वनस्पति अभिलेखको अर्थ
नेपाली वनस्पति सम्बन्धी अद्यावधिक र बृहत् सङ्कलनको अभावलाई पाएसम्मका जानकारी समेट्दै प्लान्ट्स अफ नेपाल ले धेरै हदसम्म पूरा गरेको छ।
कुनै देश जैविक विविधतामा कति सम्पन्न छ भन्ने देखाउने सूचक हो, यस सम्बन्धी ‘चेकलिस्ट’ (परीक्षणसूची)। अनुसन्धान, संरक्षण, प्रभावकारी व्यवस्थापन र दिगो उपयोगका दृष्टिले पनि यो महत्त्वपूर्ण सामग्री हो। यस्तो चेकलिस्ट नियमित अद्यावधिक गरिन्छ। नेपालमा जीवजन्तुतर्फ स्तनधारी र पक्षीको मात्र अद्यावधिक चेकलिस्ट छ। यस्तै, वनस्पतितर्फ झ्याउ, ढुसी, लेउ, मोस र काईको अद्यावधिक नभए पनि फूल नफुल्ने (सीड प्लान्ट्स वा जिम्नोस्पर्म्स) तथा फूल फुल्ने/फल लाग्ने वनस्पति (एन्जिओस्पर्म्स)को चेकलिस्ट भने धेरै प्रकाशन भएका छन्।
उन्यु, जिम्नोस्पर्म्स र एन्जिओस्पर्म्सको पहिलो चेकलिस्ट सन् १९२८ मा बेलायती वनस्पतिविद् पर्सिभल ल्यान्डन लिखित पुस्तक नेपाल भाग १ को अनुसूचीमा प्रकाशन भएको थियो। त्यसपछि भने पूर्ण रूपमा चेकलिस्ट नै छापिएका छन्। सन् १९७८-८२ बीचमा एन इनुमेरेशन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपालका तीन भाग निस्किए। यस्तै, एन आनोटेटेड चेकलिस्ट अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल (सन् २०००) र अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल (२०१७) प्रकाशन भयो।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागले प्रकाशन गरेको अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपालका हालसम्म चार भाग आइसकेका छन् भने पाँचौं तथा अन्तिम भाग निकट भविष्यमा प्रकाशन हुने जनाइएको छ। यो चेकलिस्ट वरिष्ठ वनस्पतिविद् केशवराज राजभण्डारी, संजीवकुमार राई, र रिता क्षेत्रीले लेखेका हुन्। सन् २०१८ मा अर्को चेकलिस्ट ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल भाग १ प्रकाशन भएको थियो। लेखकत्रय कृष्णकुमार श्रेष्ठ, प्रबिन भण्डारी र सन्देश भट्टराईले लेखेको उल्लिखित पुस्तकको अन्य भाग नआई उनीहरूबाटै लिखित प्लान्ट्स अफ नेपाल (२०२२) प्रकाशनमा आएको छ। अहिलेसम्म प्रकाशित चेकलिस्टमध्ये यो सबैभन्दा अद्यावधिक छ। यसै पुस्तकको सन्दर्भमा यो लेख केन्द्रित छ।
वर्गीकरण प्रणाली
प्लान्ट्स अफ नेपाल पुस्तक एन्जिओस्पर्म्स फाइलोजेनी ग्रूप्स सिस्टम (एपीजी प्रणाली) अनुसार लेखिएको छ। नेपालमा एपीजी प्रणालीमा लेखिएको पहिलो पुस्तक भने चेकलिस्ट अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल (सन् २०१७) हो। तर, यो पुस्तकको अन्तिम भाग प्रकाशन भइनसकेकाले जिम्नोस्पर्म्स र एन्जिओस्पर्म्स सम्बन्धी हालसम्म उपलब्ध अद्यावधिक चेकलिस्ट प्लान्ट्स अफ नेपाल नै हो।
वनस्पतिविद्हरूको एक अनौपचारिक अन्तर्राष्ट्रिय समूहले एपीजी प्रणाली शुरूआत गरेको हो। यो प्रणालीबाट वनस्पतिको क्रमविकासको इतिहास तथा तिनका निकट नातेदारबीचको सम्बन्धका आधारमा जिम्नोस्पर्म्स र एन्जिओस्पर्म्स वर्गीकरण गरिन्छ। सन् १९९८ मा पहिलो संस्करण निस्किएको यो प्रणालीको चौथो संस्करण २०१६ मा प्रकाशन भएको थियो।
