सुनको मोल एक लाख सात हजार पाँच सय
केही दिनयता उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको कारोबार प्रति तोला एक लाख सात हजार ५०० रुपैयाँमा भएको छ। बुधबार प्रति तोला एक लाख ६ हजार ३०० मा कारोबार भएको थियो।
बिहीबार एकै दिन एक हजार २०० रुपैयाँले बढेर नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो। यसअघि माघ १२ गते सुनको मूल्य प्रति तोला एक लाख ६ हजार ९०० पुगेको थियो।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार, तेजाबी सुनको मूल्य प्रति तोला एक लाख सात हजार पुगेको छ। अघिल्लो दिन तेजाबी सुन प्रति तोला एक लाख पाँच हजार ८०० पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ रुपैयाँले बढेर प्रति तोला एक हजार ३९५ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले नेपाली बजारमा त्यसको असर परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक नेपाली बजारमा पनि कारोबार मूल्य तोक्दै आएको छ।