ज्यामिर काठमाडौंमा पाउनै छाड्यो
केही वर्षअघिसम्म पूर्वदेखि पश्चिमसम्म मध्य पहाडी क्षेत्रका पाखो र बारीमा लटरम्मै हुने ज्यामिर अहिले भने देखिन छोडेको छ।
काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्र चन्द्रागिरी नगरपालिकास्थित दहचोकका नवीन सिग्देल चार दशकअघि मीनपचासको बिदामा मामाघर ललितपुरको बडिखेल जान्थे। उपत्यकाको पश्चिमी किनार दहचोकबाट दक्षिण-पूर्वी कुनामा रहेको बडिखेलस्थित मामाघरमा सिग्देलको दैनिकी हुन्थ्यो- घाममा बसेर ज्यामिर खाने।
तिनताका बडिखेलका पाखाबारीमा ज्यामिरका बोट बग्रेल्ती थिए। लटरम्मै फल्थे। ज्यामिर गुलियो त हुन्थ्यो नै, बोक्रा पनि मीठो हुन्थ्यो। अचेल न मिनपचासको बिदा हुन्छ, न त बडिखेलमा ज्यामिरका बोट नै छन्।
बडिखेलमा भएका ज्यामिरका बोट पनि उग्लिए भने प्लटिङले गर्दा खेतीकिसानी पनि कम भएको छ। “संयुक्त परिवार हुन्थ्यो र काँठ क्षेत्रका कोही भाइ खेतीकिसानीमा र कोही भाइ पेशा-व्यवसायमा लाग्थे,” बडिखेलका स्थानीय अनिलप्रसाद आचार्य भन्छन्, “अचेल सबैजसो लेखपढ गरेर कामकाजी हुँदा खेतीमा लाग्ने चलन हराउँदै गयो। ज्यामिरको खेती पनि कम हुँदै गयो।”
आचार्यलाई लाग्छ, बजारमा माग हुन्थ्यो भने ज्यामिर खेतीले पनि निरन्तरता पाउँथ्यो। बजारमा माग नहुँदा ज्यामिर किसानको प्राथमिकतामा परेन। “खेतीपाती हुन छाडेपछि ज्यामिर हराउँदै गयो,” उनी सुनाउँछन्।
किसानले बिस्तारै ज्यामिरको खेती गर्न छोडेका छन्। भक्तपुरको जितपुरमा रहेको मातातीर्थ नर्सरीका सञ्चालक शंकर रञ्जित तीन-चार वर्षयता ज्यामिरको बिरुवा किन्न आउने क्रम घटेको बताउँछन्। “ज्यामिरबारे नयाँ पुस्तालाई थाहा छैन,” फाट्टफुट्टै मात्रै ज्यामिरको बिरुवा बिक्री हुने गरेको बताउँदै रञ्जित भन्छन्, “अहिले करेसामा ज्यामिर लगाउन कोही कोहीले खोज्न थालेका छन्।”
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ स्थित शैलुङ नर्सरीका सञ्चालक सत्यमान मोक्तान आफ्नो पुर्ख्यौली थलो रामेछापको दोरम्बा गाउँपालिकाको अग्लो पहाडी क्षेत्रमा पनि ज्यामिर फल्ने गरेको सुनाउँछन्। काठमाडौंका दक्षिणकाली, मातातीर्थमा अलि अलि ज्यामिर अझै रहे पनि अन्य क्षेत्रमा भने हराउँदै गएको मोक्तान बताउँछन्। उनी भन्छन्, “ज्यामिरको व्यावसायिक खेती भएन। पुरानो बिरुवा मासिए, तिनको ठाउँमा नयाँ बिरुवा लगाइएन। अनि हराउँदै गयो।”
सिन्धुली जुनारका लागि प्रसिद्ध भए पनि गोलान्जोर क्षेत्रमा भने सेती ज्यामिर र काली ज्यामिर फल्ने गर्थे। बजारभाउ नहुँदा किसानले ज्यामिरको बिरुवा खोजी नगरेको स्थानीय नर्सरी सञ्चालक चूडाराज सापकोटा बताउँछन्। “ज्यामिरको दानाको बजारभाउ छैन,” गोलान्जोर गाउँपालिका-५ स्थित खनियाँखर्कमा रहेको पहाडी फलफूल नर्सरी सञ्चालक सापकोटा भन्छन्। ।
