मान्छेले थातथलो छोडे, चराको वासस्थान के होला?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले मुआब्जा दिएपछि स्थानीय बासिन्दाले पुर्खाको थातथलो छोडे, तर गिद्ध लगायत चराचुरुङ्गीले भने वासस्थान छोड्न सकेका छैनन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) उद्घाटनको भोलिपल्ट पोखराका लेखक गनेस पौडेलले सामाजिक सञ्जालमा लेखे, ‘पीआईए सञ्चालनपछि वितरा परेका गिद्धहरू बास खोज्दै हिजोबाट मेरो फार्म हाउसमा बसिरहेका छन्। सम्भवतः अन्तिम प्रहरको रात्रि विश्राम हो, उपत्यकामा यिनको! मजस्तै यिनीहरू पनि अब यहाँबाट विस्थापित हुनेछन्!’
लेखक पौडेलको पुरानो घर त्यही ठाउँमा थियो, जुन ठाउँमा अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। विमानस्थलको उद्घाटनका दिनसम्म पनि पौडेलले त्यो ठाउँलाई ‘विमानघाट’ शब्दको प्रयोग गरिरहे। “आजको विमानस्थल बन्नका लागि त्यहाँका हजारौं बासिन्दा जबर्जस्ती विस्थापित हुनुपर्यो। सामाजिक, सांस्कृतिक सम्बन्धहरू त्यो ठाउँमा नष्ट भए,” उनी भन्छन्, “चराचुरुङ्गी, समग्र पर्यावरण त्यहाँ विसर्जन गर्यौं, त्यही भएर हाम्रा लागि यो एक विमानघाट हो।”
सरकारले मुआब्जा दिएपछि पोखरा महानगरपालिका-१४ मा विमानस्थल निर्माणका लागि स्थानीय बासिन्दाले आफ्नो पुर्ख्यौली घरजग्गा छोडेका थिए। उनीहरू विस्थापित भइसकेका छन्, तर आफ्नो गुँड बनाएर वर्षौंदेखि बसिरहेका गिद्ध तथा अन्य चराचुरुङ्गीले भने अझै वासस्थान छोड्न सकेका छैनन्। विमान उडान र अवतरणको कोलाहलले यत्रतत्र भाग्न त खोज्छन्, तर फेरि त्यहीं वरिपरि फर्किहाल्छन्। विमानस्थल वरिपरि नै छटपटाइरहेका छन्।
तालतलैया, सिमसार क्षेत्र, हरियाली, खुला चौर भएकाले विदेशी चरा जाडो छल्न पोखरा आउँछन् भने रैथाने चरा बाहिर जाँदैनन्। आज विमानस्थल रहेको ठाउँ केही वर्षअघि ठूलो चरन क्षेत्र थियो। खुला चौर र गाईवस्तुको चरन क्षेत्र रहेकाले आहाराको खोजीमा गिद्धले सोही ठाउँलाई आफ्नो घर बनाए।
त्यस्तै, हजारौं किलोमिटरको यात्रा गरेर जाडो छल्न चराका बथान पोखरा पुगेका छन्। वर्षौंदेखि चराहरूको उड्ने, खाना खोज्ने र बस्ने ठाउँमा अहिले विमानस्थल बनेको छ।
विमानस्थल सञ्चालनपछि पनि रैथाने चराहरूले त्यो स्थान छोडेका छैनन्। “गिद्ध लगायतका चराहरू यही ठाउँमा जन्मिए, हुर्किए र बूढो पनि भएका छन्। जसरी मान्छेलाई आफू जन्मेको, हुर्केको ठाउँ छोड्न गाह्रो हुन्छ, चरालाई पनि त्यस्तै हो,” पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे भन्छन्, “चरालाई आफू वर्षौंदेखि बसिरहेको ठाउँ हत्तपत्त छाड्न गाह्रो पर्छ।”
चरा संरक्षकहरूले यस विषयमा पाँच वर्षदेखि नै पोखरा महानगरपालिका र विमानस्थल परियोजनालाई सचेत गराउँदै आएका थिए। पटक पटक छलफल पनि गरेका थिए। विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइट सार्न आग्रह गरेका थिए।
पोखराको ल्यान्डफिल साइटमा फोहोरसँगै आउने मासु, सिनो लगायत गिद्धका खान्की हुन्। गिद्ध सिकारी चरा भए पनि आफूले नमार्ने, मरेका सिनो भने खाने गर्छ। ल्यान्डफिल साइटमा खाना भेटिने भएकाले गिद्ध लगायतका चराले छेउछाउमा नै गुँड बनाएर बसेको वर्षौं भइसक्यो। एकातिर अति सङ्कटापन्न चरा भएकाले गिद्धको संक्षरण गर्न र अर्कातिर विमानस्थलको सुरक्षाका लागि ल्यान्डफिल साइटलाई वेलैमा सार्न दबाब दिएका थिए।
