एउटै रुखमा झुन्डिएको अवस्थामा प्रेमी-प्रेमिकाको शव फेला
झापाको कचनकवल गाउँपालिका- ४ मा रहेको एभरेस्ट टी गार्डेनको एउटै रुखमा प्रेमीप्रेमिका झुन्डिएको अवस्थामा फेला परेका छन्।
कचनकवल-४ का राजेशकुमार गणेश र पवित्रा राजवंशीको शव एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी उपरीक्षक वसन्त पाठकले जानकारी दिए। राजेश मंगलबार बिहान घरमा नभएपछि परिवारका सदस्यले खोज्दै जाँदा घरछेउकै चिया बगानमा दुवैको शव फेला परेको थियो। प्रहरी उपरीक्षक पाठकले घटनाबारे अनुसन्धान भइरहेको बताए।
राजेश र पवित्राले २०७८ साउनमा प्रेम विवाह गर्न खोजेका थिए। उक्त समय राजेश २४ र पवित्रा १७ वर्षका थिए। पवित्रा नाबालिक भएको भन्दै उनका परिवारले राजेश विरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा २०७८ असोज ११ गते उजुरी दिएको थियो।
उजुरीपछि प्रहरीले राजेश र पवित्रालाई नियन्त्रणमा लिएको थियो। “सोही राति भान्जा र पवित्रालाई प्रहरीले पक्राउ गरी झापा जिल्ला प्रहरी कार्यालय लगेको थियो‚” राजेशका मामा रघुनन्दन गणेशले भने‚ “राजेशलाई भने बलात्कारको आरोपमा प्रहरी हिरासतमा राखियो।”
राजेशलाई कात्तिक ७ गते पुर्पपक्षका लागि कारागार पठाइएको थियो। तर, मंसीर २१ गते अदालतले दाबी नपुग्ने फैसला गरेपछि राजेश रिहा भएका थिए।
जेलबाट रिहा भएपछि राजेश घरमा कुखुरापालन गर्दै आएका थिए। राजेशका भाइ दीपकका अनुसार‚ पवित्रा र राजेशबीच फोन र फेसबूकमा कुरा भइरहन्थ्यो। केटी पक्षको परिवारको डरले उनीहरूले आत्महत्या गरेको हुनसक्ने राजेशको परिवारको दाबी छ।