‘चेपाङलाई बाघ बचाऊ भनेर मात्रै हुँदैन, आर्थिक रूपमा बलियो पनि बनाउनुपर्छ’
‘आर्थिक हिसाबले कमजोर मुसहर, माझी, चेपाङ, राउटे समुदायबीचमा रहेको निकुञ्जमा बाघ बचाऊ, गैंडा बचाऊ, माछा बचाऊ भन्दै गर्दा उनीहरूलाई आर्थिक रूपले बलियो बनाउने कार्यक्रम पनि लैजानुपर्छ।’
एकसाथ दुई वटा पुस्तक बजारमा ल्याएका बाबुकृष्ण कार्की नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी हुन्। बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण सम्बन्धी काममा खटिएका उनी प्रकृति संरक्षणमा यसरी लागे कि त्यसैलाई आफ्नो जीवनको मूल उद्देश्य बनाए। त्यही क्रममा उनले नेपाली सेना अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षा निर्देशनालयको नेतृत्व पनि गरे।
सेनाबाट अवकाशप्राप्त गरेपछि पनि संरक्षण सम्बन्धी काममै तल्लीन छन्। यसको पछिल्लो कडी हो, हालै बजारमा आएका उनका दुई पुस्तक जर्नेलदेखि रेन्जरसम्म र स्वर्गको सेवा। यिनै पुस्तक र संरक्षणमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक कार्कीसँग महेश्वर आचार्यले गरेको कुराकानीः
आफूलाई बाघ गोठालो भन्न रुचाउनुहुन्छ। लामो समय सेना र संरक्षणमा बिताउनुभयो। लेखक कसरी बन्नुभयो?
सैनिक सेवामा सहायक रथीबाट अवकाश पाएको पाँच वर्ष भयो। युवा हुँदा मेजरको हैसियतमा बर्दिया जाने अवसर पाएँ र त्यहाँ संरक्षणको पाठ पढ्ने मौका पाएँ। त्यो क्रममा प्रकृतिप्रति एकाग्र भएँ र त्यसमै लगाव रह्यो। मलाई यो संसारमा प्रकृतिको सेवा जतिको उच्च सेवा अरू कुनै छैन भन्ने महसूस भयो।
मातृसंस्थाले पनि मलाई लगातार २० वर्ष संरक्षणकै क्षेत्रमा काम गर्ने अवसर दियो। पछि जंगी अड्डामा विभिन्न ओहोदामा काम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशक हुने अवसर पनि पाएँ। अहिले पनि मेरो लगाव मात्र होइन, भक्तिभाव संरक्षण कर्ममै समर्पित छ।
कोरोना महामारीका वेला बन्दाबन्दीमा घरमै बस्दा आफ्नो अनुभवलाई लिपिबद्ध गर्ने काम गरें। त्यसका लागि संरक्षणको विविध क्षेत्रमा काम गर्ने साथीहरूले धेरै पटक घचघच्याउनुभयो। र, दुई पुस्तक तयार भए।
सेनाले बर्दिया राष्ट्रिय निकुञ्जमा नपठाएको भए पनि संरक्षण क्षेत्रमा लाग्नुहुन्थ्यो?
म सेनाको स्पेशल फोर्समा रमाइरहेको थिएँ। बर्दिया नपठाएको भए यतै रमाउँथें होला। संरक्षणको पाटो थाहा पाउँदिनथें र त्यो जान्ने अवसर पनि हुँदैनथ्यो। हरेक मान्छे प्रकृतिप्रेमी त हुन्छ नै, तर मलाई सेनाले युवाकालमै निकुञ्जको इन्चार्ज बनाएर पठाएकोमा संगठनप्रति आजीवन आभारी छु।
पुस्तक जर्नेलदेखि रेन्जरसम्ममा गेमस्काउट रामविलास यादव मेरा गुरु हुन् भन्नुभएको छ। रामविलाससँगको यहाँको सम्बन्ध र सिकाइबारे केही कुरा सुनौं न!
