अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा
अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्।
दुई दिने नेपाल भ्रमणका क्रममा नुल्यान्ड आइतबार साँझ नेपाल आएकी हुन्। नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने अमेरिकी राजदूतावासले जनाएको छ।
नुल्यान्डले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ। त्यस्तै, उनले अन्य राजनीतिक दलका शीर्षनेतासँग पनि भेटवार्ता गर्न सक्ने जनाइएको छ।
नुल्यान्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रूपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन्।
उनी ब्रुकिङ्स इन्स्टिच्यूसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेशनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन्।
तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी नुल्यान्ड अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म यूरोपेली तथा यूरेशियन मामिला सम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा काम गरेकी थिइन्। त्यस्तै, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन्।
अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरेकी नुल्यान्डको नेपाल भ्रमणलाई महत्वका साथ लिइएको छ।