धनकुटा महोत्सव झडपः घाइतेको अवस्था सुधारोन्मुख‚ १२ जना घर फर्किए
धनकुटा महोत्सवमा प्रहरी र दर्शकबीच झडप हुँदा घाइते भएका ३० मध्ये १२ जना सामान्य उपचारपछि घर फर्किएका छन्। अन्यको स्वास्थ्य सुधारोन्मुख रहेको छ।
माघ ६ गतेदेखि धनकुटा नगरपालिका-५ मा जारी महोत्सवमा शनिबार राति प्रहरी र दर्शकबीच झडप हुँदा ३० जना घाइते भएका थिए। तीमध्ये १८ जनालाई सुनसुरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको थियो।
प्रतिष्ठानमा पठाइएकामध्ये दुई बच्चालाई त्यहाँ उपचार हुन नसकेपछि मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पठाइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए। विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचाररत ६ जना बालबालिका सहित सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए।
घाइतेमध्ये १२ जनाको धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।
घाइते हुनेमा धनकुटा-५ की ३१ वर्षीया विष्णु राई र उनकी ६ वर्षीय छोरा आबिहाङ लिम्बू, ३० वर्षीया विनीता लिम्बू, १३ वर्षीय सविन लिम्बू, ११ वर्षीय सुनील लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनकुटा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षीया आयुषा राई, ५० वर्षीय प्रकाश प्रधान र धनकुटा-४ का १२ वर्षीय प्रवेश राई रहेका छन्।
यसैगरी अन्दाजी ४५ वर्षीया गोमा कार्की, २३ वर्षीया अनिषा राई, ४२ वर्षीय नारायण राई, ३४ वर्षीया बुद्धिमाया लिम्बू, १८ वर्षीय सविन पौडेल, ४२ वर्षीय सन्दीप शाह, नाम नखुलेको करीब तीन-चार वर्षका एक बालक रहेका छन्।
सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन्। आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए।
गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्यधिक भीड भएको महोत्सवको मूल गेटबाट दर्शक एकैचोटि प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ। -रासस