एपीजी प्रणालीबाट आनुवंशिक अध्ययनका आधारमा कतिपय वनस्पतिलाई अन्य जाति वा परिवारमा समायोजन तथा स्थानान्तरणको काम निरन्तर भइरहेको छ। यो क्रम निकै चलायमान हुन्छ। संसारभरिका वनस्पतिविद्ले वनस्पतिको डिएनए अनुक्रम व्यापक मात्रामा अध्ययन गरिरहने र नयाँ-नयाँ नतीजा आइरहने भएकाले वनस्पति एक जाति वा परिवारबाट अर्कोमा स्थानान्तरणको सिलसिला तीव्र रूपमा चल्छ। उदाहरणका लागि, सन् १९९७ मा प्रकाशित कन्टेम्पोररी प्लान्ट्स सिस्टम्याटिक्स (सन् १९९७) पुस्तकमा स्क्रोफुलारिएसी परिवार अन्तर्गत १९० देखि २२० जाति तथा तीन-चार हजार प्रजाति रहेको अनुमान थियो। अहिले यो परिवारमा ६० जाति र करीब एक हजार ८०० प्रजाति मात्र छन्।
एन आनोटेटेड चेकलिस्ट अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल पुस्तकमा स्क्रोफुलारिएसी परिवार अन्तर्गत ४१ जातिका करीब दुई सय प्रजाति समाविष्ट थिए। तर, एपीजी प्रणाली अपनाइएको पुस्तक प्लान्ट्स अफ नेपालमा स्क्रोफुलारिएसीमा चार जातिका १७ प्रजाति मात्र छन्। बाँकी ३७ जाति र तिनका प्रजाति विभिन्न १० परिवारमा स्थानान्तरण गरिएका छन्।
प्लान्ट्स अफ नेपालको चेकलिस्टमा समाविष्ट जानकारी मुख्य गरी नेपालबाट सङ्कलन भई विभिन्न पुस्तक तथा जर्नलमा प्रकाशित सामग्रीबाट एपीजी प्रणालीमा समायोजन गरिएका हुन्। यसका साथै, नेपाल सहित विभिन्न देशका ७७ संग्रहालयमा रहेका नेपाली वनस्पतिको नमूना अध्ययन गरेर तिनलाई पनि एपीजी प्रणालीमा समायोजन गरिएका विवरण अनुसार समेटिएको उल्लेख छ।
अद्यावधिक विवरण
प्लान्ट्स अफ नेपालमा जिम्नोस्पर्म्स अन्तर्गत सात परिवार, १३ जाति र २४ प्रजाति तथा एन्जिओस्पर्म्स अन्तर्गत २०० परिवार, एक हजार ५४१ जाति र पाँच हजार ६०६ प्रजातिका वनस्पति समेटिएका छन्। यी सबै जङ्गलमा प्राकृतिक रूपमा पाइने वनस्पति हुन्। ती प्रजाति कसले, कहाँ र कहिले सङ्कलन गरेको थियो र तिनका नमूना कुन कुन संग्रहालयमा छन् भन्ने पनि उल्लेख छ।
यस्तै, पर्याप्त जानकारी नभएका ६६ परिवार, १७७ जाति अन्तर्गत थप २४० प्रजातिबारे पनि उल्लेख गरिएको छ। पुस्तक अनुसार, यी प्रजाति नेपालमा रहेको जानकारी भए पनि यिनका नमूना कुन संग्रहालयमा छन् भन्ने स्पष्ट छैन। साथै, माथि उल्लिखित वन क्षेत्रमा पाइने पाँच हजार ६३० प्रजातिका वनस्पति बाहेक पनि विभिन्न देशबाट आयातीत तथा खेतीपाती गरिने ५५९ प्रजाति चेकलिस्टमा समेटिएका छन्।
पहिले नेपालका चेकलिस्टमा समाविष्ट केही परिवार एपीजी प्रणालीमा कसरी परिवर्तन भएका छन् भन्ने केही उदाहरण पनि पुस्तकमा दिइएको छ। जस्तो- अमला पहिले इयुफोर्बेसी परिवारमा थियो, एपीजी प्रणालीबाट यसलाई फाइलेन्थसी परिवारमा स्थानान्तरण गरिएको छ। यस्तै, चिनोपोडिएसी परिवारमा रहेको बेथु सागलाई लुँडे वा लट्टेको परिवार एमारन्थेसीमा स्थानान्तरण गरिएको छ। योसँगै चिनोपोडिएसी परिवारको अस्तित्व नै नामेट भएको छ। मिर्सिनेसी परिवारका वनस्पतिलाई प्रिमुलेसी परिवारमा स्थानान्तरण गरिएको छ।
