किशोरावस्थाका छोराछोरीलाई के सिकाउने?
आफूले दुःख भोगे पनि आफ्ना सन्तानलाई सुखसयलमा राख्ने भन्दै कतिपय अभिभावकले किशोरावस्थाका छोराछोरीलाई कुनै काम गर्न नलगाउने‚ उनीहरूले भनेका कुरा सबै पूरा गरिदिने गर्छन्। तर‚ यस्तो व्यवहारले उनीहरूलाई सधैं परनिर्भर बनाउन सक्छ।
एक जना महिलाले कक्षा १० मा पढ्ने छोरीलाई खाना खुवाइरहेकी थिइन्। उनी आफैं खान सक्दिनन् र भनेर सोध्दा विभिन्न बहाना बनाएर खाना नखाई स्कूल जान्छिन् त्यसैले यसरी खुवाइदिएपछि ढुक्क हुन्छ भनेर जवाफ दिइन्।
आफूले दुःख भोगे पनि आफ्ना छोराछोरीलाई सुखसयलमा राख्ने भन्दै किशोरावस्था पुग्दा समेत खाना खुवाइदिने गरेको दृश्य देख्न पाउँछौं। यस्ता दृश्य प्रायः शहरबजारतिर देखिन्छ।
कतिपय किशोरकिशोरीहरू स्कूल‚ कलेजबाट घर फर्किएपछि मोबाइलमा व्यस्त हुन्छन्। उनीहरूले विभिन्न हाउभाउ गर्दै भिडिओ बनाएर फेसबूक‚ टिकटक लगायत सामाजिक सञ्जालमा लगाएको प्रशस्तै देख्न सकिन्छ। समाजका हर कुरासँग साक्षात्कार गरिरहने ती किशोरकिशोरीहरू सानातिना घरायसी काम गर्न भने जान्दैनन्। सिक्न पनि चाहँदैनन्। उनै किशोरकिशोरीहरूले केटा वा केटी साथी बनाउने, चुरोट‚ मदिरा र लागूपदार्थ सेवन गरेको पनि देख्न सकिन्छ। जुन अहिलेको टड्कारो समस्या बन्दै गएको छ।
प्रविधिले विश्वका मानिसलाई एकै ठाउँ ल्याउन मद्दत गरिरहेको छ। कुनै व्यक्ति त्यही सामाजिक सञ्जालको प्रयोग गरी रातारात धनी भएको भनी आएका कुराहरू सामाजिक सञ्जालमा देख्न‚ पढ्न पाइन्छ। यसैको सिको गर्दै किशोरकिशोरीहरू रातारात धनी हुने सपना देखेर सामाजिक सञ्जालमा ‘भ्यूज’ बढाउन होस् या भाइरल हुन आफ्ना गोपनीयता भङ्ग गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोगबाट नै कतिपय किशोरकिशोरीहरू लागूपदार्थ प्रयोगकर्ताको सङ्गतमा पुगेका छन्। यौन दुर्व्यवहारमा पनि परेका छन्।
यो किशोरकिशोरीको मात्र दोष होइन। अभिभावकमा रहेको शिक्षाको कमी, आफूले दुःख पायौं छोराछोरीले त्यस्तो दुःख नपाऊन् भन्ने मानसिकताले पनि यो अवस्था सिर्जना भएको हो। त्यसैले आफ्ना छोराछोरीलाई व्यक्तिगत‚ पारिवारिक र सामाजिक आचरणबारे शिक्षा दिनु अपरिहार्य छ। उनीहरूलाई जीवनोपयोगी सीप सिकाउनुपर्छ।
के सिकाउने?
