धनकुटा महोत्सवमा झडप, बालबालिका सहित २१ जना घाइते
धनकुटा महोत्सवमा शनिबार राति प्रहरी र दर्शकबीच झडप हुँदा २१ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार झडपमा धनकुटाको मारेकटहरेकी श्रेया कटुवाल, महालक्ष्मी नगरपालिका जितपुरकी कुसुम श्रेष्ठ, उनका छोरा प्रकट श्रेष्ठ, सुनील लिम्बू, धनकुटा नगरपालिका-५ की शान्ता योगी, शीतलपाटीकी विनीता लिम्बू, हिलेका नन्दकुमार तामाङ, आइत राई, उदीप राई, विशाल तामाङ, धनकुटा-७ की अंशु सुवेदी, पाख्रिबासका अनिस कार्की घाइते भएका छन्। झडपमा घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छ।
गायक प्रमोद खरेलको प्रस्तुति हेर्न हजारौं दर्शक शनिबार साँझ धनकुटा-५ मा रहेको महोत्सव आयोजनास्थल पुगेका थिए। राति करीब साढे ८ बजे महोत्सवस्थलमा दर्शक नअट्ने स्थिति भएपछि आयोजकले सुरक्षाकर्मीलाई गेट बन्द गर्न आग्रह गरेका थिए।
गेटबाहिर रहेका दर्शक र सुरक्षाकर्मीबीच विवाद बढ्दै जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुख्य गेटमा सुरक्षाकर्मी र दर्शकबीच झडप हुँदा महोत्सवस्थलभित्र रहेका दर्शकको भागाभाग भएको थियो। भागाभाग हुँदा बालबालिका घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि धनकुटा अस्पताल लगिएको छ। त्यस्तै, गम्भीर घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।