कलेजो प्रत्यारोपण गराउने बिरामी कुर्दै त्रिवि शिक्षण अस्पताल
सरकारी अस्पतालहरूमा सामान्य अपरेशन गर्न समेत बिरामीले महीनौं पालो कुर्नुपर्ने अवस्था रहेका वेला त्रिवि शिक्षण अस्पतालले भने कलेजो प्रत्यारोपण गर्ने बिरामी कहिले आउला भनेर कुर्दै आएको छ।
कैलालीको टीकापुरका ५२ वर्षीय नन्दराज खनाल एक वर्षदेखि भारतको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बाइलरी साइन्सेसमा धाइरहेका थिए। कलेजो रोगको उपचार गराइरहेका उनलाई त्यहाँका चिकित्सकले ‘कलेजो प्रत्यारोपण गर्नुको विकल्प छैन’ भनेर करीब ५० लाख रुपैयाँ लाग्ने हिसाब सुनाए। सामान्य परिवारका उनको त्यत्रो खर्च धान्न सक्ने अवस्था थिएन। त्यसैले प्रत्यारोपण नगरी नेपाल फर्किए।
रोगले गलाएर कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका बिरामी अस्पताल गइरहनुपर्छ। भारतबाट फर्किएका नन्दराज उपचारका लागि काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुगे। शिक्षण अस्पतालमा उनको भेट लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा. रमेशसिंह भण्डारीसँग भयो। भण्डारीले यसअघि शिक्षण अस्पतालमा गरिएको आठ वटा कलेजो प्रत्यारोपणको ‘केस हिस्ट्री’ र सफलताको कथा सुनाए। डाक्टरको कुरा सुनेपछि नन्दराज ऋण काढेरै भए पनि प्रत्यारोपण गर्न तयार भए।
१९ वर्षीय छोराले कलेजो दान गरेपछि २०७९ पुस ३० गते नन्दराजको त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भयो। झण्डै चार वर्षको अन्तरालमा त्रिवि शिक्षण अस्पतालमा गरिएको यो नवौं कलेजो प्रत्यारोपण हो।
अस्पतालमा अहिलेसम्म भएको सबै प्रत्यारोपण सफल भएपछि प्रा.डा. भण्डारीलाई आत्मविश्वास बढेको छ। तर, त्यो आत्मविश्वाको जग बलियो बनाउन बिरामी नपुग्दा उनलाई अन्योल पनि थपिएको छ। प्रा.डा. भण्डारीलाई वेला वेला लाग्छ- बल्लतल्ल शुरू गरिएको कलेजो प्रत्यारोपण सेवा बन्द गर्नुपर्ने त होइन! किनकि, शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गराउनै पर्ने धेरै बिरामी पुगेका छैनन्।
नेपालमा वार्षिक २०० हाराहारीमा कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी हुने अनुमान छ। तीमध्ये अधिकांश अस्पताल नपुगेको तथ्यांकले देखाउँछ। प्रत्यारोपणका लागि अस्पताल नपुग्नुको अर्थ ‘ज्यान गुमाउन तयार हुनु’ अथवा ‘रोकथाम उपचारमै बारम्बार अस्पताल धाउनु’ हो। जनस्वास्थ्यका लागि यो तथ्यांक जति कहालिलाग्दो छ प्रा.डा. भण्डारा लागि त्यति नै निराश बनाउने।
