बलात्कारका अभियुक्त पुलपुल्याउँदै क्यान
बलात्कार आरोपको मुद्दामा सफाइ नपाएका सन्दीप लामिछानेलाई क्यानले क्रिकेटको बल र ब्याट थमाएको छ। क्यानको यस्तो हर्कतमा अन्तर्राष्ट्रिय क्रिकेट संघले आँखा चिम्लेर बस्छ नै भन्न पनि सकिंदैन।
बालिका बलात्कारको अभियोगमा सफाइ नपाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीमा फर्काउन हतार गरेको छ। बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई गत भदौमा राष्ट्रिय टोलीको कप्तान तथा टोलीको सदस्यबाट निलम्बन गरेको थियो।
तर‚ माघ १८ मा पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले सफाइ पाइसकेका व्यक्तिलाई जस्तो उनीलाई गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। नाबालिग बलात्कारको अभियुक्तलाई टीममा फर्काउन किन हतार गरियो भन्ने प्रश्नको जवाफ क्यान पदाधिकारीले दिन सकेका छैनन्।
आफ्ना टीमका सदस्यहरू ‘क्लोज क्याम्प’ मा बस्दा क्याम्प बाहिर रात बिताउनु नै क्यानको कारबाहीको क्षेत्राधिकारमा पर्नुपर्ने विषय हो। अनुमति विना क्याम्प छोड्नु अनुशासन उल्लंघन हो। तर‚ कारबाही गर्नु त कता हो कता, बालिका बलात्कार जस्तो गम्भीर अपराधमा मुछिंदा समेत क्यानले निलम्बन फुकुवा गरिसकेको छ। साँच्चै भन्ने हो भने राष्ट्रिय टीममा फर्काएर क्यानले अभियुक्तलाई पुलपुल्याएको छ।
लामिछानेलाई १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग सहित गत कात्तिकमा दर्ता भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ। जिल्ला अदालतले लामिछानेलाई थुनामा राखेर मुद्दा छिन्नुपर्ने निर्णय गरेको थियो। तर, उच्च अदालत पाटनले पुस २८ गते जिल्लाको निर्णय उल्टाएर धरौटीमा छोडिदियो। विदेश भ्रमणमा निषेध, काठमाडौं उपत्यका छोड्दा प्रहरी प्रशासनको अनुमति लिनुपर्ने जस्ता शर्त राखेर उच्च अदालतले थुनामुक्त गरेको निर्णय विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको छ।
जुन दिन सर्वोच्चमा लामिछानेलाई थुनामै राखेर मुद्दा निरुपण गर्ने माग सहितको निवेदन पर्यो सोही साँझ क्यानले निलम्बन फुकुवा गरिदियो। निलम्बन फुकुवाको भोलिपल्ट क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्काएर ‘हौसला’ दिलायो।
बलात्कारको आरोप लागेपछि लामिछानेले क्यानसँग कानूनी प्रतिरक्षाका लागि सहयोग मागेका थिए। क्यानका तत्कालीन कार्यवाहक सचिव (हाल केन्द्रीय सदस्य) प्रशान्तविक्रम मल्लले उनलाई कानूनी सहयोग दिलाउन क्यान इच्छुक रहेको अभिव्यक्ति दिएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि भने लोकलाजले क्यान लामिछानेलाई निलम्बन गर्न बाध्य बन्यो। लगत्तै लामिछाने सम्पर्कविहीन भए।
नाबालिका बलात्कार जस्तो गम्भीर फौजदारी कसूरका अभियुक्तप्रति क्यान उदार बनेको उसको व्यवहारले देखाउँछ। तीन महीना जेलबासबाट निस्किंदा नै लामिछाने विजेताभावमा थिए। लामिछानेलाई छुटाउन कारागार पुगेका उनका वकील सरोजकृष्ण घिमिरेले क्यानले उनलाई पुरानै भूमिकामा पुनर्बहाली गर्नुपर्ने भनेका थिए।
पीडित बालिकाले आफ्नो पहिचान लुकाएर जीवन बिताउनु परिरहेको छ। तर‚ अभियुक्तलाई भने क्यानले अन्तर्राष्ट्रिय जगत्मा खेल मार्फत मुलुकको प्रतिनिधित्व गर्ने भूमिकामा विराजमान गराएको छ। क्रिकेटरको छवि जोगाउन खोज्दा क्यानको कदमले मुलुकको छविमा दाग लाग्नेछ। क्यान र नेपाल दुवै बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन अनिच्छुक रहेको सन्देश विश्वमञ्चमा पुग्नेछ।
कसूर प्रमाणित वा अप्रमाणित नहुँदै लामिछानेलाई खेलमा फर्काउने हतारो क्यानलाई किन परेको हो? धरौटीमा छोड्नु नै लामिछाने निर्दोष भएको अर्थमा क्यानले लिएको हो? मुद्दाको न्यायिक परीक्षण प्रारम्भिक तहको अदालतमै रहेको वेला खेल मैदानमा अभियुक्तलाई उतार्नु खेदजनक कदम हो। अदालतले चाँडो मुद्दा नछिन्दा लामिछानेलाई टीममा फर्काउने विषयमा क्यानलाई अप्ठ्यारो परेको हुन सक्छ। यसै पनि हाम्रो न्याय छिन्ने शैली सुस्त छ। बलात्कारका मुद्दा चाँडोचाँडो फैसला हुनुपर्ने भनी सर्वोच्च अदालतले नजीर स्थापित गरेको छ। जति ढिलो मुद्दाको सुनुवाइ भयो पीडितलाई यति अन्याय हुने व्याख्या गर्दै फास्ट ट्र्याकबाट सुनुवाइ हुनुपर्ने सर्वोच्चले भनेको थियो। तर, त्यस्तो संयन्त्र अदालतमा बनेको छैन।
राम्रो खेल सीप भएका खेलाडी टीममा नहुँदा त्यसको असर मुलुकको खेल प्रदर्शनीमा पर्नु स्वाभाविक हो। बरु मुद्दा चाँडो छिन्न क्यानले उचित बाटोबाट आग्रह गर्न सक्छ। यो पीडित र आरोपित दुवैको हितमा पनि हुन्छ। उसै पनि नेपाली समाजको महिलालाई हेर्ने अन्तर्दृष्टि पूर्वाग्रही छ। लामिछाने, पल शाहले अपराध गर्न सक्छन् भन्ने समाजले पत्याउँदैन। बरु बलात्कृत बालिकाप्रति समाजले शङ्का गरिरहेको छ। यस्तो वेला क्यानले अभियुक्तको हैसियतमा रहेका लामिछानेलाई क्रिकेटको बल र ब्याट थमाएको छ। अभि6युक्तप्रति चरम उदार बन्नु क्यानकै लागि प्रत्युत्पादक छ। क्यानको यस्तो हर्कतमा अन्तराष्ट्रिय क्रिकेट संघले आँखा चिम्लेर बस्छ नै भन्न पनि सकिंदैन।