पूर्व जर्नेलले ल्याए संरक्षण सम्बन्धी दुई पुस्तक
संरक्षण सम्बन्धी विषय समेटिएका दुई पुस्तक स्वर्गको सेवा र जर्नेलदेखि रेन्जरसम्म प्रकाशित भएका छन्।
नेपाली सेनाका पूर्व जर्नेल बाबुकृष्ण कार्कीले ‘स्वर्गको सेवा’ मा बर्दिया राष्ट्रिय निकुञ्जमा काम गर्दाको अनुभवलाई लिपिबद्ध गरेका छन्। जसमा कार्कीले संरक्षणको काममा खटिंदादेखि केन्द्रसम्म रहेर गरेको कार्यको अनुभव समेटिएका छन्।
“पुस्तक मुख्यतः फिल्ड फ्रन्टलाइनहरूलाई उत्प्रेरित गर्न लेखेको हुँ,” कार्कीले भने, “पुस्तक नीति निर्माता र अध्येताहरूलाई उपयोगी हुने अपेक्षा छ।”
जर्नेलदेखि रेञ्जरसम्म पुस्तकमा कार्कीले चितवन राष्ट्रिय निकुञ्जमा आयोजित विश्व रेञ्जर संघको अन्तर्राष्ट्रिय सम्मेलनमा उठान गरिएको विषयवस्तुलाई उठाएका छन्।
संरक्षण कार्यमा चार दशक लामो अनुभव हासिल गरेका पूव जर्नेल कार्की २०५६ देखि २०५८ सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा प्रोटेक्सन युनिट कमान्डर थिए। पछि उनी जंगी अड्डाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशक पनि भए। उनले संरक्षणमा प्रभावकारी काम गरे बापत दिइने अब्राहम कन्जर्भेशन अवार्ड पाएका छन्।