पदीय मर्यादा अनुसार राष्ट्रिय निकुञ्जमा मेरा सहकर्मी चीफ वार्डेनहरू हुन्थे। मैले जहिल्यै आफूलाई वार्डेन मातहतमा कारिन्दाका रूपमा प्रस्तुत गरें। किनभने, राष्ट्रिय निकुञ्ज हाम्रो छाता संगठन हो भने त्यो संगठनलाई सघाउन खटिएका थियौं।
वार्डेनहरूको कार्यव्यस्तता धेरै हुन्छ। उनीहरूको काम बहुत कठिन, जटिल र कहिलेकाहीं पीडादायी प्रतीत हुन्छ। उनीहरूले निकुञ्ज संरक्षण, व्यवस्थापन, प्रशासनका काम गर्नुपर्यो भने सेना र अन्य निकायसँगको समन्वय पनि गर्नुपर्यो। हामीले संरक्षणको पाटो मात्र हेरे पुग्छ। तसर्थ, मैले गस्ती जान, खोलामा बग्न, डाँडा चढ्न, चुरेको घाँचमा पस्न सधैं चीफ वार्डेनलाई कुरेर भएन। आफैं जानुपर्छ।
त्यसरी जाने क्रममा गेम स्काउट रामविलास यादवसँग भेट भयो, दोस्ती भयो। उनी पनि सिपाही सरहकै मान्छे हुन्, तर मलाई त्यो वेला संरक्षणबारे केही ज्ञान नै थिएन।
रामविलासलाई सारा कुरा थाहा थियो। बोट-बुट्यान, रूख, पात, जीवजन्तु, खोच, पहाड, खोला, नाला, गाउँबस्ती साराका बारेमा उनलाई थाहा छ। पदीय मर्यादाले त फिल्डमा काम गर्दैन, संरक्षण ज्ञानले काम गर्छ। त्यो ज्ञान त रामविलास जस्ता गेम स्काउटहरूलाई नै थाहा हुन्छ। हामीले उनीहरूसँग सिक्नुपर्छ। मैले सिकें पनि। त्यही भएर उनलाई गुरु भनेको हुँ।
गस्ती जाने क्रममा रामविलासलाई अगुवा मान्यौं। फेरि रामविलास यति सक्रिय संरक्षणकर्मी थिए, चार दिन नसुते पनि काममा खटिन सक्ने खूबी थियो। मैले आजका दिनसम्म पनि मानेको गुरु हुन्, उनी। हरेक गेम स्काउट, रेन्जर, सहायक संरक्षण अधिकृत, चीफ वार्डेन रामविलास जस्तो हुने हो भने देशको कुनै पनि राष्ट्रिय निकुञ्जमा एउटा पनि क्षति हुनेछैन।
आज सुनिन्छ कि गेम स्काउटहरू गस्ती जाँदैनन्; सिनियर गेम स्काउट बाहिरै निस्कँदैनन्; रेन्जरहरु मोबाइल र ब्याडमिन्टन खेलेर बस्छन्, तालीम छैन। यस्तो हुँदा संरक्षणमा हामीले चुनौती र क्षति बेहोर्नुपर्ने देखिन्छ।
गगन चुनारालाई पनि पुस्तकमा खूब सम्झिनुभएको छ नि!