तर, यसबारे सरकारी निकाय संवेदनशील र गम्भीर नभएको चराविद्हरू बताउँछन्। विमानस्थलको उद्घाटनको दिनसम्म पनि त्यही ठाउँमा पोखराको फोहोर व्यवस्थापन गरिएको थियो। अहिले पनि महानगरले ल्यान्डफिल साइटको विकल्प भेटेको छैन। पोखराकै विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन भइरहेको छ।
जसले गर्दा नयाँ विमानस्थल सञ्चालनको केही दिनमै जहाजमा चरा ठोक्किएको थियो। जहाजसँग ठोक्किएको चरा लोपोन्मुख अवस्थामा रहेको गोमायू महाचिल भएको चराविद्हरूले बताएका छन्। मरेको महाचिललाई धावनमार्गबाट विमानस्थलका कर्मचारीले व्यवस्थापन गरेका थिए।
चराविद् हेमसागर बराल पोखरामा कि विमानस्थल रहने कि चरा रहने बताउँछन्। “विमानको सुरक्षाका लागि चरा धपाउने काम गरिनुपर्छ। यस्ता वेलामा चराहरू मर्ने अवस्था आउन सक्छ,” बराल भन्छन्, “अर्को, चराकै कारण विमानस्थलमा मानवीय, भौतिक क्षति पनि हुन सक्छ।”
चराविद् बराल जैविक विविधताले धनी पोखरा शहरमा विमानस्थलको निर्माणले लोपोन्मुख अवस्थाका गिद्ध लगायत चिल तथा अन्य चराचुरुङ्गीको जीवनचक्र नै खलबलिएको बताउँछन्। “पोखरा यस्तो शहर हो, जहाँ गिद्धका नौ वटै प्रजाति पाइन्छन्। यस्तो शहर संसारमा अन्त कतै छैन,” बराल भन्छन्, “तर, विमानस्थल जस्तो ठूलो परियोजना आउनु, चराहरूका लागि वेलैमा विकल्प नखोजिनुले उनीहरूको जीवनचक्रमा खलल पुगेको छ।”
पोखरा पन्छी समाजका सचिव हेमन्त ढकाल पोखराले वेलैमा नसोचे गिद्ध लोप हुने र पर्यावरणमा गम्भीर असर पर्ने बताउँछन्। १० वर्षदेखि गिद्धको निगरानी गर्दै आएका ढकाल प्रकृति संरक्षण सम्बन्धी संस्था आईयूसीएनको गिद्ध संरक्षण समूहका सदस्य पनि हुन्। “अन्तर्राष्ट्रिय स्तरमा परियोजनाको शुरूआत गर्नुअघि वातावरण मूल्याङ्कन गरी यदि यसले शतप्रतिशत क्षति गर्ने देखिएमा ठूला परियोजना समेत स्थगित गर्नुपर्ने अवस्था आउँछ,” ढकाल भन्छन्, “पोखरामा यति ठूलो परियोजना हुँदा पहिलो पटकको वातावरण मूल्याङ्कनमा यहाँको गिद्धको विषय नै समेटिएन। पछि पूरक वातावरण मूल्याङ्कनमा मात्र यसलाई समेटियो, तर गम्भीर देखिएन।”
उनले यो क्षेत्रमा पनि गिद्धको निगरानी गरेका थिए। जसमा गिद्धका प्रजातिमध्ये पनि लोपोन्मुख अवस्थाका डंगर गिद्ध, सुन गिद्ध, सानो खैरे गिद्धका गुँड विमानस्थल वरपर नै छन्। ढकाल प्रश्न गर्छन्, “आफ्नो गुँड छाडेर उनीहरू कसरी जान्छन्?”
नेपालमा सबैभन्दा बढी चराको गतिविधि हुने ठाउँ, उनीहरूको रूट पनि हो पोखरा। गिद्धले वर्षमा एक पटक मात्र प्रजनन गर्छ र जोडी पनि एउटै हुन्छ। यति वेला गुँडमा गिद्धका बच्चा हुर्किरहेको संरक्षणविद् बताउँछन्। चारदेखि पाँच महीनामा गिद्धका बच्चा उड्ने हुन्छन्। बच्चा नहुर्किउन्जेलसम्म खान्की खोज्ने र आफ्नो गुँडमा फर्किन्छन्।
अहिले विमानस्थल रहेको क्षेत्रमा गिद्ध धपाउन पटाका पड्काउने, साइरन बजाउने गरिएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमै नराम्रो सन्देश जाने संरक्षणविद् ढकालको भनाइ छ। “यस विषयमा संवेदनशील नहुँदा मानवीय दुर्घटनासँगै वन्यजन्तुको दुर्घटना पनि हुन सक्छ। अन्तर्राष्ट्रिय रूपमा नै पोखराबारे नराम्रो सन्देश जान सक्छ,” उनी भन्छन्।
