पाटनबाट चोरिएको मूर्ति थाइल्यान्डमा, सरकारी पहल नहुँदा फिर्तीमा अलमल
पाटनको नकबहि:बाट ४० वर्षअघि चोरी गरेर थाइल्यान्ड पुर्याइएको मूर्ति सरकारी पहल नहुँदा फिर्ता गर्ने प्रक्रिया अलमलमा परेको छ।
ललितपुर महानगरपालिका-१६ स्थित पाटनको नकबहि:मा रहेको बुद्धको मूर्ति ४० वर्षअघि चोरी भएको थियो। त्यो मूर्ति थाइल्यान्ड पुगेको छ।
नकबहि:मै माटोको मुकुण्डो बनाउँदै आएका स्थानीय ८१ वर्षीय बेखाराम शाक्यले नकबहि: परिसरबाट बुद्धको मूर्ति हराएको ४० वर्षभन्दा बढी भएको बताए। “समय त ठ्याक्कै याद भएन, तर २०४० सालतिरै हराएको हुनुपर्छ,” शाक्यले भने, “त्यतिखेर मूर्तिहरू हराइरहन्थे। यहाँको बुद्ध मूर्ति पनि चोरेर लगे।”
नकबहि:को चोकमा रहेको चैत्यको दुईतर्फ ढुङ्गाले बनेको दुई वटा बुद्धमूर्ति थिए। एउटा ठूलो थियो भने अर्को अलि सानो। ६० सेन्टिमिटर अग्लो मूर्ति चोरी भएपछि ४४ सेन्टिमिटरको सानो मूर्तिलाई विहार परिसरको मन्दिरभित्र राखिएको थियो। पछि त्यो मूर्ति पनि चोरियो।
बुद्धको उभिएको मूर्ति नेपालको प्रसिद्ध र धेरै बनाइएको मूर्तिमा पर्छ। यो मूर्ति दशौं शताब्दीको भएको अनुमान छ।
यो मूर्तिबारे लैनसिंह बाङ्देलको स्टोलन इमेजेज् अफ नेपाल (पृ. ९४-९६) मा उल्लेख छ। त्यस्तै, प्रतापादित्य पालको सन् १९७४ मा प्रकाशित आर्ट अफ नेपाल, भाग १ (पृ. ३४) मा पनि यसबारे लेखिएको छ। मेरी शेफर्ड स्लसरको सन् १९८२ मा प्रकाशित नेपाल मण्डल (पृ.२६२) मा पनि मूर्तिबारे उल्लेख छ। चोरी भएको मूर्ति तस्करी भएर थाइल्यान्ड पुगेको थियो।
यो मूर्तिलाई स्थानीय थाई प्राचीन कला सङ्कलक सुरिन्द लिम्पानोन्दाले किनेको भेटिएको थियो। नेपालबाट चोरी भएर लगिएको समाचार आएपछि युनेस्को घोषणापत्र अनुसार यसको पुनः बिक्री असम्भव जस्तै भएको थियो। युनेस्को घोषणालाई थाई सरकारले सन् १९८६ मा अनुमोदन गरेको थियो।
यो घोषणा अनुसार नकबहि:को त्यो मूर्ति कुनै पनि संग्रहालयले उपहारका रूपमा वा खरीद गरेर राख्न मिल्दैन। लिलामी गर्ने कुनै पनि कम्पनीले बिक्री गर्न समेत पाउँदैन।
त्यसपछि लिम्पानोन्दाले मूर्ति फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए। लिम्पानोन्दाको मृत्युपछि बुद्धको मूर्ति उनकी छोरी प्ररेदा लिम्पानोन्दाको स्वामित्वमा छ। बुबाको इच्छा अनुसार उनले मूर्ति फिर्ता गर्ने आशय व्यक्त गरेकी छन्। तर, नेपालबाट मूर्ति फिर्ताको प्रक्रिया शुरू नगर्दा अलमल भइरहेको छ।
