सन्दीप लामिछानेको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग लागेका राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।
पोखरामा बसेको क्यानको बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जनाएका छन्। क्यानको निर्णय नं. ५ मा भनिएको छ, ‘अनुशासन उल्लंघनको कारबाहीमा परी निलम्बित राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरियो।’
बालिका बलात्कारको अभियोग लागेका लामिछाने उच्च अदालत पाटनको आदेशपछि पुर्पक्षका लागि धरौटीमा रिहा भएका थिए। उनी धरौटीमा रिहा भएसँगै क्यानले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
प्रहरीले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेपछि क्यानले गत भदौ २३ गते निलम्बन गरेको थियो। उनलाई कप्तानसँगै राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो।
सन्दीपले नाबालिकालाई गत भदौ ५ गते दिउँसो भक्तपुरको नगरकोट लगेर राति गौशालाको एक होटलमा पुर्याई बलात्कार गरेको आरोप छ। सन्दीपले बलात्कारको आरोप अस्वीकार गरे पनि नगरकोट घुम्न गएको, होटलमा रात बिताएको चाहिं स्विकारेका छन्। तर, यौनसम्बन्ध भने नराखेको भन्दै आफ्नो बचाउ गरिरहेका छन्।