सङ्कटमा रामसार क्षेत्रमा सूचीकृत पोखराका नौ ताल
रामसार क्षेत्रमा सूचीकृत भएको सात वर्ष बितिसक्दा पनि पोखराका नौ वटा तालको अवस्था सुध्रिएको छैन। मानव अतिक्रमण तथा प्राकृतिक प्रकोपका कारण यहाँका तालहरू सङ्कटमा पर्दै गएका छन्।
विश्व सिमसार दिवसको अवसरमा २०७२ सालमा पोखराका फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो। यी नौ वटा ताल सहित नेपालका १० सिमसार क्षेत्र रामसारमा सूचीकृत छन्। सूचीकृत क्षेत्रले ६० हजार ५६१ हेक्टर क्षेत्रफल ओगटेको छ। पोखराका नौ तालले भने २६ हजार १०६ हेक्टर क्षेत्रफल ओगटेका छन्।
सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष‚ चितवनको बीसहजारी ताल‚ कपिलवस्तुको जगदीशपुर ताल‚ कैलालीको घोडाघोडी ताल‚ रसुवाको गोसाइँकुण्ड‚ डोल्पाको शे-फोक्सुण्डो ताल‚ सोलुखुम्बुको गोक्यो ताल‚ मुगुको रारा ताल‚ इलामको माइपोखरी र कास्कीको फेवा ताल लगायत वरिपरिका नौ ताल रामसार क्षेत्रमा सूचीकृत छन्।
राष्ट्रिय सिमसार नीति, २०६९ मा पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्रलाई सिमसार भनी परिभाषित गरेको छ। ओसिलो, दलदले, पानी जमिरहने सिमसार पानीको स्रोत भएको क्षेत्र हो। पर्यावरणीय दृष्टिकोणले सिमसारको ठूलो महत्त्व छ। सिमसार क्षेत्रका जीव, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रलाई धर्तीको मिर्गौला भनिने गरेको वातावरणविद् सुवास अधिकारी बताउँछन्। सिमसार नष्ट भए संसारमा भोकमरी आउने उनको भनाइ छ।
सङ्कटमा पोखराका नौ ताल
रामसारमा सूचीकृत हुनुअघि पोखराका नौ तालको अवस्था नाजुक थियो। सूचीकृत भएपछि सरकारी र निजी क्षेत्रबाट संरक्षणका प्रयास हुँदा केही हदसम्म अवस्थामा सुधार भएको छ। तर‚ पनि उल्लेख सुधार भने आएको छैन।
ताल किनारमा निर्माण गरिएका सडक तथा पदमार्ग निस्किने माटो र वर्षायाममा मुहानमा पहिरो गएर बग्दै आएको माटोले ताल पुरिने गरेको छ। जसका कारण तालमा पानीको सतह घटिरहने, मिचाहा प्रजाति वनस्पति लगायतले सिमसार क्षेत्रमा समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन्।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय गरेको एक अध्ययनले पोखरा उपत्यकाका तालहरू मानवीय अतिक्रमण, पहिरो, सिल्टेशन, बाह्य मिचाहा प्रजातिका वनस्पति, प्लास्टिकजन्य फोहोर तथा ढल मिसावट लगायतका समस्याको जोखिममा रहेको देखाएको छ। अतिक्रमणका कारण १०० वर्षमा फेवा र रूपा तालको ५० प्रतिशत क्षेत्रफल र गहिराइ घटेको छ। नौ तालमध्ये सबैभन्दा उच्च जोखिममा फेवा ताल रहेको अध्ययनले देखाएको छ।
पर्यटकीय गन्तव्यका रूपमा चाहिं फेवा, बेगनास र रूपा ताल चर्चित छन्। रामसारमा सूचीकृत हुनअघि ती तालहरू पुरिएर मासिने अवस्थामा पुगेका थिए। सूचीकृत भएपछि भने संरक्षणका लागि केही काम भएका छन्। गुँदे ताल संरक्षण समितिका अध्यक्ष सुर्जे भण्डारी भन्छन्, “ताल हो कि होइन भन्ने अवस्थामा पुगेको थियो। केन्द्रको ताल संरक्षण समिति र केही निजी क्षेत्रको सहयोगले तालको क्षेत्रफल अहिले बढेको छ। संरक्षणको काम भएको छ।”
खास्टे एवं न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारी तालमा पक्की बाँध नहुँदा र मुहानमा पहिरो जाँदा ताल पुरिएको बताउँछन्। डोजर लगाएर बाटो खन्दा मैदी तालको केही क्षेत्र पुरिएको छ। सवारीसाधनले उडाउने धूलोले ताल प्रदूषित बनेको छ। मैदी ताल नजिकै रहेको दिपाङ ताल मानवीय गतिविधिले फोहोर बनेको छ।
यसै वर्ष साउनमा गएको बाढीले कमलपोखरी क्षेत्र डुबानमा परेको थियो। डुबान हुँदा तालमा माटो जमेको र संरक्षणका लागि लगाइएको जाली च्यातिएको थियो। कमलको फूल रहेको यस पोखरीमा मिचाहा झारसँगै मानवीय अतिक्रमणको समस्या छ।
विस्थापित जलपन्छी
सिमसार क्षेत्रमा चराचरुङ्गी बस्छन्। कतिपय प्रजननका लागि, कतिपय बच्चा कोरल्न आउँछन्। सिमसारमा सङ्कटापन्न चराहरूको उपस्थिति रहने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।