तपाईंलाई विचित्र लाग्ला, हामी बन्दूक बोकेको सशस्त्र फौज बाघसँग डराउने, हात्तीले हान्ला भनेर तर्सने, गैंडासँग तर्कने। दुई–चार जना हिंड्न डराउने। १०–११ जना गस्तीमा जानुपर्ने। गगन चुनारा खाली खुट्टा निकुञ्जको पूर्वबाट पश्चिम, उत्तरबाट दक्षिण सर्वत्र ठाउँमा हातमा लौरो लिएर हिंड्ने गरेका थिए।
उनलाई देखेपछि लाग्यो, हामी कति कायर र काँतर रहेछौं? मलाई त आत्मग्लानि भयो, लाज लाग्यो। हामी कस्ता सैनिक? तसर्थ, हामीले ११ जनाको एउटा टोलीलाई दुई–दुई जनाको पाँच वटा टोली बनायौं। क्षेत्र पनि धेरै ओगटियो। काम पनि पाँच गुणा बढी भयो। उपलब्धि पनि पाँच गुणा हुने नै भयो। त्यो काम हामीले गगन चुनाराबाट सिक्यौं।
बाघ, हात्ती, गैंडा मान्छेलाई खान जन्मेका होइनन्। मान्छे तिनको आहारा होइन। ती वन्यजन्तुलाई कसरी सम्मान गर्ने, व्यवधान नगर्ने भन्ने तालीमले आत्मविश्वास प्राप्त भएपछि गगन चुनाराको जस्तो बुझाइ लिएर उनको बाटोलाई पछ्यायौं। तर, दुःखको कुरा हो, केही समयअघि उनको देहावसान भयो। हामीले संरक्षणकर्ममा संलग्न उनी जस्तो त्यागी जनशक्ति अब भेट्न गाह्रो छ, तर बनाउन असम्भव चाहिं छैन।
सुतेको गोहीलाई चलाउँँदा हातै गुमाएको विषय पनि पुस्तकमा रमाइलो ढङ्गले उल्लेख गर्नुभएको छ। त्यो घटना के थियो?
हामीले फौजलाई ‘पहलकदमी लिएर काम गर, निर्णय क्षमता बढाऊ, सबै ठाउँमा मेजर सा’ब, सुबेदार सा’ब, हवल्दार सा’ब भेटिंदैनन्। हरेक सिपाही कमान्डर होऊ। स्वविवेकमा काम गर, स्वनिर्णयमा काम गर, साहसका साथ अघि बढ, चाहिने काम गर्नलाई कसैलाई सोध्नुपर्दैन’ भनेर साहस भर्ने गरेका थियौं। साहस भरिदिंदा केटाहरू कति निडर भए भने गोहीको पुच्छर तान्ने भए। उनीहरूलाई डर भएन। त्यही क्रममा हात नै गुमाउनुपर्ने गरी दुर्घटना भएको हो।
एउटा घटना भनौं, हाम्रो जवान इमानसिंह दुराले एक पटक एउटा साहसी काम गरे, तर अलि विवेक पुर्याएनन्। गस्तीमा जाँदा उनले कर्णालीपारि स्थानीय महिलाहरूले जाल थापेर माछा मारेको देखे। त्यो अवैध काम थियो। उनीहरूलाई त्यसो नगरी फर्कनका लागि वारिबाट जनाउ, चेतावनी, सूचना दिंदा अटेर गरेपछि नदीमा हाम फाले। कर्णाली नदी उच्च करेन्ट भएको नदी मानिन्छ, त्यसमाथि त्यहाँको चौडाइ पनि लामो थियो। उनले पारि गएर हाते जालीहरू जफत गरेर महिलाहरूलाई घर फर्काए।
जसरी पारी गएका थिए, उसै गरी पौडिएर आए। उनी १५ मिनेट माथिको पुलसम्म हिंडेर आउनुपर्थ्यो, तर पौडिएर आए। त्यो एकदम गलत थियो। किनभने, फर्कने वेलामा उनको ऊर्जा अघि जत्तिको नहुन सक्थ्यो, त्यो उर्लेको नदीमा दुर्घटना पनि हुन सक्थ्यो। र, फर्केर आउनुपर्ने हतारो पनि थिएन।
हामीले पछि फेरि फौजलाई इमानसिंह जस्तो गल्ती गर्नु हुँदैन भनेर पोस्ट पोस्टमा भन्दै हिँड्नुपर्यो। केटाहरू कतिसम्म निडर भएका थिए भने अघाएर मस्त सुतेको बाघको जुँगा पनि चलाउने भए। फौज निडर भएकाले कहिलेकाहीं अनपेक्षित घटना पनि भए। डर भाग्यो भन्दैमा विकेकलाई भगाउनु त भएन नि।
