काठमाडौं महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका नौ हजार होर्डिङ बोर्ड हटाएको छ।
मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो आकारका होर्डिङ बोर्ड हटाइएको महानगरले जनाएको छ। महानगरले गत असोज ७ गते मापदण्ड सूचना निकालेर ३० दिनभित्र तोकिएको मापदण्ड अनुसारका होर्डिङ बोर्ड राख्न अनुरोध गरेको थियो। तोकिएको अवधिमा पनि मापदण्ड पालन नगरिएकाले गत कात्तिक २७ गतेदेखि अनधिकृत होर्डिङ बोर्ड हटाउन थालेको थियो।
महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्गफिटसम्मको होर्डिङ बोर्डको वार्षिक शुल्क ५०० रुपैयाँ‚ १५ वर्गफिटसम्मको एक हजार ५०० र १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मको प्रति वर्गफिट एक हजार रुपैयाँ थप शुल्क तोकिएको छ।
त्यस्तै‚ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति, २०७० मा महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनधिकृत रूपमा राखिएका व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न निषेध गरिएको छ। निजी जग्गामा बोर्ड राख्दा सँधियार तथा सडकतर्फ कम्तीमा १० फिट जमीन छोडेको हुनुपर्ने र उचाइको हकमा जमीन सतहबाट बढीमा ३० फिट मात्र हुनुपर्ने, सौर्य बत्ती अनिवार्य जडान गरेको हुनुपर्ने नीतिमा उल्लेख छ।