प्रा.डा. भण्डारीले त्रिवि शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण गर्ने सपना देख्दै गर्दा यस्तो अपेक्षा गरेका थिएनन्। शुरूका वर्षमा चारदेखि पाँच वटा कलेजो प्रत्यारोपण गरे पनि दोस्रो वर्षदेखि त्यो संख्या वार्षिक १२ देखि १५ वटा हुनुपर्ने उनको अनुमान थियो। तर, प्रत्यारोपण शुरू गरेको चार वर्ष पुग्नै लाग्दा एक वर्षका लागि राखेको लक्ष्य पूरा भएको छैन। “यसरी प्रत्यारोपणको बिरामी कुर्नुपर्ला भन्ने सोचेको थिइनँ” प्रा.डा. भण्डारी सुनाउँछन्।
प्रा.डा. भण्डारीलाई चिन्ता हुनुको कारण धेरै छन्। तीमध्येको एक हो- भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको विगत। २०७४ साउन १ गते नेपालमै पहिलोपल्ट कलेजो प्रत्यारोपण गरेर ठूलो आशा जगाएको केन्द्रले दुई वर्षमा तीन वटा प्रत्यारोपण गर्यो। तर‚ त्यसपछि भने कलेजो प्रत्यारोपण गर्न सकेन। ‘मल्टी स्पेशलाइज्ड’ चिकित्सकको टोली नभएको बन्दै केन्द्रले प्रत्यारोपण स्थगित गरेको थियो।
त्यसपछि नेपालमा कलेजो प्रत्यारोपण गर्ने अस्पताल थिएन। २०७६ जेठ १८ गते त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भयो। करीब ६ वर्षको तयारीपछि शुरू भएको सेवाले नेपालमै कलेजो प्रत्यारोपण गर्न चाहनेलाई विकल्प दिएको थियो। अहिले त्यो विकल्प पनि दिगो नहुने हो कि भन्ने शंका छ। “शुरू गर्ने वेलामा प्रत्यारोपण सफल होला कि नहोला भनेर जति डर थियो अहिले यसलाई दीर्घकालीन गर्न सकिन्छ कि सकिन्न भन्ने डर छ‚” प्रा.डा. भण्डारी भन्छन्।
शिक्षण अस्पताललमा रहेको जनशक्ति र पूर्वाधारले महीनामा एउटा प्रत्यारोपण गर्न सक्छ। तर, प्रत्यारोपण गर्नुपर्ने सूचीमा बिरामी छैनन्। यस्तो हुनुमा तीन वटा कारण देख्छन् प्रा.डा. भण्डारी। बिरामीमाझ शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश नपुगेको‚ अस्पतालको टिमले गर्न सक्ला र भन्ने आशंका र खर्चिलो सेवा बिरामी नआउनुको कारण उनले मानेका छन्। तर, भारत जाने बिरामीको संख्या हेर्दा खर्च नै मुख्य कारण होइन कि भन्ने निष्कर्षमा पनि पुगेका छन्। प्रा.डा. भण्डारीका अनुसार, वार्षिक करीब ५० जना बिरामी भारत गएर प्रत्यारोपण गराउँछन्। उनी भन्छन्‚ “भारत जाने बिरामीलाई नेपालमै रोक्न सके मात्र देशको ठूलो रकम जोगिन्थ्यो।”
नेपालमा कलेजो प्रत्यारोपण गराउन बिरामीको अवस्था अनुसार २५ देखि ३५ लाख रुपैयाँ खर्च लाग्छ। यो रकममा प्रत्यारोपणका लागि चाहिने उपकरणको हो। अस्पताल र चिकित्सकको शुल्क लाग्दैन। सोही प्रत्यारोपण भारतमा गराए करीब तीन गुणा बढी खर्च लाग्ने प्रा.डा. भण्डारी बताउँछन्। प्रत्यारोपण गर्नुअघि लामो समय अस्पताल बस्नुपर्ने र विभिन्न जाँच गर्नुपर्ने भएकाले खर्च बढ्न सक्छ। भारतका निजी अस्पताल जाने भएकाले पनि शुल्क महँगो हुन्छ। “यहाँ कलेजो प्रत्यारोपण सेवा टिकाउन बिरामी नभए हम्मेहम्मे भएका वेला भारतमा प्रत्यारोपण गराउन बिरामी गइरहेको सुन्दा आश्चर्य लाग्छ‚” प्रा.डा. भण्डारी भन्छन्‚ “हाम्रो सेवाबारे बिरामीले अझै थाहा नपाएकै हुन त?”
