब्बा जस्ता छाडा थिएनन्। जस्तो- भीमबहादुरले केही गर्ला कि भन्ने डरले कुलनाथले तनखा दिए। अर्का मालिकले पनि खेतबारी किनिदिए। परिश्रम गर्नेले ६ महीना, एक वर्षमै आफ्नो जमीनको मालिक हुन सक्ने अवस्था थियो।
तेलेनी र धूपावरमा भीमबहादुरले रहरलाग्दो घर बनाउनु पहाडका साहु-सुब्बाको भन्दा कम रवाफ थिएन। त्यसमाथि दानवीर भई पाठशाला बनाउनु, आफ्नो सवाई लेखाउनु सानो उपलब्धि होइन। सानोमा विद्या नपाएका उनले डिपुरामा आफ्नै नाउँमा भीमबहादुर एलपी स्कूल खोल्न सहयोग गरेका थिए। पछि त्यो हाइस्कूल बन्यो। हाङदेवाका सुब्बा र चन्द्र शमशेरको शासनले त उनलाई नेपाल शरहदभित्र यी काम गर्न पक्कै दिँदैनथे। त्यसैले नेपाल पहाडमा उदर चुसिएका मान्छेका लागि आसाम मुक्त आकाश थियो।
भीमबहादुर विक्रमको २०औं शताब्दीका एक पात्र हुन्। नखोजिएका, नदेखिएका, नलेखिएका अरू कैयौं पात्र आसामका बस्तीमा छन्। भीमबहादुरभन्दा अघि आसाम टेकेका कुलनाथ, हस्तवीर, कर्णाखर, उमापतिहरूका कथा लेखिन बाँकी छ।
(पन्थी स्वतन्त्र अनुसन्धाता हुन्। हिमालको २०७९ माघ अंकबाट।)