सर्वोच्चको फैसला स्वागत गर्छु, स्वीकार गर्छु: रवि लामिछाने
सर्वोच्च अदालतको आदेशसँगै सांसद पद गुमाएका रवि लामिछानेले अदालतको फैसलाको स्वागत गर्ने बताएका छन्।
शुक्रबार साँझ गृह मन्त्रालयबाट बाहिरिंदै लामिछानेले भने, “सर्वोच्च अदालतको फैसलाको स्वागत गर्छु, स्वीकार गर्छु। अदालतको फैसलालाई म एकदमै स्वागत गर्छु।”
अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले अनभिज्ञता जनाए। लामिछानेले भने, “तपाईंले एउटा अनागरिकलाई प्रश्न सोधिराख्नुभएको छ। कहाँ नागरिकलाई प्रश्न सोधिराख्नुभएको छ?”
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विषयमा सोधिएको प्रश्नमा पनि लामिछानेले अहिले आफू सभापति नरहेको बताए। “मेरो सभापति पद पनि गइसक्यो। यति खेर म केही पनि होइन, कहींको पनि होइन।”
सर्वोच्चको फैसलापछि के गर्ने भन्ने विषयमा लामिछानेले अहिले केही थाहा नभएको प्रतिक्रिया दिए।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएकाले उनको प्रतिनिधि सभा सदस्य पद खारेज भएको छ। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद पनि गएको छ। अब उनले नेपाली नागरिकता ब्युताउँन अमेरिकी नागरिकता त्यागेको जानकारी जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ।