‘हाम्रो शिक्षा विदेश चिनाउने तर आफ्नै देश नचिनाउने भयो’
‘नेपाली पाठ्यक्रममा विदेशीहरूबारे अलि बढी नै ज्ञान दिन खोजिएको हो कि भन्ने मलाई लाग्छ। जबकि, आफ्नो गाउँठाउँ, समाज र देशको कुरा विद्यार्थीलाई त्यति थाहा छैन।’
अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन-म्याडिसनबाट समाजशास्त्रमा स्नातकोत्तर द्युति बराल मूलतः समाज अध्येता हुन्। केही वर्ष त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा अध्यापन गरेकी बराल हाल साउथएशियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट, काठमाडौंमा ‘क्यापासिटी बिल्डिङ’ विषयकी विभागीय प्रमुख छिन्। बरालसँग पठनपाठन, समाज र युवा पुस्ताको अभिमुखीकरणको विषयमा शेखर खरेलले गरेको संवादः
तपाईं सानी हुँदा र हुर्कंदै गर्दा घरको शैक्षिक वातावरण कस्तो थियो?
मैले स्कूल तहदेखि स्नातकोत्तरसम्म भारतमै पढें। त्यसपछि दुई पटक अमेरिका पढ्ने मौका पाएँ। पहिलो, फुलब्राइट छात्रवृत्तिमा र त्यसपछि, हम्फ्री फेलोशिपमा। मेरो बाबा (भाषासेवी-समालोचक ईश्वर बराल)का कारण शैक्षिक पृष्ठभूमि राम्रो थियो। घरमा जताततै किताब हुन्थे। बाबाले साताको एक दिन आफैंले बसालेर नेपाली पढाउनुहुन्थ्यो। विदेशमा बसेका छोराछोरीले नेपाली बुझ्दैनन् भन्ने उहाँलाई साह्रै पीर थियो। रूपरेखा, गरिमा जस्ता पत्रिका पढ्न लगाउनुहुन्थ्यो। त्यति वेला स्कूलमा तेस्रो भाषा भन्ने हुन्थ्यो। त्यसमा बाबाले मलाई संस्कृत पढाउने बठ्याइँ गर्नुभएको थियो। सबैले फ्रेन्च पढ्थे, तर प्रिन्सिपलले ‘राम्रा विद्यार्थी पनि संस्कृतमा आउँछन्’ भन्दै फकाउनुभयो। त्यो पढेको हुनाले मलाई नेपाली बुझ्न र बुझाउन गाह्रो भएन। पछि हामी जवाहरलाल नेहरू विश्वविद्यालयको क्वार्टरमा बस्न थाल्यौं। त्यहाँ पढ्ने, पढाउने बाहेक अरू केही थिएन। त्यसले होला, पढ्ने बानी बस्यो र पढाउने पनि साह्रै रुचि बढ्यो। अहिले म अध्ययन अध्यापनमै व्यस्त र मस्त छु।
पढ्नेबाट अहिले पढाउने भूमिकामा आउँदा आजका शिक्षकहरूले कसरी पढाइरहेका छन्, विद्यार्थीले कसरी ग्रहण गरिरहेका छन्?
अहिले तीन विषयमा चिन्ता गर्नुपर्ने देखिन्छ। पहिलो, आधारभूत ज्ञान शुरू हुने विद्यालयको अवस्था राम्रो छैन। भर्खरै मात्र काठमाडौंभित्रका ६ सार्वजनिक विद्यालय गएर मैले बुझ्दा अध्ययन अध्यापन दयनीय पाएँ। आधारभूत ज्ञान नै डामाडोल भएपछि विद्यार्थीले राष्ट्रलाई कसरी अगाडि बढाउँछन्? नेपाली पाठ्यक्रममा विदेशीहरूबारे अलि बढी नै ज्ञान दिन खोजिएको हो कि भन्ने मलाई लाग्छ। जबकि, आफ्नो गाउँठाउँ, समाज र देशको कुरा विद्यार्थीलाई त्यति थाहा छैन। दोस्रो, भाषाको विनाश भएको देख्छु। नेपाली पढ्दा ह्रस्व–दीर्घ त परै जाओस्, श र स, व र ब, छुट्याउन गाह्रो भइरहेको छ। विद्यार्थीको अंग्रेजी त्यति राम्रो छैन, नेपाली पनि आउँदैन। र तेस्रो, शिक्षकले सिकाउने त हुँदै हो, आफूले पनि सिक्नुपर्छ। यहाँ शिक्षक धाराप्रवाह पढाएर जान्छन्, विद्यार्थीका मनमा लागेका कुरा पोख्ने ठाउँ नै हुँदैन। विद्यार्थीले प्रश्न गर्न सके मात्रै सिकाइ प्रक्रियाले गति लिन्छ।
अहिले सार्वजनिक र निजी लगानीका विद्यालयका दुईथरी शिक्षाका कारण दुई फरक समाज बनिरहेको बताइन्छ नि!