बर्दियामै काम गर्दै गर्दा मलाई राजाले गोरखा दक्षिण बाहु दिने खबर आयो। खबर गर्नेलाई मैले भने, “यो संरक्षणको काम एक जनाले गरेर सकिने कुरा होइन, यो सामूहिक काम हो। संरक्षण सफल पार्न इमानसिंह दुरा जस्ता २५० जनाको योगदान छ। दिने भए सबै टीमलाई दिनु म एक्लैलाई चाहिँदैन।”
पछि, मलाई टोलीको नाम पठाउन भनियो। मैले इमानसिंह दुरा सहित सबै जनाको नाम सिफारिश गरें। सबै जनाले पाए। त्यो वेला जिल्ला प्रहरी प्रमुख टपेन्द्र हमालको नाम पनि सिफारिश गरेको थिएँ, तर उहाँले पदक पाउनुभएन। उहाँको ठूलो योगदान भए पनि खोइ कहाँ के भयो, पदक आएन। त्यो कुरा सम्झिँदा अझै पनि दुःख लाग्छ।
किताबको एक ठाउँमा टपेन्द्रले मलाई प्रहरी बनायो भनेर लेख्नुभएको छ। त्यो के भन्न खोज्नुभएको हो?
निकुञ्ज बाहिरको क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिन्छ। तर, वन्यजन्तुलाई निकुञ्ज क्षेत्र कुन हो, मध्यवर्ती क्षेत्र कुन हो भन्ने के थाहा? तिनलाई त देशको सीमाको अर्थ पनि हुँदैन। तस्करहरूले के गर्न थाले भने निकुञ्जमा केही नगर्ने तर निकुञ्ज बाहिर निस्कने बित्तिकै ठटाइहाल्ने। निकुञ्जभित्र जोगाएर राखेको वन्यजन्तु सिमाना बाहिर निस्क्यो कि ठहरै हुने अवस्था थियो।
गैंडा मरेको अवस्थामा सेनाको जवाफ तयार हुन्थ्यो, ‘निकुञ्जभित्र त जोगाएकै छौं नि, बाहिर मर्यो त के गर्ने?’ तर, हामीले बुझाइलाई फराकिलो पार्दै सम्बन्धित सबै निकायलाई के भन्यौं भने मध्यवर्ती क्षेत्रको वन्यजन्तु पनि हाम्रो हो। त्यो बाहिर निस्केर जहाँसुकै किन नपुगोस्, त्यो हाम्रो हो भन्ने अपनत्व स्वीकार गरौं। र, निकुञ्ज बाहिर जाने हामीलाई अनुमति नभएको हुनाले जिल्ला प्रहरी प्रमुख टपेन्द्र हमालजीले निकुञ्ज बाहिरको जिम्मा मेरो भयो भन्नुभयो। र, हामीले सहकार्य गरेर काम गर्दा राम्रो परिणाम आयो। हामीले चार दिवारभित्रको वन्यजन्तुको संरक्षण होइन कि वन्यजन्तुको संरक्षण गर्ने अवधारणा लागू गर्यौं। यो अभ्यास पछि गएर अन्य निकुञ्जले पनि अपनाए, जसले गर्दा संरक्षणमा राम्रो परिणाम हासिल गर्न सकियो।
हामीले संरक्षणको काम शुरू गर्दा नेपाल प्रहरी सक्रिय साझेदार थिएन। टपेन्द्र हमालसँगको सहकार्य र चोरीशिकारको क्रियाकलाप नियन्त्रण गर्न पनि प्रहरीलाई संलग्न गराउनुपर्ने आवश्यकता थियो। संस्थागत रूपमा सहकार्य हुने वातावरण बन्दै गयो र सबैको साझा सहयोगमा संरक्षण फस्टायो। अहिले त सेना बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतका सबै निकायसँग काँधमा काँध मिलाएर संरक्षणको जिम्मेवारी पूरा हुँदै आएको अवस्था छ।
सशस्त्र द्वन्द्व र त्यसपछि संक्रमणकालीन अवस्थामा दुर्दशा भोगेको संरक्षण क्षेत्र अहिले स्वस्थ र राम्रो देखिन्छ, चाहे त्यो बाघको संख्या वृद्धिमा होस्, चाहे गैंडाको संख्या वृद्धिमा। यो उत्साहपूर्ण परिणामलाई दिगो बनाउन केकस्ता चुनौती छन्?
