नेपाल टी-२० लिग मिलेमतोमा १० जना संलग्नः सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल टी-२० लिगको हारजित मिलेमतोमा निर्धारण गरेको आरोपमा पक्राउ गरेको दुई जनालाई सार्वजनिक गरेको छ।
राष्ट्रिय टीमका खेलाडी मोहम्मद आदिल आलम र पूर्व क्रिकेटर महबुब आलमलाई माघ ९ गते पक्राउ गरेको सीआईबीले जनाएको छ। यसमा १० जनाको संलग्नता रहेको खुले पनि दुई जनालाई मात्रै पक्राउ गरेको हो।
सीआईबीका अनुसार‚ पूर्व क्रिकेटर महबुबले आदिल र अर्का एक खेलाडीलाई आर्थिक लाभका लागि खेल मिलेमतो गर्न राजी गराएका थिए। सोही अनुसार आदिलले एउटा नो–बल र अर्को वाइड बल जानीजानी खेलेको सीआईबीको दाबी छ। कम्तीमा दुई वटा खेलमा यस्तो देखिएको सीआईबीको जिकिर छ। तर‚ कति रकममा ‘डिल’ भएको थियो भन्ने प्रहरीले खुलाएको छैन।
घटनामा पक्राउ परेका दुई जना र फरार दुई जना सहित चार नेपाली र ६ जना विदेशीको संलग्नता रहेको प्रहरीले बताएको छ। नेपाल क्रिकेट संघको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस्को रणनीतिक तथा व्यावसायिक साझेदारीमा गत पुस ९ देखि २७ सम्म काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको खेलमा मिलेमतोको आरोप लागेको हो। बेटिङ तथा स्पट फिक्सिङ गरेको प्रहरीको आरोप छ।
क्रिकेटरमाथि खेल मिलेमतोको आरोप लागेको पहिलो पटक हो। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको पनि सीआईबीले जनाएको छ।