एकै दिन एक अर्बले घट्यो शेयर कारोबार
अघिल्लो दिनको तुलनामा शेयर कारोबार रकम बुधबार एक अर्बभन्दा बढीले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार शेयर कारोबार अघिल्लो दिनको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटेको हो। बुधबार एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको शेयर कारोबार भएको छ। जबकि, मंगलबार दुई अर्ब ७९ करोड ८३ लाख १८ हजार २९७ रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्स भने मंगलबारको तुलनामा बुधबार केही अङ्कले बढेको छ। स्टक एक्सचेन्जका अनुसार, नेप्से ४.९७ अङ्कले बढेर दुई हजार ११६ पुगेको छ।
बुधबार २१६ कम्पनीका ५० लाख २४ हजार ३८१ कित्ता शेयरको करोबार भएको छ। जसमध्ये ११० कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १३ कम्पनीको शेयर यथावत् छ।