अनार पहिले पुनिकेसी परिवारमा थियो। यो परिवारको वनस्पतिलाई जङ्गलमा हुने बोडधमेरा र लामपातेको परिवार लिथ्रेसीमा समावेश गरिएको छ। सिमल, ओदाल र स्यालफुस्रे सम्बद्ध परिवारहरू बम्बाकेसी, स्टरकुलेसी र टिलिएसीलाई तिनको उद्विकास इतिहास र निकट नातेदारका आधारमा माल्भेसी परिवारमा गाभिएको छ। माल्भेसी भनेको कपासको परिवार हो। प्लान्ट्स अफ नेपालमा राखिएका सबै परिवार अध्ययन गर्दा एन आनोटेटेड चेकलिस्ट अफ प्लान्ट्स अफ नेपालमा समेटिएका २०८ मध्ये ३९ परिवारका वनस्पति अन्य परिवारमा स्थानान्तर भएका छन्। प्लान्ट्स अफ नेपाल अघि विविध जानकारी समावेश गरिएको पुस्तक यही थियो।
औषधिजन्य सतुवालाई ट्रिलिएसीबाट मेलान्थिएसी परिवारमा सारिएको छ। संखुवासभाको तामाङ र शेर्पाले लहरे वनस्पति बाकुलपाते (क्लेरिया जापोनिका)को पातलाई चियापत्तीको रूपमा प्रयोग गर्छन्। पहिले चिया परिवार थिएसी अन्तर्गत रहेको यो वनस्पतिलाई एपीजी प्रणालीले पेन्टाफाइलेसीमा राखेको छ। प्लान्ट्स अफ नेपाल मार्फत फाइलेन्थेसी, मेलान्थिएसी, पेन्टाफाइलेसी लगायत तीन दर्जन परिवार नेपालका निम्ति नयाँ थपिएका छन्।
औषधीय गुण भएको वनस्पति लौठसल्लाका विश्वभर १२ प्रजाति पाइन्छन्। यीमध्ये नेपालमा तीन प्रजाति ट्याक्सस कोन्टोर्टा, ट्याक्सस माइरेई र ट्याक्सस वालिचियाना रहेको जानकारी सन् २०१२ मै प्रकाशित भएको थियो। तर, वनस्पति विभागले सन् २०२० मा प्रकाशन गरेको अ ह्यान्डबूक अफ द जिम्नोस्पर्म्स अफ नेपाल पुस्तकमा दुई प्रजाति ट्याक्सस कोन्टोर्टा र ट्याक्सस वालिचियना मात्र उल्लेख गर्यो। प्लान्ट्स अफ नेपालले भने उपर्युक्त तीनै प्रजाति समेटेको छ।
बृहत् सङ्कलन
यो पुस्तक उपलब्ध भएसम्मका प्रकाशित जानकारी र संग्रहालयका हर्बेरियम तथ्याङ्कहरू समेटेर तयार पारिएको देखिन्छ। करीब ६ हजार प्रजातिको यस्तो बृहत् सङ्कलन गर्दा जतिसुकै सावधानी अपनाए पनि केही न केही जानकारी छुट्छ, र सङ्कलित जानकारी पुराना र गलत पनि हुन सक्छन्। यस्तै, माथि चर्चा गरिए झैं एपीजी प्रणालीले वनस्पतिको वर्गीकरण उथलपुथल पारिदिएकाले पुस्तकमा समाविष्ट सबै जानकारी शतप्रतिशत सही मान्न पनि सकिँदैन। किनकि, यसमा परेका अनेकन् नामको नयाँ वर्गीकरण भइसकेको हुन सक्छ।
पुस्तकका अनुसार, नेपालका वनस्पति ७७ वटा संग्रहालयमा संग्रह गरिएका छन्। तर, तीभन्दा पनि बढी संग्रहालयमा हुन सक्छन्। पुस्तक तयार पार्दा संग्रहालयमै पुगेर वनस्पतिको नमूना हेरिएको होइन। सम्बन्धित संग्रहालयले तिनका वेबसाइटमा राखेका नमूनाका आधारमा टिपोट गरिएको हो। सबै संग्रहालयले संग्रह गरेका नमूनाको जानकारी वेबसाइटमा राखेका हुँदैनन्। र, कतिपय नमूना त पहिचान नै नगरी संग्रह गरिएको पनि हुन्छ।
यसका आधारमा के भन्न सकिन्छ भने, नेपालबाट सङ्कलित वनस्पति प्रजातिको संख्या पुस्तकमा परे जति मात्र होइन। जस्तै- पुस्तकमा टाँटरी भनिने डिल्लेनिया जातिका दुई प्रजाति समेटिएका छन्, जबकि नेपालमा यसका चार प्रजाति पाइन्छन्।
