जब शिक्षक नै सङ्कोच मान्छन्
यौन तथा प्रजनन स्वास्थ्यका पाठ शिक्षक नै खुलेर पढाउँदैनन्, पर्याप्त छलफल नहुँदा विद्यार्थी अत्यावश्यक ज्ञानबाटै वञ्चित छन्।
आफ्नी एक साथी विवाहअघि नै गर्भवती भएको भन्दै कक्षा ९ की छात्राले शिक्षकलाई सोधिन्, “यो समस्याको समाधान के होला?” शिक्षकले उनलाई गाउँघरमा प्रचलित गर्भपतनको तरीका बताए। तर, यो जोखिमपूर्ण हुने भन्दै स्वास्थ्यकर्मीको सल्लाह लिन सुझाए। केही समयपछि ती छात्रा विद्यालय आउनै छाडिन्। खासमा साथी नभएर उनी नै गर्भवती भएको लख शिक्षकले काटेका छन्।
विद्यार्थीका मनमा यौन र प्रजननसँग जोडिएका अनेक जिज्ञासा हुन सक्छन्। तिनको वेलैमा सम्बोधन नहुँदा उनीहरू जटिल समस्यामा फस्न सक्छन्। तर, विद्यालयहरूमा यसबारे अझै पनि खुलेर कुराकानी भएको पाइँदैन।
“विद्यार्थीहरू प्रश्नै गर्दैनन्। विशेष गरी छात्राहरू लाज मान्छन्। छात्रहरूमा पनि थोरैले मात्र प्रश्न सोध्छन्,” पद्मोदय माध्यमिक विद्यालय, दाङकी शिक्षक सृजना देवकोटा भन्छिन्। कक्षा १० लाई स्वास्थ्य, जनसंख्या र वातावरण (एचपीई) पढाउने उनैलाई पनि पठनपाठनका क्रममा यौन तथा प्रजनन सम्बन्धी पाठ आउँदा हिचकिचाहट लाग्दो रहेछ।
“कुनै कुनै शब्द भन्न असहज हुन्छ। जस्तो– वीर्य, कन्डम। त्यसैले एक पटक भनेपछि यी शब्दलाई नदोहोर्याई ‘यसले यसले’ भन्छु,” देवकोटा भन्छिन्। हाम्रो सामाजिक संरचना नै यौन सम्बन्धी छलफललाई वर्जन गर्ने खालको रहेको र त्यही अभ्यासमा हुर्किएकाले शिक्षकहरूले पनि खुलेर पढाउने पद्धति नबसेको उनलाई लाग्छ।
हाम्रो सामाजिक संरचना नै यौन सम्बन्धी छलफललाई वर्जन गर्ने खालको रहेको र त्यही अभ्यासमा हुर्किएकाले शिक्षकहरूले पनि खुलेर पढाउने पद्धति नबसेको उनलाई लाग्छ।
आधारभूत तह अन्तर्गत कक्षा ६ देखि ८ सम्म स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाठ छन्। माध्यमिक तहमा स्वास्थ्य विषय नै पढेका शिक्षकले एचपीई पढाउने व्यवस्था छ। तर, आधारभूत तहमा अन्य विषयका शिक्षकले पढाउनुपर्ने अवस्था छ। सरस्वती माध्यमिक विद्यालय, ललितपुरका नेपाली विषयका शिक्षक केशव सापकोटाले कक्षा ६–७ लाई स्वास्थ्य तथा शारीरिक शिक्षा पनि पढाउँछन्। उनी पनि यौन तथा प्रजनन स्वास्थ्यका पाठ पढाउन सङ्कोच मान्छन्।
“कक्षामा वातावरण नै बन्दैन। छात्रा लजाउँछन्। छात्र उच्छृङ्खल कुरा राख्छन्। केही प्रश्न यसरी सोध्छन् कि आफैंलाई सङ्कोच हुन्छ,” उनी भन्छन्। सापकोटाले पछि ‘इन्टर्न’ का लागि विद्यालयमा आएका नर्सलाई उक्त पाठ पढाइदिन आग्रह गरे।
कान्ति मावि, रुपन्देहीकी शिक्षक उमाकुमारी पराजुली भने यौन तथा प्रजनन शिक्षाको अध्यापनमा पाँच वर्षयता निकै सुधार आएको ठान्छिन्। “पाँच वर्षअघि यो विषय पढाउँदा केटाहरू हाँस्थे। केटीहरू घोप्टो पर्थे। अहिले ८० प्रतिशत जति विद्यार्थी खुलेर छलफल गर्ने भइसकेका छन्,” उनी भन्छिन्। पराजुलीको अनुभवमा छात्रहरू बढ्दो उमेरसँगै हुने शारीरिक परिवर्तनलाई सहजै स्विकार्छन् भने छात्राहरू चाहिं अत्तालिने गरेका छन्।
यौन तथा प्रजनन स्वास्थ्य शिक्षाले विद्यार्थीलाई उमेरसँगै हुने शारीरिक परिवर्तन बुझ्न र त्यसलाई सामान्य रूपमा स्विकार्न त सघाउँछ नै, विभिन्न जोखिमबाट पनि जोगाउँछ। केही उदाहरण हेरौं।
काठमाडौंकी कक्षा ६ की एक छात्रा पहिलो पटक विद्यालयमै महीनावारी भइन्। रक्तस्रावले आत्तिएकी उनी रुँदै घर गइन्। तर, शिक्षकलाई आफ्नो समस्या भन्न सकिनन्। त्यसपछि उनी केही दिन विद्यालय नै गइनन्। अर्को विद्यालयमा कक्षा ६ मै पढ्ने एक छात्रा चाहिं आमालाई आफू कहिले महीनावारी हुन्छु भनेर सोधिरहन्छिन्। किनकि, उनले आफ्ना थुप्रै साथी महीनावारी भएको थाहा पाइसकेकी छन्। विद्यालयमा ‘महीनावारी हुँदा योनिबाट रगत आउँछ, पेट दुख्छ र यो सामान्य जैविक प्रक्रिया हो’ भन्ने बुझेकैले उनी खुलस्त कुरा राख्न सक्ने भएकी हुन्। यसले उनमा आफैं महीनावारी हुँदा पनि विद्यालयमै ‘सेनिटरी प्याड’ माग्ने आत्मविश्वास दिएको छ।
काठमाडौंका कक्षा १० का १६ वर्षीय एक विद्यार्थीको विवाहित महिलासँग शारीरिक सम्पर्क भयो। ती महिलाले ‘तिमीले गर्दा म गर्भवती भएँ’ भन्दै उनलाई घरका काम पनि गराउन थालिन्। डरका कारण तनाव बढ्दै गएपछि ती छात्र विद्यालयमै बेहोस हुन थाले। उनलाई अस्पताल हुँदै परामर्शका लागि मनोविद् विजया बिजुक्छेकहाँ लगियो। बिजुक्छेका अनुसार महिलाले छात्रलाई अश्लील भिडिओ देखाउँदै झन् शोषण गरिरहेकी रहिछन्। ती विद्यार्थीले डरले उनलाई बिहे गर्छुसम्म भनेछन्। बिजुक्छेकै परामर्शमा गर्भ परीक्षण गर्ने कुरा उठेपछि भने महिला आफैं मिलाउने भन्दै पछि हटिन्। “विद्यार्थी भाइको कक्षा १० को परीक्षा छुट्यो। उनी अहिले निको हुने प्रक्रियामा छन्,” बिजुक्छे भन्छिन्।
जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक राजेन्द्र पन्त सबै विद्यालयमा नर्स कार्यक्रम लागू हुनुपर्ने बताउँछन्।
आफू विद्यार्थी छँदा यौन तथा प्रजनन शिक्षा नपाएका कतिपय शिक्षकमा विद्यार्थीले आफैं थाहा पाइहाल्छन् भन्ने सोच पनि पाइयो। त्यसैले उनीहरू यस्ता पाठ आउँदा विद्यार्थीलाई ‘आफैं पढ’ भनेर निस्कन्छन्। कतिपयले चाहिं त्यो पाठै पढाउन छाडिदिन्छन्।
ज्ञानोदय मावि, काठमाडौंका शिक्षक प्रकाश काफ्ले पनि कुनै वेला यौन तथा प्रजनन विषय विद्यार्थीलाई ‘आफैं पढ’ भन्थे। तर, एक विद्यार्थीले प्रधानाध्यापककहाँ गुनासो पुर्याएपछि बेवास्ता गरिरहन सकेनन्। त्यसयता भने उनले यस्ता पाठ पठाउने विशेष तयारी नै गरे। यसको महत्त्व पनि बुझे। “राम्रो तयारी गरेर विद्यार्थीलाई प्रष्ट पार्न जरुरी छ। यसो गर्दा विद्यार्थी प्रश्न गर्छन्। छलफलमा सहभागी हुन्छन्,” काफ्ले भन्छन्।
काफ्लेका बुझाइमा शिक्षकमा विषयगत ज्ञानसँगै विद्यार्थीका जिज्ञासा कसरी सम्बोधन गर्ने भन्ने सीप पनि हुनुपर्छ। शैक्षिक सामग्रीहरूको प्रयोग पनि प्रभावकारी हुन सक्छ। यौनशिक्षा अध्यापनबारे विभिन्न संघसंस्थाले दिएको तालीमले उनको मनोबल बढाएको रहेछ। “सूचना प्रविधिसँगै श्रव्यदृश्य सामग्री प्रयोगले छलफलका लागि राम्रो वातावरण तयार पारिदिन्छ,” उनी भन्छन्, “अहिले सबैका हातमा मोबाइल हुन्छ। खोजे आवश्यक सामग्री त्यहीं पाइन्छ।”
यौन तथा प्रजनन सम्बन्धी पाठहरू छाडिदिने वा विद्यार्थीलाई ‘आफैं पढ’ भन्ने प्रवृत्ति अहिले निकै कम भइसके पनि शिक्षकहरूमा यी विषय कसरी विद्यार्थीलाई प्रष्टसँग बुझाउने भन्नेमा समस्या छ। अर्कातिर, यो विषय जसले पढाए पनि हुने, विषयविज्ञ चाहिँदैन भन्ने सोच हावी देखिन्छ। सम्बद्ध विषयकै शिक्षक पनि सबैले तालीम पाएका छैनन्। कुनै कुनै विद्यालयमा मात्र प्रधानाध्यापक र शिक्षकको पहलमा यस्ता तालीम दिइएका छन्।
जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक राजेन्द्र पन्त सबै विद्यालयमा नर्स कार्यक्रम लागू हुनुपर्ने बताउँछन्। “उनीहरूले यो विषय पढेका, बुझेका हुन्छन्। त्यसैले पढाउँदा पनि सङ्कोच मान्दैनन्,” उनी भन्छन्, “अर्को महत्त्वपूर्ण काम भनेको शिक्षकहरूलाई विज्ञ बोलाएर चार–पाँच दिनको तालीम दिनुपर्छ जसले विना सङ्कोच विद्यार्थीसँग छलफल गर्न सिकाउँछ। अभिभावकबीच पनि छलफल गराउनुपर्छ।’
बागमती प्रदेशले शुरू गरेको विद्यालयमा नर्स कार्यक्रम अरू केही प्रदेशले पनि लागू गरेका छन्। तर, सीमित विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन भएको छ। यस्तो अवस्थामा स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालयका सम्बन्धित शिक्षकहरूलाई यसबारे तालीम दिन सक्छन्। त्यस्तै, प्रधानाध्यापकहरूले पनि यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाबाट सहयोग लिन सक्छन्। शिक्षक आफैंले पनि विभिन्न सन्दर्भ सामग्री सङ्कलन गर्न सक्छन्। नर्स भएका विद्यालयमा उनीहरूको सहयोग लिन सकिन्छ।
यौन तथा प्रजनन स्वास्थ्य शिक्षाबाट विद्यार्थीले आफ्नो शरीर, प्रजनन अङ्ग, शारीरिक तथा मानसिक परिवर्तन, यौन दुर्व्यवहार, यौनजन्य रोग, गर्भधारण, गर्भनिरोधक लगायत विविध पक्षबारे थाहा पाउन सक्छन्। तर, यसका लागि कक्षामा उनीहरूका जिज्ञासा र समस्या सुनेर तिनमा खुलस्त छलफल हुने वातावरण बनाइनुपर्छ। तब मात्र उनीहरूले शिक्षकलाई आफ्ना समस्या भन्न र सहयोग माग्न सक्छन्। सही शिक्षा र परामर्श पाए नै विद्यार्थीले सही निर्णय गर्न सक्ने हुन्।
(हिमालको २०७९ माघ अङ्कबाट।)