उनका अनुसार, अमिलो बनाएर बेच्दा एक लिटरको आठ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ। तर, त्यसले लागत धान्दैन। जसले गर्दा किसान ज्यामिर खेतीप्रति आकर्षित हुन नसकेको उनी बताउँछन्। ज्यामिरको अमिलो पनि निबुवाको भन्दा राम्रो मानिन्छ।
विगतमा सिन्धुली क्षेत्रमा ज्यामिरको बिरुवा कलमी गरेर जुनारको बिरुवा बनाउने गरिन्थ्यो। तर, जरा कुहिने, गम निस्कने रोग देखा परेपछि २०४५ सालयता ज्यामिरको बिरुवाबाट कलमी गर्न छोडिएको सापकोटा बताउँछन्। “दुई-चार वटा ज्यामिरका बोट गाउँतिर भए पनि व्यावसायिक खेती भने गरिएको छैन,” नर्सरी सञ्चालक सापकोटा भन्छन्, “ज्यामिर हराउने जोखिम देखिन्छ।”
समुद्री सतहबाट एक हजार चार सय मिटर हाराहारीको उचाइसम्म ज्यामिर खेती हुन्छ। ज्यामिरको बोटलाई खास स्याहारसुसार गर्नु पनि पर्दैन। जुनार र सुन्तलामा जस्तो किरा लाग्ने समस्या ज्यामिरमा खासै देखिंदैन।
नेपालमा उत्पादन हुने अमिलो वर्गका बालीमा कागती, निबुवा, ज्यामिर आदि पर्छन् भने गुलियो बालीमा सुन्तला, जुनार, चाक्सी, भोगटे पर्छन्। मध्य पहाडी क्षेत्रको समुद्री सतहको आठ सयदेखि एक हजार ४०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म नै ज्यामिर फल्छ।
अमिलो वर्गमा पर्ने सबैभन्दा धेरै क्षेत्र ओगटेको फल सुन्तला हो। त्यसपछि दोस्रोमा कागती खेतीले धेरै क्षेत्र ओगटेको छ। कागती खेती तराईमा पनि विस्तार हुँदै गएको छ, तर ज्यामिर भने छायाँमा पर्दै गएको छ।
नेवार समुदायमा पूजाका लागि ज्यामिर अनिवार्य जस्तै हुन्छ। दशैं, तिहार जस्ता चाडमा यसको माग हुने गरेको उनी बताउँछन्। नर्सरी सञ्चालक मोक्तान भन्छन्, “यो व्यावसायिक खेतीभन्दा पनि रैथाने रूपमा गाउँठाउँमा हुँदै आएको बिरुवा हो।”
केही वर्षअघिसम्म काँठ क्षेत्रका पाखाबारीमा ज्यामिर हुन्थे। अब त त्यस्तो ठाउँ नै बाँकी नरहेको सिग्देल बताउँछन्। “पाखो, बारी, सिम, खोच जताजतै जग्गा प्लटिङ भएपछि कसले ज्यामिर लगाउने?” उनी प्रश्न गर्छन्।
राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका प्रमुख राजेन्द्र कोइराला काँठ क्षेत्रमा हुने फलफूलको आर्थिक महत्त्व कम हुँदा खेती खुम्चिँदै गएको तर्क गर्छन्। “ज्यामिर मात्रै होइन, जापानिज हलुवाबेद, जापानिज नासपाती जुन राम्रै मात्रामा हुन्थे, ती फललाई बस्ती विस्तारले खाँदै गएको देखिन्छ,” कोइराला भन्छन्।
सुन्तला, जुनार र कागती बाहेक बजार सम्भाव्यता भएको अमिलो वर्गका फलहरू निबुवा, चाक्सी, भोगटे आदिले व्यावसायिकता पाउन सकेका छैनन्। अमिलो वर्गको फलको माग बढिरहेको छ। उनी भन्छन्, “गुणस्तरयुक्त उत्पादन दिने जातको विकास गरी खेती प्रविधिको विस्तार गर्न सके अमिलो वर्गको फलको बजारको सम्भावना छ।”