सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश फुयाँलको इजलासमा
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथिको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ।
बलात्कारको अभियोग लागेका लामिछानेलाई उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी २० लाख धरौटी बुझाएर रिहा भएका छन् भने नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी गराएको छ।
बालिकालाई बलात्कार गरेको अभियोग लागेका लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। त्यसमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
त्यसका विरुद्ध उनी उच्च अदालत पुगेका थिए। उच्च अदालतले केही शर्त सहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालतको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले माघ १९ गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो। त्यसमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको हो।
सर्वोच्च अदालतको दैनिक पेशी सूची अनुसार यसको सुनुवाइ न्यायाधीश फुयाँलको एकल इजलासमा हुनेछ। इजलास नं. ९ मा पेशी तोकिएको यो मुद्दा दोस्रो नम्बरमा रहेको छ।