वर्षाका कारण सिरहा र जनकपुरका बजारक्षेत्र डुबानमा
लगातारको वर्षाका कारण सिरहा र जनकपुरका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् ।
विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।
पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।
यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ ।
कार्यालय परिसरमा करीब तीन\चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।
पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।
उनले भने, “अहिलेसम्म बाढीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखेका छौँ ।” बाढीले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ ।
खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पुर्याउने गरेको छ । सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।
अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।
निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।