किन मरिरहेछन् नवजात छोरी?
नेपालमा नवजात शिशुको मृत्युदरमा छोराभन्दा छोरीको संख्या बढी छ। यसको कारण खोज्न जरुरी छ।
नवजात शिशु मृत्युदर मातृ तथा शिशुको स्वास्थ्य अवस्था देखाउने महत्त्वपूर्ण सूचक हो। यस सूचकले मुलुकको जीवनको गुणस्तर प्रतिविम्बित गर्छ। नेपालले बाल मृत्युदर घटाउन उल्लेख्य प्रगति गरे पनि नवजात शिशुको मृत्युदर घटाउन भने चुनौती बनिरहेको छ। जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ।
सन् २००१ देखि २०१६ सम्म आइपुग्दा नेपालमा नवजात शिशु मृत्युदर उल्लेख्य घटेको देखिन्छ। प्रति हजार जीवित शिशुको जन्म हुँदा मृत्यु हुने संख्या ३९ बाट २१ मा झरेको छ। यो डेढ दशकमा नवजात छोराको मृत्युदर ५२ बाट २४ मा र नवजात छोरीको मृत्युदर ४२ बाट १७ मा झरेको छ। दिगो विकास लक्ष्यले निर्धारण गरे अनुसार, सन् २०३० भित्र नेपालले प्रति हजार जीवित जन्ममध्ये १२ जनामा झार्नुपर्छ। तर, गत मंसीरमा सार्वजनिक नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नवजात शिशु मृत्युदरको अवस्था यसअघिको २०१६ को सर्वेक्षणभन्दा सुधार हुन नसकेको देखाएको छ।
हालै प्रकाशित एक अध्ययनले पनि नवजात शिशु मृत्युको चिन्ताजनक तथ्य देखाएको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यस पंक्तिकार सहित ११ जनाले तराईको जिल्ला सर्लाहीमा गरेको अनुसन्धान अनुसार, नवजात शिशु जन्मिएका तीन सातामा छोराको तुलनामा छोरीको मृत्युदर अधिक छ। अध्ययनमा लैङ्गिक भेदभावका कारण कसरी धेरै नवजात छोरीको ज्यान गइरहेको छ भन्ने उल्लेख छ।
जन्मेको पहिलो साता नवजात छोराको मृत्युदर बढी देखिन्छ। सामान्यतया नवजात छोरीको तुलनामा छोराको मृत्युदर करीब २० प्रतिशत बढी जोखिममा हुन्छ। यसको कारणमा गर्भाशयको वृद्धिमा अवरोध, श्वासप्रश्वास सम्बन्धी रोग, समय अगावै जन्मिनु र जन्मिँदा निसासिनु लगायत छन्। पशुहरूमा भाले र पोथी जातिमा प्रतिरक्षा क्षमताको भिन्नताबारे गरिएको एक अध्ययनले केटाको तुलनामा केटीहरू संक्रमण विरुद्ध लड्न जन्मजात सक्षम हुने देखाएको थियो। अध्ययन अनुसार, पुरुषहरूमा हुने हर्मोनले प्रतिरक्षा प्रणालीलाई दबाउँछ भने यस विपरीत महिलाको हर्मोनले प्रतिरोधी क्षमता सबल बनाउँछ।
पशुहरूमा भाले र पोथी जातिमा प्रतिरक्षा क्षमताको भिन्नताबारे गरिएको एक अध्ययनले केटाको तुलनामा केटीहरू संक्रमण विरुद्ध लड्न जन्मजात सक्षम हुने देखाएको थियो।
