३० खेलाडीलाई केन्द्रीय करारमा राख्ने क्यानको निर्णय
नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला गरी ३० जना खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ।
पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले बताए। क्यानले पुरुष खेलाडीमा ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐर र आशिफ शेखलाई राखेको छ।
त्यस्तै, ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल तथा ग्रेड ‘सी’ मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुलश मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई राखेको छ।
महिला खेलाडीमा ग्रेड ‘ए’ मा रुविना क्षत्री, सीता राना मगर र इन्दु बर्मालाई राखेको छ। त्यस्तै, ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिता कर्माचार्य तथा ग्रेड ‘सी’ मा कविता जोशी, बिन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरा बेगमलाई राखेको छ।
क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ का खेलाडीलाई मासिक ५० हजार, ग्रेड ‘बी’ का खेलाडीलाई ४० हजार र ग्रेड ‘सी’ का खेलाडीलाई ३० हजार रुपैयाँ दिने गरेको छ। महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीलाई मासिक १५ हजार, ग्रेड ‘बी’ मा १२ हजार र ग्रेड ‘सी’ मा १० हजार रुपैयाँ दिने गरेको छ।