गिद्ध विनाश हुँदा प्राकृतिक प्रणालीमै असर पर्ने नेपाल पन्छी संरक्षण संघमा कार्यरत अंकित जोशी बताउँछन्। गिद्धले सिनो नखाने हो भने त्यसबाट गम्भीर किसिमका रोग फैलिन सक्ने उनको भनाइ छ। गिद्ध प्रकृतिको कुचिकार रहेको उल्लेख गर्दै जोशी भन्छन्, “प्रकृतिको सरसफाइ गर्ने एक मात्र प्राणी गिद्ध हो। यदि गिद्ध नै नरहने हो भने प्राकृतिक प्रणालीमा असर पर्छ।”
गिद्धलाई वर्षौंदेखि क्यामेरामा कैद गर्दै आएका पत्रकार कृष्णमणि बराल पोखराको विकास हुँदै जाँदा गिद्धको जीवनचक्रमा नै असर पुगेको बताउँछन्। “पहिले पोखराका खुला फाँटहरूमा घोडा, खच्चडको चरण हुन्थ्यो। ती मरेपछि गिद्धले खाने गर्थे,” बराल भन्छन्, “अहिले चरन क्षेत्र हरायो, गिद्धको खान्की पनि छैन।” लोप हुने अवस्थामा पुगेका गिद्धलाई जोगाउन पनि विमानस्थल क्षेत्रमा रहेका गुँडलाई वैज्ञानिक, चराविद्सँग छलफल गरेर सुरक्षित स्थानान्तरण गरिनुपर्ने उनको भनाइ छ।
नेपाल पन्छी संरक्षण संघको पहलमा २०६७ सालमै कास्कीको घाचोकमा भल्चर रेस्टुरेन्ट अर्थात् गिद्धका लागि खाना राख्न शुरूआत पनि गरिएको थियो। त्यति वेला कास्कीमा संयोजकका रूपमा काम गरेका हुम गुरुङ अहिले गिद्ध अन्योलमा रहेको बताउँछन्। गिद्धको घर रहेको ठाउँमा आहार कम हुँदै गएको र विमानस्थलमा चरा धपाउने गरिएकाले अप्ठ्यारो भएको उनको भनाइ छ। “मान्छेले जस्तो दुःख भए पनि आफ्नो घर छाडेर जाँदैनन्। त्यस्तै, गिद्धले दुःख भए पनि वासस्थान छाडिहाल्दैन,” गुरुङ भन्छन्।
त्यसो त गिद्ध लगायतका चराका लागि आफ्नो वासस्थान छाड्न कम्तीमा ६ महीना लाग्छ। चराविद्हरू भन्छन्, “आनीबानीमा नै परिवर्तन ल्याउनुपर्ने भएकाले विमानस्थल सञ्चालनको एक-दुई वर्षअघि नै ल्यान्डफिल साइट सारिएको भए अहिलेको चरा त्यो ठाउँमा उड्ने र धपाउनुपर्ने समस्या नै आउने थिएन।”
गिद्धको खानाका लागि वैकल्पिक ठाउँ खोज्न सकियो भने उनीहरूको आनीबानीमा परिवर्तन ल्याउन सकिने पोखरा पन्छी समाजका अध्यक्ष घिमिरे बताउँछन्। उनका अनुसार, गिद्ध खानाको खोजीमा टाढासम्म पुग्छन्। अहिले विमानस्थल क्षेत्रमा रहेका नहरहरूमा पनि मासुजन्य फोहोर बगाएर ल्याउँदा त्यसलाई खाना गिद्ध आउने गरेको उनी बताउँछन्।
गिद्धबारे अध्ययन गरिरहेका हेमन्त ढकाल विशेषत: चरा ठोक्किने किसिमका दुर्घटना अवतरण र उडानका वेलामा हुने भएकाले ध्यान दिनुपर्ने बताउँछन्। चराको गतिविधि विशेषत: बिहान १० देखि मध्याह्न २ बजेसम्म बढी हुने भएकाले त्यति वेला विमानको गतिविधि कम गर्ने र वासस्थानलाई अध्ययन गरेर सार्ने लगायतको उपाय अपनाउन सके गिद्ध लगायतका चराका सुरक्षा र संरक्षण हुन सक्ने ढकाल बताउँछन्।
यति वेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चरा र त्यसलाई व्यवस्थापन गर्ने समस्या भोगिरहेको छ। यसले लोपोन्मुख अवस्थामा रहेको गिद्धको जीवन के होला भन्ने गम्भीर प्रश्न पनि उठाएको छ। कुनै समय चरालाई देखेरै जहाजको परिकल्पना गरिएको थियो। पोखरामा भने आज त्यही जहाजका कारण चरा विस्थापित हुने अवस्था आएको छ।
१२ वर्षअघि पनि विमानस्थललाई असर नपर्ने गरी गिद्ध रेस्टुरेन्टका लागि घाचोक तय गरिएको थियो। अहिले ल्यान्डफिल साइट हटाइएको छ, वासस्थान नासिएको छ भने विमानस्थलबाट पनि धपाउन थालिएको छ। अब गिद्ध कहाँ जालान् त? संरक्षणकर्मी गुरुङ निराश हुँदै भन्छन्, “पोखरा छाडेर कास्की वरपरको वन क्षेत्रमा जालान्, तर अहिले त्यहाँ पनि जंगल खण्डित हुँदै छन्। बिस्तारै त्यो क्षेत्रबाट पनि उनीहरू विस्थापित हुनेछन्, पक्कै।”