म त तीन–चार खालका शिक्षण संस्था र शिक्षा देख्छु। पहिलो, सार्वजनिक विद्यालय, जसमा स्रोतसाधन नै छैन। ती विद्यालयमा आर्थिक रूपमा विपन्न र बसाइँसराइ गरेका समुदायका मानिस बढीजसो गएको देखिन्छ। दोस्रो, स्रोतसाधनको पहुँच भएका सार्वजनिक विद्यालय, जहाँ राम्रै पढाइ पनि भइरहेको छ, खेलकूदको व्यवस्था पनि छ, ती काठमाडौं बाहिर नै बढी पाइन्छन्। तेस्रो, नाफामुखी भएर खोलिएका निजी विद्यालय, जसमा हरेक पूर्वाधार र सुविधा छन्। शिक्षाउन्मुख भएर व्यवसाय चलाउने र व्यवसाय मात्र हेर्ने दुई अवस्था निजी शिक्षामा देखिएको छ। यसरी चार प्रकारका शिक्षण संस्था मैले देखेकी छु। त्यसको परिणाम के देखिन्छ भने, यहाँबाट विद्यार्थी पढ्न बाहिर गइरहेका छन्। जबकि, विदेशबाट पढेर फर्किएका मान्छेले पढाउन थालेकाले यहीं पनि गुणस्तरीय शिक्षा छ। यहाँ शिक्षकप्रतिको आस्था गुमेको देखिन्छ।
कोभिड–१९ महामारीको वेला भौतिक रूपमा पठनपाठन बन्द भएर अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्यो। त्यसले पढाइ र सिकाइमा कति फरक ल्याएको छ?
आकाश–जमीनकै फरक आएको देखिन्छ। घरमै बसेर पढाउने र पढ्ने कुरा कोभिड महामारीअघि कल्पना नै थिएन। महामारीले सिर्जना गरेको बाध्यात्मक स्थितिले कम्प्युटर र इन्टरनेट सुविधा छ भने पढाइ र सिकाइ जहाँबाट पनि हुन सक्छ भन्ने राम्रो पक्ष देखायो। अनलाइन कक्षामा जाँदा हामीले चार कुरा भेट्यौं। पहिलो, इन्टरनेट प्रविधि कस्तो रहेछ भन्ने थाहा पायौं। दोस्रो, क्यामेरा अफ गरेर पनि पढ्नुपर्ने भयो। भौतिक पठनपाठनको अभ्यासका कारण शिक्षक र विद्यार्थीले एकअर्काको अनुहार नहेरे पढाइ नै भएन जस्तो लाग्ने भएकाले अलि असहज भयो। तेस्रो, पहिले झैं सरल तरीकाले सिक्ने सिकाउने आधार भएन। विद्यार्थीलाई ‘सुनिन्छ? बुझिन्छ?’ भन्दै सोध्नुपर्ने भयो। यसो हुँदा शिक्षकलाई तनाव हुने नै भयो, विद्यार्थी पनि ‘रमाइलै हुँदैन, एक घण्टाभन्दा बढी बस्न सकिँदैन’ भन्थे। चौथो, सामान्यतया घरमा एउटा मात्रै कम्प्युटर हुने हुँदा र त्यो सबैलाई चाहिने भएकाले हानाथाप हुन थाल्यो। कोभिड मत्थर भएसँगै भौतिक कक्षासँगै अनलाइन विधिबाट पढाउने क्रम राम्ररी अगाडि बढेको छ। वैकल्पिक रूपमा भर्चुअल शिक्षण विधिको प्रचलन आउनु राम्रै हो। तर, जसरी पहिले विद्यार्थी एकाग्र भएर पढ्थे, त्यसमा अलि परिवर्तन आएको छ।
कोभिडकालमा प्राथमिक तहका विद्यार्थीलाई समेत ल्यापटप र मोबाइल दिइयो। यसले कलिला बालबालिकालाई नकारात्मक असर परेन?
आठ-नौ वर्षसम्मका बालबालिकालाई पढ्न र सिक्न स्वतन्त्र रूपमै छाडिदिनुपर्छ। नर्सरीदेखिका बालबालिकालाई कम्प्युटर वा अन्य ग्याजेट अगाडि घण्टौं बसाएर पढाउँदा उनीहरूले खासमा केही पनि बुझ्दैनन्। बालबालिका तथा किशोरकिशोरी आफूमै रमाउने, समाजबाट पूर्ण रूपमा अलग भएर बस्ने समस्यालाई जापानमा ‘हिकिकोमोरी’ भनिन्छ। हरदम ग्याजेटमा टाँसिने, कम्प्युटर गेम बढी खेल्ने, त्यो नपाउँदा रिसाउने आदि व्यवहारले त्यो समस्यातिर डोर्याउँछ। ग्याजेटको अधिक प्रयोगले बालबालिका एकलकाँटे हुने, कुराकानी गर्न नरुचाउने, झर्किने त छँदै छ, एकाग्रतामा कमीदेखि कलिलै उमेरदेखि एअरफोन लगाउँदा कान नसुन्ने जस्ता समस्या बढेको पाइएको छ।
किशोरकिशोरीले सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको देखिन्छ। त्यसले उनीहरूको सोच, अभिमुखीकरण र समाजप्रतिको दायित्वमा कस्तो प्रभाव पारिरहेको छ?
