पराईभूमिमा जन्मभूमिको माया
भौतिक रूपमा विकसित तथा सुविधा सम्पन्न मुलुक बेलायत र हङकङमा करीब चार दशक बिताए पनि जन्मभूमिको मायाले सधैं सताइरहन्थ्यो। त्यसैले अब बाँकी जीवन जन्मभूमिको सेवामा समर्पण गर्ने योजनामा छु।
ब्रिटिश गोर्खा सैनिकको फिजिकल प्रशिक्षकका साथै हङकङमा बडीगार्ड प्रशिक्षक तथा तेक्वान्दो खेलको प्रमुख प्रशिक्षकका रूपमा करीब ४० वर्ष बिताएँ। गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि खेलकूद, समाजसेवासँगै सुरक्षा क्षेत्रलाई पेशा बनाएँ। हङकङको नेपाली समाजको सानो संसारमा सीमित मेरा ठूला चाहना र सपना पनि थिएनन्। तर, आफ्नो जन्मभूमि छाडेर लामो समय प्रवासमा रहँदाको छटपटी भने थियो।
लामो समय हङकङ र बेलायत बस्दा विकासका उच्चतम नमूना देखें। सुविधा उपभोग गरें। तर‚ आफ्नो देशको मायाले सधैं तानिरह्यो। मातृभूमि जस्तो कहीं नहुने रहेछ। यसले नेपाल फर्किने योजना बनाउन बाध्य बनायो।
मेरो ‘रिटायर्ड’ हुन अब केही वर्ष मात्र बाँकी छ। त्यसपछिको जीवन समाजका लागि समर्पित गर्छु। मेरा दुवै छोरा पढाइ सकेर घरजमसँगै राम्रै काममा लागिसकेका छन्। उनीहरूलाई हेर्नुपर्ने खासै जरुरी छैन। त्यसैले अबको समय मेरो समाज, गाउँ र देश (नेपाल)का लागि दिन चाहन्छु।
नेपालमा केही परिवर्तन ल्याउनुपर्छ। त्यसका लागि मैले विदेशमा चार दशकभन्दा बढी काम गरेर सिकेका कुरालाई नेपालमा प्रयोग गर्ने सोच छ। २०७२ को भूकम्पपछि भूकम्पपीडितलाई सहयोग गर्न हामीले ‘वी विल राइज फाउन्डेशन’ स्थापना गर्यौं। फाउन्डेशनले अहिले विदेश वा नेपालमा रहेका नेपालीलाई कसरी एकताबद्ध गर्ने, दुःखमा परेका नेपालीहरूलाई केकस्तो सहयोग गर्ने भन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ। यद्यपि‚ फाउन्डेशनले शिक्षा र खेलकूद क्षेत्रलाई विशेष महत्त्व दिएको छ। किनकि‚ शिक्षा र खेलकूद देशका खम्बा हुन्। नागरिक शिक्षित र स्वस्थ रहे देशका लागि धेरै काम गर्न सक्छन्।
कोभिड महामारीले जनधनको नोक्सानी मात्र होइन‚ धेरै कुरा सिकाएको पनि छ। लापरवाही गर्नु हुँदैन‚ सफा र स्वस्थ रहनुपर्छ भन्ने शिक्षा दिएको छ। कुनै काम भौतिक उपस्थित नभई पनि गर्न सकिन्छ भन्ने सिकाएको छ। यही वेला नेपालमा डिजिटल रूपमा काम गर्नुपर्छ भन्ने हेतुले सन् २०२० मा ‘राइज मिडिया नेटवर्क’ नामक मिडिया कम्पनी स्थापना गरें। उक्त कम्पनी मार्फत नेपालमा समाजसेवा गरिरहेको छु।
‘रिटायर्ड लाइफ’ विशेष गरी वी विल राइज फाउन्डेशन र राइज मिडियालाई अभिभावकीय नेतृत्व दिने विचार छ। यी संस्थाको माध्यमबाट नेपाली जीवनशैली परिवर्तन गर्ने सोच छ।
