प्रेम आचार्यलाई न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
आत्मदाहको प्रयास गर्दा घाइते भई उपचारका क्रममा मृत्यु भएका प्रेमप्रसाद आचार्य (सन्तोष) लाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
बुधबार युवा समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। उनीहरूले आचार्यको परिवारलाई न्यायको प्रत्याभूति गर्न माग गरेका छन्। यससँगै अन्य व्यक्तिले पनि आचार्य जसरी आत्मदाह गर्न खोज्ने अवस्था नआउन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
माघ १० गते काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आचार्यले आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो।
इलामको सूर्योदय नगरपालिका–११ केराबारीका ३६ वर्षीय आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबूकमा लामो नोट लेखेका थिए। जसमा उनले ‘आत्मवृतान्त र असफलताको कथा’ कथा भएको बताएका थिए। त्यसमा आफूले पढ्दा‚ जागीर खाँदा‚ वैदेशिक रोजगारीमा जाँदा साथै व्यापार व्यवसाय गर्दा भोगेका समस्याहरू उल्लेख गरेका छन्।