रामसारमा सूचीकृत भइसकेपछि पोखराका ताल क्षेत्रमा मानवीय चहलपहल बढेकाले चराको संख्या घटेको घिमिरे बताउँछन्। “रामसारमा सूचीकृत भएपछि यी सिमसार क्षेत्र पिकनिक स्पट भए। व्यावसायिक रूपमा माछापालन गर्न थालियो‚” उनी भन्छन्‚ “जसले गर्दा यहाँ आउने चराहरूको संख्या झन् कम भएको छ।”
जलपन्छी गणनाको क्षेत्रीय संयोजक समेत रहेका घिमिरेले सिमसारमा रहेका रैथाने चरा, हिउँदमा जाडो छल्न आउने पाहुना चरा त्यहाँबाट विस्थापित भएर अन्यत्र स्थानान्तरण भएको बताउँछन्। पोखरा पन्छी समाजले पोखरा आसपासका सिमसार क्षेत्रमा गरेको जलपन्छी गणना अनुसार‚ सन् २०२१ मा ४६ प्रजातिका तीन हजार ८५ भेटिएका थिए।
सन् २०२२ मा ४५ प्रजातिका तीन हजार आठ जलपन्छी थिए। २०२३ मा ५४ प्रजातिका जम्मा दुई हजार ६२२ जलपन्छी मात्र पाइएका थिए। घिमिरेका अनुसार, चराको प्रजाति पनि अहिले घटेको छ। “हरि हाँसले नेपालका दुई वटा ठाउँ कैलालीको घोडाघोडी र पोखराको खास्टे तालमा मात्र बच्चा कोरल्थ्यो‚” उनी भन्छन्‚ “तर अहिले पोखराको खास्टे तालमा हरि हाँस आउँदैन।”
उदासीन स्थानीय र प्रदेश सरकार
पोखरा उपत्यकाका ताल संरक्षणमा स्थानीय र गण्डकी प्रदेश सरकार उदासीन छन्। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले २०७६ सालमा तालको संरक्षण र व्यवस्थापनका निमित्त ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गरेको थियो।
प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा गरेको अध्ययनमा गण्डकी प्रदेशमा २९० ताल (हिमताल, पोखरी, कुण्ड, दह) रहेको उल्लेख छ। तालको संरक्षण र व्यवस्थापनका लागि अध्ययन र पूर्वाधारको केही काम गरे पनि प्रभावकारी काम गर्न सकेको छैन। प्राधिकरणमा जनशक्ति र बजेट अभाव रहेको कार्यकारी प्रमुख कल्पना देवकोटा बताउँछिन्।
गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता घनेन्द्रबहादुर खनाल ताल संरक्षणका लागि ताल विकास प्राधिकरणको नै जिम्मेवारी रहेको बताउँछन्। पोखरा उपत्यकाका सिमसार क्षेत्रमा अतिक्रमणभन्दा प्रदूषणको समस्या रहेको उनको भनाइ छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संरक्षणका लागि तालहरूको रेखाङ्कनको काम मात्र शुरू भएको बताउँछन्। उनले आफ्नो चुनावी घोषणपत्रमा पोखरा ताल संरक्षण तथा जैविक विविधता प्रवर्द्धन परियोजना सञ्चालन गर्ने उल्लेख गरेका थिए।
जलवायु परिवर्तनको असर
वातावरणविद् सुवास अधिकारी जलवायु परिवर्तनको असर कम गर्न सिमसार क्षेत्र संरक्षणको आवश्यकता रहने बताउँछन्। जैविक विविधता, पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि सिमसार महत्त्वपूर्ण रहने र सिमसार रहेकै कारण जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने उनको भनाइ छ।
पोखरा आसपासमा जलवायु परिवर्तनको असर देखिन थालेको छ। जल तथा मौसम विभागका अनुसार, कास्कीको अधिकतम तापक्रम प्रत्येक वर्ष ०.०६७ डिग्री सेल्सियसले बढिरहेको छ। यस्तै‚ न्यूनतम तापक्रम पनि ०.०१८ डिग्री सेल्सियसले बढिरहेको मौसम विभागको तथ्याङ्कमा उल्लेख छ।
कास्कीमा प्रत्येक वर्ष १.४ मिलिलिटरले वर्षा कम हुन थालेको छ। जसको प्रत्यक्ष असर यहाँका तालतलैया पर्दछ। वन तथा वातावरण मन्त्रालयले सन् २०१८ मा प्रकाशन गरेको प्रतिवेदनमा जलवायु परिवर्तनले पोखरामा अनियमित वर्षा, असिना, चट्याङ, डढेलोको प्रकोप बढेको उल्लेख छ।
यस वर्ष ‘आजको आवश्यकता सिमसारको पुन:स्थापना’ नारा सहित सिमसार दिवस मनाइँदै छ। राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक सीता शाही विश्वमै सिमसार मासिंदै गइरहेकाले तिनको पुन:स्थापना र संरक्षणका लागि काम गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, “सिमसार दिवस एक दिन मात्र मनाएर भन्दा पनि दैनिक गतिविधिमा यसको संरक्षणका लागि स्थानीयको सहकार्यमा काम गरिनुपर्ने देखिएको छ।”