यस्तै, संग्रहालयमा राखिएका सबै जानकारी सही नहुन सक्छ। जस्तै- राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीको वेबसाइटमा सिमसारमा सेतो फूल फुल्ने बुटोमोप्सिस ल्याटिफोलियालाई बुटोमेसी परिवार अन्तर्गत राखिएको छ, तर यो एलिस्मेटेसी परिवारको हो। बुटोमोप्सिस ल्याटिफोलिया सन् १८२५ मा नेपालमै पत्ता लागेको वनस्पति हो। वनस्पति विज्ञानमा कैयौं वनस्पतिका नाममा ‘ल्याटिफोलिया’ शब्द जोडिएका छन्। ल्याटिन भाषामा यो शब्दको अर्थ ‘चौडा पात’ हुन्छ।
प्लान्ट्स अफ नेपालमा गुराँसको एक प्रजातिको नाम रोडोडेन्ड्रन चेम्बरलेनी लेखिएको छ। यो गुराँस नभई हल्का गुराँस जस्तो देखिने डिप्लार्चे मल्टिफ्लोरा हो। सन् २०१० मा अस्ट्रेलियाली वनस्पतिविद् लिन्ड्ली एलन क्रावेनले डिप्लार्चे मल्टिफ्लोरालाई लहडबाजीमा गुराँस जातिमा स्थानान्तरण गरिदिएका थिए। त्यो जानकारी रोयल बोटानिक गाडेन्स क्यु लन्डनको वेबसाइटमा राखिँदा त्यसैका आधारमा गलत तथ्य सार्ने गरिएको छ।
नेपालबाट सङ्कलन भएको तर नेपालमा पाइन्छ भन्ने जानकारी अहिलेसम्म नभएका दर्जनौं प्रजाति बेलायत र जापानका संग्रहालयहरूको वेबसाइटमा सूक्ष्म खोजी गरे भेटिन्छन्। जस्तै- पूर्वी नेपालबाट २७ सेप्टेम्बर २००७ मा सङ्कलित कटुसको क्यास्टानोप्सिस लङ्गीस्पिना भनिने प्रजाति रोयल बोटानिकल गार्डेन इडिनबरा, स्कटल्यान्डको वेबसाइटमा देखिन्छ। नेपालबाट सङ्कलन भई विभिन्न संग्रहालयका वेबसाइटमा राखिएका यस्ता कैयन् प्रजाति यो पुस्तकमा समेटिएका छैनन्।
समग्रमा प्लान्ट्स अफ नेपाल नेपाली वनस्पति सम्बन्धी हालसम्म प्रकाशित चेकलिस्टमध्ये सबैभन्दा महत्त्वपूर्ण र उपयोगी छ। यसमा नेपालको रैथाने प्रजाति सहित सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को रातो सूचीमा परेका प्रजातिको चेकलिस्ट छ। साथै, मिचाहा प्रजातिको अद्यावधिक सूची छ। नेपालमा वनस्पति सङ्कलन गर्ने स्वदेशी र विदेशीको नामावली पनि छ। विविध र बृहत् जानकारी समेटिएकाले यो पुस्तकलाई नेपालको वनस्पति सम्बन्धी इन्साइक्लोपेडिया भन्दा अत्युक्ति हुन्न।
चेकलिस्ट नै किन?
चेकलिस्ट देशविशेषमा जैविक विविधता केकति छन् भन्ने जानकारी दिने दस्तावेज हो। यो नहुँदा जैविक विविधताबारे जानकारी पाइँदैन। जसका कारण त्यसलाई जोगाउन र त्यसबाट फाइदा लिन पनि सकिँदैन।
उदाहरणका लागि, औषधोपयोगी वनस्पति डोलोमिआ कोस्टस (सौसुरिया कोस्टस र सौसुरिया लाप्पा पनि भनिने)को कुरा गरौं। नेपालको वनस्पति सम्बन्धी लेखिएका हालसम्मका चेकलिस्टमा यसलाई समेटिएको छैन। नेपाल, चीन, पाकिस्तान, भियतनाम लगायत ठाउँमा पाइने यो वनस्पति सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को अनुसूची १ मा समाविष्ट छ।
नेपाल साइटिस पक्ष राष्ट्र हो र पक्ष राष्ट्रलाई अनुसूची १ मा रहेका प्रजातिको व्यापार एवं ओसारपसारमा पूर्ण रूपमा बन्देज लगाइएको छ। जबकि, यस्तै, नेपाल राजपत्रमा २०७९ असार १६ मा प्रकाशित वन नियमावली, २०७९ को अनुसूची ७ (क) १८ मा ‘कुथ’ को वैज्ञानिक नाम सौसुरिया कोस्टस लेखिएर यसको निकासी दर प्रति किलो पाँच रुपैयाँ उल्लेख छ। चेकलिस्टमा नराखिँदा र साइटिस अनुसूची १ मा समावेश छ भन्ने थाहा नहुँदा यो स्थिति आएको हो।
(मादेन वनस्पति विज्ञ हुन्। हिमालको २०७९ माघ अङ्कबाट।)