अपहरण र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन
जनकपुरधामका दुई युवकको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन्।
दुई साताअघि भारतको सीतामढीस्थित नातेदारको घर गएका जनकपुरधाम-८ का रोहित साह र जनकपुरधाम-१३ का विष्णु साहको अपहरणपछि हत्या गरिएको थियो। अपहरणमा परेको थाहा पाएपछि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका हुन्।
दुवै युवाका आफन्तजन तथा स्थानीय बासिन्दाले जनकपुरधाम-९ पिडारी चोकमा प्रदर्शन गरेका छन्। उनीहरूले हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। स्थानीय प्रशासनको कमजोरीका कारण रोहित र विष्णुले ज्यान गुमाउनुपरेको परिवारजनको आरोप छ।
रोहित र विष्णुको शव माघ ८ गते बिहान भारतको बिहार राज्यस्थित पर्सा गाउँ नजिकैको चौरमा फेला परेको थियो। दुवै जना पुस २६ गते भारतको सीतामढी जिल्लास्थित बेला परिहार बस्ने आफन्तको घरमा गएका थिए।
त्यसको भोलिपल्ट पुस २७ गते एकाएक सम्पर्कविहीन भएका थिए। त्यसपछि माघ २ गते दुवै जनाको परिवारलाई भारतीय नम्बरबाट फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरिएको थियो।
परिवारजन अपहरणकारीलाई २० लाख दिन राजी भएका थिए। फिरौतीका लागि परिवारजनलाई सर्लाहीको मलंगवा नाका नजिक बोलाइएको थियो। परिवारजनले प्रहरीलाई जानकारी पनि गराएका थिए। तर, त्यसपछि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन सकेको थिएन। एकाएक दुवै युवकको शव भेटिएको हो।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पाएपछि भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलास गरेको बताए। अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको खड्काको भनाइ छ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। केही भारतमा र केही नेपालमा पक्राउ परेको खड्काले बताए। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।