सरकारी अस्पतालमा भएको प्रत्यारोपणको प्रचार र अन्य कडा रोगका बिरामीलाई दिइने सहुलियत जस्तै कलेजो रोगीलाई पनि सरकारले सहुलियत दिए दिए बिरामीहरू भारत नजाने उनको भनाइ छ। यसो हुँदा अस्पतालमा कलेजो प्रत्यारोपण सेवा निरन्तरता हुनेका साथै धेरै बिरामीलाई अकालमा मर्नबाट जोगाउन सकिने प्रा.डा. भण्डारी बताउँछन्। उनी भन्छन्‚ “सरकारी अस्पतालमै कलेजो प्रत्यारोपण स्थापित गर्न सके बिरामी र राज्य दुवैलाई फाइदा हो।”
सेवा शरूआतको कथा
प्रा.डा. भण्डारीले जति वेला त्रिवि शिक्षण अस्पतालबाट जनरल सर्जरीमा एमसीएच गरे त्यही वेला नेपालमा कलेजो प्रत्यारोपण गर्ने सपना देखेका थिए। तर‚ त्यो सपना पूरा गर्न नेपालको पढाइले मात्र पुग्दैन थियो। त्यसैले सपनालाई पछ्याउँदै उनी अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्समा कलेजो प्रत्यारोपण सम्बन्धी फेलोशीप गर्न गए। फेलोशीप सकेर सन् २०१० मा नेपाल फर्किएपछि जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरीमा लागेका उनी फेरि अस्ट्रेलिया गए। दोस्रो पटक अष्ट्रेलिया जाँदा प्रा.डा. भण्डारीले कलेजो प्रत्यारोपणका लागि चाहिने पूर्वाधार र जनशक्तिबारे बुझेर फर्किए। अष्ट्रेलियाको त्यो फेलोशीपले उनलाई कलेजो प्रत्यारोपण गर्न अत्यन्तै खर्चिलो, स्पेशल ट्रेनिङ गरेको टिम चाहिने र उपकरणहरू पनि महँगो हुन्छ भन्ने जानकारी दियो।
प्रा.डा. भण्डारीले कलेजो प्रत्यारोपण शुरूआत गर्ने योजना बनाउँदा गगन थापा स्वास्थ्य मन्त्री थिए। उनी हार नमानी आवश्यक जनशक्ति, सामान जुटाउन लागे। १२ करोड रुपैयाँभन्दा बढीको लगानीमा आवश्यक ‘सेट अप’ तयार भयो। यो गर्ने झन्डै दुई वर्ष लाग्यो। सेटअप तयार गरे पनि प्रत्यारोपण शुरू गर्न एकातर्फ आत्मविश्वास थिएन भने अर्कातर्फ बिरामी खोज्नुपर्ने थियो। तयारी सकेपछि बिरामी खोज्न लागे। प्रत्यारोपण शुरू गर्नुअघि प्रा.डा. भण्डारीको टिमले अत्यन्तै जोखिमपूर्ण कलेजोको सर्जरी गर्यो। टिमको तालमेल मिलाउन पनि त्यो जरुरी थियो। उनी भन्छन्‚ “कलेजो प्रत्यारोपण धेरै ‘रिस्की’ हुने भएकाले शुरूमा हाम्रो टिमले धेरै जटिल सर्जरीहरू सँगै गरेको थियो।”
अन्तत: उनको टिमले गरेको पहिलो प्रत्यारोपण २०७६ जेठ १८ गते सफल भयो। त्यो वेला ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बुवामा प्रत्यारोपण गरिएको थियो। त्यसको दुई महीनापछि दोस्रो प्रत्यारोपण भयो। त्यो वेला ४४ वर्षीय पुरुषलाई उनका २८ वर्षीय ज्वाइँले कलेजो दिएका थिए। त्यसयता नौ वटा प्रत्यारोपण सफल भइसकेको छ।
हरेक प्रत्यारोपणमा भारतका अस्पतालको टोलीले सहयोग गर्दै आएको छ। प्रा.डा. भण्डारीका अनुसार, मिर्गौला प्रत्यारोपण जस्तै प्रकिया भए पनि कलेजो प्रत्यारोपण बढी संवेदनशील हुन्छ। कलेजोको टुक्रा काटेर प्रत्यारोपण गरिने भएकाले जोखिम उत्तिकै हुन्छ। प्रत्यारोपणपछि संक्रमण हुने सम्भावना पनि अत्यन्त धेरै हुन्छ। त्यसैले कलेजो प्रत्यारोपणमा ‘मल्टी स्पेशल’ टिम चाहिन्छ। अपरेशनमा प्रयोग हुने उपकरण, ल्याब वा अन्य सामग्रीमा सम्झौता गरे बिरामीको ज्यान तलमाथि हुनसक्छ। त्यसैले कलेजो प्रत्यारोपण गर्ने अस्पतालका अन्य सेवाहरू चुस्त-दुरुस्त राख्नुपर्ने प्रा.डा. भण्डारी बताउँछन्।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरू भएयता अन्य रोगका बिरामीले पनि सहज रुपमा सेवा पाउन थालेका छन्। विभिन्न परीक्षण र रगत पाउन सजिलो भएको छ। तर, प्रत्यारोपण सेवालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता पनि छ। “हिजो कसरी प्रत्यारोपण शुरू गर्ने भन्ने चिन्ता थियो‚” प्रा.डा. भण्डारी भन्छन्‚ “अहिले कसरी यसलाई निरन्तरता दिने भन्ने चिन्ता छ।”