मुख्य कुरा राजनीतिक स्थायित्व हो। अस्थिर राजनीति र अस्थायी प्रकारको सरकारले संरक्षण दिगो हुँदैन। हामीले सुशासनको व्यावहारिक अभ्यास छिटोभन्दा छिटो गर्नुपर्ने र मुलुकलाई समृद्ध बनाउनुपर्ने आवश्यकता छ।
हाम्रो संरक्षण अभ्यासलाई उदाहरणीय र प्रशंसनीय मानेर विश्वले नै सम्मान गरिरहेको अवस्था छ। कुशासनले बनाएको दुःखदायी अवस्था भए पनि प्रकृति संरक्षणको क्षेत्रमा प्राप्त सफलता र उपलब्धिले देशको इज्जत जोगाएको छ।
आर्थिक हिसाबले कमजोर मुसहर, माझी, चेपाङ, राउटे समुदायबीचमा रहेको निकुञ्जमा बाघ बचाऊ, गैंडा बचाऊ, माछा बचाऊ भन्दै गर्दा उनीहरूलाई आर्थिक रूपले बलियो बनाउने कार्यक्रम पनि लैजानुपर्छ। ताकि, उनीहरूले सगर्व गैंडाको स्वामित्व, बाघको स्वामित्व, आफ्नो नदीनाला र वातावरणको स्वामित्व लिन सकून्। अनि दिगो संरक्षण हुन सक्छ। गरीब चेपाङलाई २० हजारमा गैंडा मार्न लगाएर २० लाखमा खाग बेच्ने जुन माफिया छन्, तिनलाई ठेगान लगाउन स्थानीय सरकार र स्थानीय निकायले पहल लिनैपर्छ।
संरक्षण क्षेत्रको सुरक्षा आधार भनेको सेनातर्फका आठ हजार, निकुञ्ज प्रशासनको दुई हजार जनशक्ति र स्थानीय समुदायसँगको संलग्नतामा सञ्चालित छ। साथमा स्थानीय संरक्षणकारी निकायको पनि योगदान छ। स्थानीय युवाको चोरीशिकारी विरुद्धको टोलीले उत्तिकै राम्रो काम गरिरहेको छ।
त्यसको अर्थ, दिगो संरक्षणको दिशामा हामी सही मार्गमा अग्रसर छौं?
हामी सकारात्मक हुनैपर्छ। हामीलाई विलम्ब गर्ने छूट छैन। प्रकृतिको धनी देश नेपालको प्रकृति पनि कब्जा गरेर खायौं, बेचेर खायौं भने के लिएर बस्ने? केलाई समाएर बस्ने? केमा बहादुरी देखाउने? हाम्रो प्राकृतिक सम्पदा त भावी सन्ततिलाई युग युगसम्मलाई संरक्षण गर्नुपर्यो नि। हामीलाई सक्ने अधिकार छैन। त्यसकारण पनि हामीले छिटोभन्दा छिटो सुशासन र समृद्धिको मार्ग समाउनुपर्छ। आशा गरौं, त्यो दिन चाँडै आउला।
अन्त्यमा, लेखनको भावी योजना के छ?
संरक्षण कर्ममा लागिरहँदा देश-विदेश घुम्दाको संरक्षण अनुभवलाई लिपिबद्ध गर्दै छु। नेपालको र बाहिरको संरक्षण प्रयासको तुलना र हामीले सिक्ने सक्ने आधारका रूपमा अर्को पुस्तकमा काम गरिरहेको छु।