बागमतीमा को को हुँदै छन् मन्त्री
बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ।
पाँच दल सहभागी बागमतीमा सरकारमा तीन दलले मात्रै मन्त्रालयमा भागबण्डा गरेका छन्। प्रदेश सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मन्त्रालयको दाबी छाडेका छन्।
आज आठ जना मन्त्री थपिन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सरकारमा सहभागी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागबण्डासँग मन्त्रीको पनि टुंगो लगाइसकेका छन्।
एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यस्तै, सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, सांसद केशव पोख्रेलले पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने टुंगो लागेको छ।
यसैगरी माओवादीले सांसद युवराज दुलाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने भएको छ। सांसद कुमारी मोक्तानले सामाजिक विकासको जिम्मेवारी पाउने भएकी छन्।
आन्तरिक मामिला मन्त्रालयमा पनि माओवादीको भागमा परेको छ। यसमा माओवादीले गंगानारायण श्रेष्ठलाई पठाउने तय गरेको छ।
राप्रपाको भागमा पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालय परेको छ। राप्रपाले पठाउन लागेका मन्त्रीको टुंगो लगाउन बाँकी रहेको जनाएको छ। यसअघि नै मन्त्री भएका राप्रपाका उद्वव थापाले खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय पाएका छन्।