हाम्रो समाजमा छोरीभन्दा छोरोलाई प्राथमिकतामा राख्ने चलन अझै छ। त्यसैले छोराभन्दा छोरीलाई घरधन्दामा लगाउने गरिन्छ। तर‚ छोरा वा छोरी दुवैले ती काम गर्न सक्छन्‚ गर्नुपर्छ भन्ने शिक्षा उनीहरूलाई दिनुपर्छ।
सामान्य लाग्ने कुराहरू जस्तै- पहिरन आफैं लगाउने, कपडा धुने, पट्याउने जस्ता काम छोराछोरीलाई आफैं गर्न लगाउनुपर्छ। समयको दुरुस्तता, सुत्ने तथा उठ्ने समयको व्यवस्थापन, सरसफाइ गर्न सिकाउनुपर्छ। बचत गर्ने, आमाबाबुका कमाइका आधार तथा खर्चको सीमाबारे पनि बुझाउनुपर्छ। आफूभन्दा ठूलासँग आदरभावले बोल्ने, आफू वरिपरिका स्थानबारे थाहा पाउन पनि अति नै जरुरी हुन्छ। यस्ता सीप जीवनोपयोगी हुन्।
अपरिचित व्यक्तिसँग झट्टै सम्बन्ध बनाइहाल्नु हुँदैन भन्ने शिक्षा दिनुपर्छ। अनिच्छाको काममा सधैं नाइँ भन्नुपर्छ भन्ने सचेतना दिनुपर्छ। करकाप वा दुर्व्यवहार गरे‚ आफूलाई अन्याय भएको महसूस भए विश्वासिलो साथी वा सम्बन्धित निकायमा खबर गरिहाल्नुपर्छ भन्ने शिक्षा दिनुपर्छ। यस्तो अवस्थामा कानूनले के भन्छ भन्ने पाठ्यक्रममा समावेश गर्नुपर्छ।
अपरिपक्वता के हो भन्ने पनि बुझाउनुपर्छ। कतिपय मानिस गाउँघरमा १४-१५ वर्षमा विवाह गरेर बच्चा जन्माइसकेका हुन्छन् पनि भनिरहेका हुन्छन्। तर‚ निर्णयस्तरमा परिपक्वता नहुने भएकाले नै १८ वर्षमुनिकालाई नाबालिग भनिएको हो भन्ने छोराछोरीलाई बुझाउनुपर्छ।
अभिभावक छोराछोरीका पहिलो साथी हुन्। अभिभावकले आफ्ना छोराछोरीलाई मद्दत गर्छन्, निर्देशित गर्छन् र शिक्षा दिन्छन्। अभिभावकले आफ्ना छोराछोरीलाई सिक्दै हुर्कन मद्दत गरिरहेका हुन्छन्। किशोरावस्थामा पुगेपछि भने उनीहरूले निर्देशन दिएको मन नपराउन पनि सक्छन्। यस्तो अवस्था किशोरवयमा आउँछ भन्ने उनीहरूलाई बुझाउनुपर्छ।
अभिभावकले आफ्ना छोराछोरीसँग सम्मानित सम्बन्ध बनाउनुपर्दछ। यसो भएन भने कतिपय अवस्थामा किशोरकिशोरीहरू आफ्ना अभिभावकप्रति नै जाइलाग्छन्। त्यसैले अभिभावकहरूको पनि असल बानीव्यहोरा हुन आवश्यक छ। चुरोट, मदिरा, लागूऔषधबाट टाढै रहनुपर्छ। यसो भयो भने आफ्ना छोराछोरीहरू पनि त्यसबाट टाढा हुन्छन्।
अहिलेको समयमा प्रविधिमैत्री हुनुपर्छ, तर किशोरावस्थाका व्यक्तिले प्रविधिको प्रयोग कति गर्ने भन्ने लेखाजोखा भने छैन। त्यसैले आफ्ना छोराछोरीलाई प्रविधिको सदुपयोग गर्न सिकाउनुपर्छ। सामाजिक सञ्जालको एकोहोरो प्रयोगले किशोरकिशोरीको रचनात्मक मस्तिष्कलाई पनि एकोहोरो बनाउँदै लगेको छ। त्यसैले आफ्ना छोराछोरीले के गर्दै छन् भन्नेमा अभिभावक सतर्क हुनुपर्छ।