राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन १३ मा
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ। दुवै पदका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन्। विद्यमान कानूनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र तय गर्न नसकेको पौडेलको भनाइ छ।
राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने भएको छ। त्यसपछि फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।
उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको आयोगले जनाएको छ।
नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ।
२०७४ फागुन २९ मा भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन्। राष्ट्रपति भण्डारीको पदावधि २०७९ फागुन २८ गते सकिंदै छ।
त्यस्तै, २०७४ चैत ४ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वाचित भएका थिए। उपराष्ट्रपति पुनको पदावधि २०७९ चैत ३ गते सकिंदै छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिने व्यवस्था गरिएको छ। अब आयोगले तोकिएको मितिमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने जनाएको छ।