‘डेढ महीनासम्म खान नदिई बुटले प्रहार गर्दा पनि आत्महत्याबारे सोचिनँ’
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारका कारण देशको अर्थतन्त्रमा समस्या परेकाले व्यवसायी हतोत्साही भएको बताएका छन्।
विराटनगरमा बिहीबार सीएनआई कोशी एक्सपोको उद्घाटन गर्दै अध्यक्ष ओलीले डेढ वर्ष चलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र बर्बाद पारेको आरोप लगाए। अघिल्लो सरकारले देशको अर्थ ब्यवस्थामा ग्रहण लगाएको उनको भनाइ थियो। वर्तमान सरकारले अर्थतन्त्रमा सुधार ल्याउंदै गरेको बताउंदै ओलीले भने, “सूर्य जस्तो प्रतापीलाई त ग्रहण लाग्छ भने ब्यवसायमा ग्रहण लागेकैले आत्महत्या गर्नुहुँदैन।”
उनले आत्महत्याको चर्चा गरेर अरुलाई त्यसप्रति प्रेरित नगर्न उद्योगी ब्यवसायीलाई पनि आग्रह गरे। २०३० सालमा जेलभित्र डेढ महीनासम्म खान नदिई बुटले प्रहार गरिरहँदा पनि आफूमा आत्महत्या गर्ने सोच नआएको ओलीको भनाइ थियो। “मैले आत्महत्याबारे सोचिनँ, बरु लड्नेबारे सोचेँ,” पूर्व प्रधानमन्त्री ओलीले भने, “त मन्त्री हुन हिंडेको हैन भन्दै लात्तले हान्थे। मेरो सोच मन्त्री हुने थिएन, परिवर्तन ल्याउँछु भन्ने थियो, तर प्रधानमन्त्री नै भएँ।”
केही दिनको ब्यापार घाटाबाट नआत्तिन आग्रह गर्दै अब देशको आर्थिक अवस्था सुधार तर्फ जाने ओलीको भनाइ थियो। वर्तमान सरकारले ब्यावसायिक क्षेत्रको माग सम्बोधन गर्ने आश्वासन दिए। मागहरू लिएर काठमाडौं आउन उद्योगी ब्यवसायीलाई आग्रह गरे।
कुनै वेला देशको पहिलो शहरका रुपमा रहेको विराटनगरको विकासमा आफूले पनि ध्यान दिएको ओलीले बताए। “उद्योगको शुरुआत, मजदुर आन्दोलन, रेडियोको शुरुआत, जुटका उत्पादन, सलाई, बिंडीको उत्पादन विराटनगरबाटै शुरू भएको हो,” उनले भने। आफु जेल पर्नुअघि चार वर्ष विराटनगरका उद्योगहरूमा संगठन गरेर हिंडेको उनले स्मरण गरे।
विराटनगरबाट चीनको सीमाना किमाथाङ्का जोड्ने सडकका कारण भारतलाई चित्त नबुझेको बताउँदै ओलीले भने, “तिमीहरूले विकास गरिसक्यौ, अब हामी गर्छौं भनेर सम्झाउँनुपर्छ।”
चीनका राष्ट्रपति सी जिङपिङसँग नेपालको ब्यापारबारे कुराकानी भएको बताउँदै ओलीले भने, “नेपालका सबै उत्पादन हामी खरीद गर्छौं भन्नु भएको छ।” ब्यापारबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा भएको उनले बताए।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगोजना गरेको १० दिने एक्सपो उद्घाटनमा उद्योगमन्त्री दामोदर भण्डारीले धरासायी बन्दै गएका उद्योगको पहिचान गरी सरकारले आवश्यक सहयोग गर्ने बताए। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको राजधानीका विषयमा बिवाद हुँदै गर्दा एमाले अध्यक्ष ओलीको सुझाव अनुसार नै विराटनगरलाई राजधानी घोषणा गरिएको बताए।