नेपथ्यको अस्ट्रेलिया सांगीतिक यात्रा शुरू
सांगीतिक समूह नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा शुरू गरेको छ। बुधबार डार्बिन इन्टरटेनमेन्ट सेन्टरमा कार्यक्रम गरी यात्राको शुरूआत गरेको हो।
नेपथ्यले ताजा सिर्जना ‘भटभटे’ बोलको गीतबाट कार्यक्रम शुरू गरेको थियो। त्यसपछि छेक्यो छेक्यो‚ भेंडाको ऊन जस्तो‚ लामपाते सुरती‚ जोमसोमे बजार र शिरफूल शिरैमा बोलको गीत प्रस्तुत गरेको थियो। यस्तै‚ यो जिन्दगानी‚ जोगले हुन्छ भेट, रेशम र तालको पानी लगायत लोकप्रिय गीत प्रस्तुत भएको थियो।
गीत प्रस्तुत गर्दै समूहका मुख्य गायक अमृत गुरुङले उपस्थित दर्शकलाई देख्दा आफू गाउँमै पुगेको बताएका थिए। “तपाईंहरूलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,” उनले भने‚ “अब म तपाईंहरूलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु।”
नेपथ्यले यसअघि सन् २०१९ को डिसेम्बरमा अस्ट्रेलियाका ६ वटा शहरको सांगीतिक यात्रा गरेको थियो। यस पटक आठ शहरमा सांगीतित प्रस्तुति दिनेछ। यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली छ।
डार्बिनपछि नेपथ्यको अर्को कार्यक्रम एडिलेडस्थित हिण्डले स्ट्रिट म्युजिक हलमा जनवरी २८ मा हुने छ। एडिलेडपछि ब्रिसबेनको फोर्टिच्युड म्यूजिक हल, क्यानबेराको म्येनिंग क्लार्क हल, पर्थको मेट्रो सिटी हल, सिड्नीको होडर्न पभिलियन, मेलबर्नको फोरम र होबार्टस्थित ओडियन थिएटरमा हुने छ।