१८ वर्षपछि रङ्गिंदै मेची रङ्गशाला
झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुरमा रहेको मेची रङ्गशालामा १८ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फूटबल प्रतियोगिता हुने भएको छ।
२०२५ सालमा निर्माण गरिएको उक्त रङ्गशालामा २०५९ र २०६१ सालमा राष्ट्रिय स्तरको फूटबल प्रतियोगिता त्रिभुवन मेमोरियल गोल्ड कप आयोजना भएको थियो। त्यसयता कुनै प्रतियोगिता नभएको रङ्गशालामा १८ वर्षपछि भद्रपुर नगरपालिकाको सहयोगमा राष्ट्रियस्तरको ‘भद्रपुर–झापा गोल्ड कप’ फूटबल प्रतियोगिता हुन लागेको हो।
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुने गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए। प्रतियोगितामा नेपालका ए डिभिजन क्लब सहित भारत, बाङ्लादेश र भुटानका एक-एक टीम सहभागी उनले बताए।
गोल्डकप आयोजनाका लागि नगरपालिकाले आँट र साथ दिएको अध्यक्ष ढकाल बताउँछन्। यस्तै‚ स्थानीय उद्योगी/व्यापारीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाकी उपमेयर राधा कार्की भद्रपुरको शानलाई जोगाइराख्न ३० लाख रुपैयाँ दिने निर्णय गरेको बताइन्। झापाको सबैभन्दा पुरानो साथै धेरै खेलाडी उत्पादन गरेको मेची रङ्गशालालाई पुनः लयमा ल्याउन नगरपालिका लागिपरेको पूर्व मेयर जीवन श्रेष्ठ बताउँछन्। “यो रङ्गशाला खेल मैदान मात्रै होइन, राष्ट्रिय स्तरका धेरै खेलाडीहरूका लागि पाठशाला पनि हो‚” उनी भन्छन्‚ “यहाँ प्रतियोगिता नहुँदा सुनसान मात्रै लागेन, भद्रपुरको शान नै घटेको जस्तो महसूस पनि भयो।”
रकम जोहो गर्दै आयोजक
गोल्डकपको मिति टुङ्गो लागिसके पनि अहिलेसम्म प्रतियोगिताका लागि आवश्यक रकमको जोहो भइसकेको छैन। करीब डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि भद्रपुर नगरपालिकाले ३० लाख दिने निर्णय गरेको छ। अन्य रकमका लागि केही महानुभावले मौखिक कबुल गरे पनि आयोजक समितिको खातामा रकम जम्मा नभएको अध्यक्ष ढकाल बताउँछन्।
१५ हजार दर्शकले खेल हेर्ने भनिएको रङ्गशालाको ढलान गरी बनाइएका प्यारापिट पर्याप्त नहुने भएपछि बाँसको अस्थायी प्यारापिट निर्माण गरिंदै छ। रङ्गशाला पुनर्निर्माण गर्न करीब २० लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष ढकालले बताए।
झापाका १५ वटा स्थानीय तहसँग समन्वय गर्न भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल आफैं खटिइरहेका छन्। व्यापारी र व्यवसायीहरूसँग समन्वयका लागि आयोजकका पदाधिकारी लागेका छन्। गोल्डकपको आजीवन सदस्य बन्नेहरूको संख्या पनि बढिरहेको आयोजकले बताएको छ।
प्रतियोगिताका विजयीका लागि १३ लाख रुपैयाँ नगद पुरस्कार राखिएको छ। दोस्रो टीमले सात लाख रुपैयाँ पाउनेछ। त्यस्तै‚ म्यान अफ द टुर्नामेन्टका लागि एक लाख रुपैयाँ तोकिएको छ। प्रत्येक विधाका लागि फरक फरक पुरस्कार रकम तोकिएको आयोजक समितिका अध्यक्ष ढकालले बताए।
किन भएन १८ वर्षसम्म खेल?
२०६१ सालमा त्रिभुवन मेमोरियल गोल्डकप भएपछि कुनै खेल भएको छैन। तत्कालीन नेकपा (माओवादी)को सशस्त्र आन्दोलन‚ विभिन्न राजनीतिक दलहरूको आन्दोलन आदिको प्रभावले त्यसयता ठूला प्रतियोगिता नभएको सरोकारवालाहरू बताउँछन्।
“२०६२/६३ को जनआन्दोलनपछि देशमा राजनीतिक परिवर्तन भयो। निर्वाचन र संविधानका कुराले खेल ओझेलमा पर्यो‚” नगरपालिकाकी उपप्रमुख राधा कार्की भन्छिन्, “त्यसपछि २०७२ मा भूकम्प गयो। भूकम्पले रङ्गशालाका पर्खाल भत्किए। पछि कोभिड आयो‚ खेल हुने अवस्थै भएन।”
२०५९ र २०६१ का गोल्डकप आयोजक समितिका अध्यक्ष रहेका टीकाराम ढकाल २०७२ मा प्रतियोगिता गर्ने तयारी गरे पनि भूकम्पले गर्दा रोकिएको बताउँछन्। “२०७२ सालमा खेल आयोजना गर्ने तयारी गर्दै थियौं, भूकम्पका कारण रङ्गशाला जीर्ण भयो‚” उनी भन्छन्‚ “जीर्ण रङ्गशाला बनाउन सरकारले वास्तै गरेन। रकम आफैंले जुटाउनुपर्ने स्थिति आयो‚ खेल आयोजना गर्नै सकिएन।”
भूकम्पले भत्काएको रङ्गशालाको पर्खाल स्थानीय व्यापारी तथा उद्योगीहरूको सहयोगमा पुनर्निर्माण गरिएको थियो। त्यसपछि कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेन।
मेची रङ्गशाला ब्युँताउने प्रयास
२०६१ सालमा त्रिभुवन मेमोरियल गोल्डकप आयोजना भएपछि कुनै प्रतियोगिता नभएपछि रङ्गशाला जीर्ण बनेको थियो। “रङ्गशाला झाडी जस्तै थियो। फोहोर, काँस र घाँसले छोपिएको थियो‚” भद्रपुर गोल्डकप सञ्चालक समितिका अध्यक्ष ढकाल भन्छन्, “हामीलाई भद्रपुरको प्रतिष्ठा नै गुम्यो जस्तो लाग्यो, त्यही भएर रङ्गशाला पुनर्निर्माणमा जुट्यौं।”
अहिले भद्रपुरवासी भद्रपुर झापा गोल्डकप आयोजना गरी मेची रङ्गशालालाई पुरानै लयमा फर्काउने प्रयासमा छन्। उनीहरू रङ्गशाला पुनर्निर्माणमा जुटेका छन्। नगरपालिकाका पूर्व मेयर तथा गोल्डकप आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठ भन्छन्, “पाँच वर्ष भद्रपुर नगरपालिकाको मेयर भएर काम गर्दा प्रदेश सरकारसँगको समन्वयमा रङ्गशालाको स्वरूप फेर्ने काम गर्यौं। नयाँ प्यारापिट निर्माण गर्यौं।”