मैले जीवनको लामो समय प्रशिक्षकका रूपमा बिताएँ। विदेशमा धेरैलाई स्पोर्टस्, एड्भेन्चरका कुरा सिकाएँ। हाम्रो देश खेलकूदमा पछि रहेकाले अब आफ्नो देशमै केही गर्नुपर्छ भन्ने सोचाइ छ। आफ्ना अनुभव बाँड्न पोखरामा स्पोर्टस् इन्स्टिच्यूट खोल्ने चाहना छ। सायद, दुई-तीन वर्षपछि त्यो योजना कार्यान्वयनमा जान्छ। यो मेरो ‘ओलम्पिक ड्रीम’ हो। यो परियोजनाले कसरी ओलम्पिकसम्म जाने भन्ने १०-१५ वर्षे योजना बनाउँछ। अहिले आन्तरिक काम गरिरहेका छौं।
गण्डकी प्रदेशको पोखरा खेल र सङ्गीत क्षेत्रमा अगाडि छ। हामीलाई प्रदेश सरकारले सहयोग गरे १० देखि १५ वर्षमा ओलम्पिक मेडल ल्याउन सक्छौं। स्वीमिङ, ब्याडमिन्टन, तेक्वान्दो जस्ता इन्डिभिज्युल गेमहरू समेट्ने योजना छ। किनकि‚ नेपालका लागि टीम गेमभन्दा इन्डिभिज्युअल गेममा सम्भावना देखेको छु।
पुस्तकका कुरा
सन् २००९ जनवरीमा नेपाली सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले हङकङका नेपाली समुदायबारे बनाउँदै गरेको वृत्तचित्रमा मलाई पनि समेट्ने भनी सम्पर्क गरे। उनले ‘लो प्रोफाइल’ मा बस्न रुचाउने मेरो कामलाई नेपालको हिमाल खबरपत्रिकामा प्रकाशित गरी सबैसामु पुर्याइदिए।
सन् २०१३ अप्रिलमा मैले हङकङ सरकारको तेक्वान्दो खेलको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएँ। त्यही समयमा सञ्चारकर्मी निर्मल श्रेष्ठसँग भेट भयो। उनले मेरो काम र अनुभवलाई कान्तिपुर दैनिकमा प्रकाशन गरिदिए। यसपछि भने मिडियामा चासो बढ्दै गयो।
डम्बरकृष्ण, निर्मलका साथै मलाई चिनेजानेका‚ मेरोबारे पढेकाहरूले मेरो जीवनका अनुभवहरू पुस्तकका रूपमा आउनुपर्छ भन्ने थाले। तर‚ मैले मेरा अनुभवहरू पुस्तकका रूपमा निकाल्नुपर्छ भन्ने सोचेको थिइनँ। निकाल्नुपर्छ भन्ने पनि लागेको थिएन। यद्यपि, चिनेजानका साथीभाइले भने बारम्बार पुस्तक प्रकाशन गर्नुपर्छ भनी घचघच्याइरहे।
२०७२ सालको भूकम्पछि पीडितहरूलाई कसरी सहयोग गर्न सकिएला भनेर सोचिरहेका वेला निर्मल श्रेष्ठ र सुरज गुरुङ लगायतका युवासँगको सहकार्य सोचेभन्दा राम्रो भयो। यी क्रममा सन् २०१८ डिसेम्बरपछि निर्मलले फाउन्डेशन मार्फत मेरो जीवनकथाको पुस्तक प्रकाशन गर्ने छलफल अघि सारे। साथै, नेपाली मिडियामा लामो समय काम गरेका पत्रकार अखण्ड भण्डारीसँगको सहकार्यमा पुस्तक लेखनको योजना रहेको सुनाएँ।
त्यस लगत्तै भण्डारी तीन साताका लागि हङकङ आए। उक्त अवधिमा सँगसँगै रहेर उनले मेरो जीवनका कथा सुने। विगतका पाना पल्टाए। आरोह-अवरोहलाई नजिकबाट नियाले। मेरो परिवार, आफन्त, साथीभाइसँग पनि सम्पर्क गरे। र‚ आफैं तुलसीकुमार गुरुङ भएर मेरो जीवनलाई शब्दमा उतारे।
भण्डारीले ब्रिटिश लाहुरे, मार्शल आर्ट च्याम्पियनदेखि सामाजिक अभियानसँग जोडिंदाको कथालाई सरल शब्दमा उनेका छन्। वार्चोकको त्यो अँध्यारो गाउँबाट हङकङको उज्यालो शहरसम्मको मेरो कथा जस्ताको तस्तै पाठकसामु आएको छ।
(गुरुङसँग हिमालखबरले गरेको कुराकानीमा आधारित। उनको जीवनकथा समेटिएको पुस्तक तुलसी, वार्चोकको फेदबाट हङकङको उज्यालोसम्म पुस्तकको माघ १५ मा विमोचन हुँदै छ।)