न्यून तथा मध्यम आय हुने मुलुकमा जन्मेको सात दिनभित्र मृत्युको जोखिम नवजात छोरामा बढी हुन्छ, तर सातदेखि २८ दिनको अवधिमा मृत्युको जोखिम नवजात छोरीमा बढी हुन्छ। यद्यपि, नवजात अवस्थाको कुन विशिष्ट उमेर अवधि (दिन)पछि नवजात छोरीहरू मृत्युको जोखिममा पर्छन् भन्ने चाहिं यकीन भएको छैन। त्यस कारण हामीले नवजात शिशुमा फरक लिङ्ग अनुसार हुने मृत्युदरलाई सूक्ष्म उमेर समूह (०–१, १–३, ३–७, ७–१४, १४–२१ र २१–२८ दिन) अनुसार विश्लेषण गरेका छौं।
अध्ययनमा हामीले नेपाल न्युट्रिशन इन्टरभेन्सन प्रोजेक्ट सर्लाही (एनएनआईपीएस)ले नेपाल नेत्रज्योति संघसँग मिलेर सर्लाहीमा तीन फरक समयमा ¥यान्डोमाइज्ड कन्ट्रोल्ड ट्रायल (आरसीटी) विधिबाट समुदायमा गरेको अध्ययनको तथ्याङ्क लिएका थियौं। अध्ययनमा सन् १९९९ देखि २०१७ सम्म बच्चा जन्माएका महिलाहरूलाई समेटेका थियौं। अध्ययनले देखाए अनुसार, नवजात शिशु मृत्युदर सन् १९९९ मा प्रति हजार जीवित जन्ममा ४१.९ (४४.२ छोरा, ३९.७ छोरी), २००२ मा ३० (३०.५ छोरा, २९.६ छोरी), २०१० मा ३१.४ (३३.४ छोरा, २९.४ छोरी) थियो। यी तीन वटै अध्ययनमा साझा निष्कर्ष के पाइयो भने, जन्मेको पहिलो सात दिनमा नवजात छोराको मृत्युदर अधिक थियो, तर तेस्रो सातापछि (२१–२८ दिन) भने नवजात छोरीको मृत्युदर बढी देखियो।
तीन वटै अध्ययनबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी औसत नवजात शिशु मृत्युदर विश्लेषण गर्दा नवजात शिशु मृत्युदर प्रत्येक एक हजार जीवित जन्ममध्ये ३१.६ (छोरा ३३.०, छोरी ३०.२) थियो। यस तथ्याङ्कलाई लिङ्ग अनुसार सूक्ष्म उमेर समूहमा विश्लेषण गर्दा जन्मेको सात दिनभित्र हुने मृत्युमा छोराको मृत्युदर १.१७ गुणा बढी भएको पाइयो। र, जन्मेको तीन सातापछिको मृत्युदरमा अवस्था ठ्याक्कै उल्टिएर नवजात छोरीको मृत्युदर २.४३ गुणा बढी देखियो।
लैङ्गिक विभेद
दक्षिणएशियामा भएका विभिन्न अध्ययनले परिवारले नवजात छोरीको तुलनामा छोराको हेरचाहमा बढी ध्यान दिइएको देखाउँछ। जुन घरमा पहिले पनि छोरी जन्मिएका हुन्छन्, त्यहाँ त्यस्तो भेदभाव झन् बढी देखिन्छ। छोरीको तुलनामा छोरालाई बढी स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको, दक्ष स्वास्थ्यकर्मीसँग जँचाइएको र उपचारमा बढी खर्च गरिएको पाइयो।
दक्षिणएशियामा भएका विभिन्न अध्ययनले परिवारले नवजात छोरीको तुलनामा छोराको हेरचाहमा बढी ध्यान दिइएको देखाउँछ।
विश्व प्रजनन सर्वेक्षणमा नेपाललाई सन् १९८० को दशकदेखि नै छोरालाई प्राथमिकतामा राखिने मुलुकमा राखिएको छ। त्यो स्थितिमा हालसम्म खासै ठूलो परिवर्तन आएको देखिँदैन। सन् २०१२ को एक सर्वेक्षण (स्टडी अन जेन्डर, मास्क्युलिनिटी एन्ड सन प्रिफरेन्स इन नेपाल एन्ड भियतनाम) अनुसार दाङ, गोरखा र सप्तरीमा १८ देखि ४९ वर्षसम्मका एक हजार पुरुषसँग कुरा गर्दा ९० प्रतिशतले छोरी मात्र हुने मान्छे अभागी भएको र छोरा नहुनु खराब कर्मको उपज हो भनेका थिए।
नेपालको पुरुषसत्तात्मक संरचना, विवाहपछि महिलाले पतिको घरमा बस्ने चलन, आर्थिक, सामाजिक, धार्मिक हरेक हिसाबमा छोरालाई नै प्रश्रय दिइँदा लैङ्गिक भेदभाव बढेको हो। छोरालाई परम्परागत रूपमै सांस्कृतिक र आर्थिक जिम्मेवारी दिइएको देखिन्छ, जस्तै– बाआमालाई बुढेसकालमा आर्थिक र सामाजिक सुरक्षा दिने, दागबत्ती दिने र पारिवारिक वंशलाई निरन्तरता दिने। यो मान्यता र अभ्यासका कारण उनीहरूको स्थान महिलाभन्दा उच्च हुन पुगेको छ। जबकि, छोरीलाई विवाहमा दाइजो दिनुपर्ने हुँदा बोझका रूपमा लिइन्छ।
यिनै सांस्कृतिक प्रभावका कारण छोरीले नवजात अवस्थादेखि नै हेलाहोचो र उपेक्षा भोग्न पुग्छन्। तिनले राम्रो स्याहार र उपचार नै पाउँदैनन्। छोरी जन्माउने सुत्केरीले राम्रो खाना तथा आराम र हेरचाह पाउँदैनन्। परिवारमा छोरीभन्दा छोरोले प्रश्रय पाउँदा विशेष अभिभावकीय व्यवहारका कारण नवजात छोरीमा जन्मिएको तेस्रो साता असर देखिएको हो। लैङ्गिक विभेदको असर तीन सातामा देखिए पनि भेदभावको व्यवहार जन्मँदा वा गर्भावस्थादेखि नै शुरू भएको हुन सक्छ।
नवजात छोराहरूमा जैविक रूपमा बाँच्ने क्षमता कम हुने भएकाले समयक्रममा नवजात छोरीहरूको मृत्युदरमा कमी आउने आशा गरिएको हुन्छ। नवजात छोरीको मृत्युदरमा कमी आउनुको अर्थ समग्र नवजात शिशु मृत्युदरमा कमी आउनु हो। तर, नवजात शिशु जन्मिएको तीन सातामा छोराको तुलनामा छोरीको मृत्युदर अधिक हुँदा नेपालले सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर १२ मा झार्न सक्ने सम्भावना कम छ।
लैङ्गिक भेदभावले बालिका र महिलाहरूको जीवनस्तरमा मात्र होइन, नवजात शिशुको बाँच्ने क्षमतामा पनि असर पार्छ। १३८ मुलुकमा गरिएको अध्ययनले लैङ्गिक असमानता उच्च रहेका मुलुकमा नवजात शिशु मृत्युदर पनि उच्च देखाएको छ। यसैले लैङ्गिक विभेदलाई सम्बोधन गर्दा समग्र रूपमा नवजात शिशु मृत्युदर घट्छ। लैङ्गिक समानतालाई प्रश्रय दिने कार्यहरू जस्तै– सुत्केरी हुनुअघि वा सुत्केरी भएपछिको हेरचाह तथा सुत्केरी रहेको घरपरिवारलाई दिइने परामर्शले नवजात छोरा र नवजात छोरीको अवस्थामा पनि उल्लेखनीय सुधार आउन सक्छ। साथै, नवजात शिशुको जीवन शुरूका तीन सातामा संवेदनशील हुने भएकाले मृत्युदर घटाउन गरिने तमाम प्रयास र पहल त्यही अवधिमा केन्द्रित गरिनुपर्छ।
(सुवेदी जोन्स हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरन्याशनल हेल्थ विभाग र एनएनआईपीएसमा आबद्ध छिन्। हिमालको २०७९ माघ अङ्कबाट।)
थप सामग्री