मूर्ति फिर्ता ल्याउन सरकारी प्रयास र कानूनी प्रक्रिया थाल्नुपर्ने ललितपुर महानगरपालिका-१६ का वडाध्यक्ष निर्मलरत्न शाक्य बताउँछन्। सन् १९८४ मा पट्को टोलबाट चोरी भएको लक्ष्मी-नारायणको मूर्ति कूटनीतिक पहलपछि २०७८ वैशाखमा फिर्ता भएर यथास्थानमा प्रतिस्थापन गरिएको बताउँदै वडाध्यक्ष शाक्यले नकबहि:को मूर्ति फिर्ता गर्न पनि कूटनीतिक पहल गर्नुपर्ने बताउँछन्। “मूर्ति पुनःस्थापना गर्न वडाका तर्फबाट र समुदायका तर्फबाट के गर्नुपर्ने हो, त्यो गर्न हामी तयार छौं,” शाक्य भन्छन्, “सम्बन्धित सरकारी निकायले फिर्ताको पहल गर्नुपर्यो।”
नेपालबाट चोरी भएका मूर्ति फिर्ता ल्याउने अभियानमा लागेका नेपाल हेरिटेज रिकभरी क्याम्पियनका रोशन मिश्र कूटनीतिक पहल गरेमा मूर्ति फिर्ता ल्याउन सकिने बताउँछन्। यो अभियान शुरू गरेको दुई वर्षमा २० वटा मूर्ति नेपाल फिर्ता भएको मिश्र बताउँछन्। “समुदाय नै सचेत र सक्रिय भयो भने फिर्ता भएका मूर्ति यथास्थानमा प्रतिस्थापन गर्न सकिन्छ,” मिश्र भन्छन्, “मूर्ति ल्याउन स्थानीय तहमा देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा समानान्तर ढङ्गमा सक्रिय हुनुपर्ने देखिन्छ। तर, हाम्रोमा सरकारी निकायको सक्रियता तीव्र छैन।”
प्रत्येक मूर्ति फिर्ता गर्न बेग्लाबेग्लै निकायमा बेग्लाबेग्लै प्रक्रिया अपनाउनुपर्ने बताउँदै मिश्र सरकारी पक्षबाट पत्राचार र आवश्यक कानूनी प्रक्रियामा तदारुकता देखाउँदा फिर्ती प्रक्रिया सहज हुने बताउँछन्। “सरकारी तवरबाट एउटा पत्र बनाउनै लामो समय लगाउँदा मूर्ति फिर्ता प्रक्रिया सोचे अनुसार तीव्र हुन सकेको छैन,” उनी भन्छन्।
पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम भने मूर्ति फिर्ताको पहल भइरहेको बताउँछन्। नकबहि:को मात्र नभएर अन्यत्र पुगेका नेपाली कलाकृति र सांस्कृतिक सम्पदा फिर्ता गर्न विभाग गम्भीरतापूर्वक लागिरहेको उनको भनाइ छ। “नेपाल सन् १९७० को युनेस्को अभिसन्धिको पक्ष राष्ट्र भएकाले विदेश पुगेका कलाकृतिको उत्पत्तिस्थल नेपाल भएको प्रमाणित भएपछि कूटनीतिक निकाय माफर्त फिर्ता गर्ने गरिन्छ,” गौतम भन्छन्।
सन् १९७० मा युनेस्कोले जारी गरेको ‘गैरकानूनी रूपमा आयात-निर्यात भएका सांस्कृतिक सम्पत्ति नियमित गर्ने अभिसन्धि’ लाई नेपालले सन् १९७६ मा अनुमोदन गरेको हो। अभिसन्धि अनुसार, गैरकानूनी ढङ्गमा आयात-निर्यात भएका मूर्ति लगायत अन्य सांस्कृतिक सम्पत्ति जुन मुलुकको हो, उसैलाई फर्काउनुपर्ने प्रावधान छ। “धेरै निकायहरूको संलग्नता हुने भएकाले फिर्ता प्रक्रियामा केही समय लाग्छ,” गौतम भन्छन्, “नकबहि: बाहेक पनि धेरै मूर्ति र सांस्कृतिक सम्पत्ति फिर्ताको प्रक्रियामा छ।”
विश्वका विभिन्न म्यूजियममा रहेका मूर्ति लगायत सांस्कृतिक सम्पत्तिमा नेपालले दाबी गरेको छ। जसमध्ये १० वटा मूर्ति नेपाल आउने क्रममा रहेको विभागले जनाएको छ। अहिलेसम्म नेपालबाट चोरी भएर विदेश पुगेका ९३ वटा मूर्ति फिर्ता भइसकेका छन्।