सोसल मिडिया सबैको बारेमा सबै कुरा थाहा हुने थलो भइदियो। गोपनीयता र सुरक्षाको हिसाबले हेर्दा नकारात्मक प्रभाव पनि परेको छ। साइबर सुरक्षा पनि यसैसँग जोडिएको छ। विभिन्न गलत तत्त्वले सामाजिक सञ्जाललाई नै निशाना बनाउँदा हाम्रा बालबालिका असुरक्षित बनेका छन्। हामी विद्यार्थी छँदा देश बाहिर के भइरहेको छ भन्नेमा चासो त लाग्थ्यो, तर स्रोतहरू कम थिए। अहिले यहीं बसेर अन्य देश र विविध विषयको बारेमा बुझ्न र जान्न सकिन्छ। तर, यसको नकारात्मक पक्ष भनौं, नयाँ पुस्तामा आफ्नो संस्कृतिप्रति कम र अरूप्रति बढी रुचि भएको हामी पाउँछौं।
यसबाट उत्पन्न जोखिमबाट नयाँ पुस्तालाई बचाउन के गर्नुपर्ला?
यो चुनौतीपूर्ण छ, किनभने ग्याजेट र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवन पद्धति जस्तो बनिसकेको छ। अहिले बिहान उठ्ने बित्तिकै केटाकेटी मोबाइल हेर्छन् र राति पनि मोबाइल नहेरी निद्रै लाग्दैन भन्छन्। घरबाटै मोबाइल नियन्त्रण गर्दै जान सकियो भने समाधान हुन सक्छ। अहिले शहरी समाजको एकल पारिवारिक संरचनामा अभिभावकलाई बालबच्चा हुर्काउने समय सीमित छ। कलिला हातमा मोबाइल थमाएर आफ्नो काम गर्न पाउँदा बाआमा दङ्ग देखिन्छन्। यस्तो वेला मिडियाको खपत कम गर भन्नेभन्दा पनि कस्तो खाले मिडियाप्रति रुचि बढाउने भन्नेमा विद्यालयको ठूलो योगदान हुने देखिन्छ।
हाम्रो समाजमा अवधारणा कसरी निर्माण भइरहेको छ? आजको समयमा हाम्रा समाजका ‘इन्फ्लुएन्सर’ (प्रभावशाली व्यक्तित्व)हरू को हुन्?
सामाजिक सञ्जालमा विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिका पोस्ट र तीबारे सामग्री आउँछन्, त्यसबाट पनि ‘इन्फ्लुएन्सर’ बन्ने भए। युवायुवतीले युवा नै खोज्छन्। अहिलेका मेयर बालेन्द्र शाह कस्तो लाग्यो भनेर विद्यार्थीलाई सोध्दा उनीहरू ‘पहिले हामी उहाँले गाएको र्याप सुन्थ्यौं, र्यापर पनि नेता हुन सक्छ भन्ने कुराले हामीलाई ठूलो आत्मबल मिल्यो’ भन्छन्। जसले गरेर देखाउँछ उही ‘इन्फ्लुएन्सर’ भएको देखिन्छ। विगतमा कलाकारलाई आदर्श मान्थे र पछ्याउँथे, अहिले त्यस्तो देखिँदैन। युवा पिंढीले आफूले चाहेका र आफूलाई चाहिएको विषयमा खोजतलास गरेको देखिन्छ।
निरन्तरको प्रयास र साधनाबाट भन्दा पनि ‘स्टन्ट’ र मिडियाको बलमा फुत्त नेतृत्वमा पुग्ने प्रचलन संसारभरि देखिँदै गर्दा युवा पुस्तामा यस्तो प्रकारको झुकावले ‘पपुलिज्म’ (लोकरिझ्याइँ)लाई बढावा त दिँदैन?
यसमा मैले त्यति गहन अध्ययन त गरेको छैन। तर, पपुलिज्मको एउटा पाटो के छ भने यसमा दिगोपन हुँदैन। आकर्षण छोटो समय रहन्छ। त्यो पपुलिस्ट समाजको एउटा प्रभाव आज युवा पुस्तामा जागीरप्रतिको सोचमा देखेकी छु। कुनै ठाउँमा दुई वर्ष समय दिन सकिन्छ भनेर सोध्यो भने उनीहरू डराउँछन्। कुनै पनि समाजको दिगोपनका लागि नयाँ पिंढीले पछिल्लो पुस्ताले गरेका राम्रा–नराम्रा कामबाट सिकेर बढ्यो भने पुराना गल्ती दोहोरिँदैनन्। तर, सबै कुरा बिर्सेर पपुलिज्मतिर लम्कियौं भने गल्ती दोहोरिइरहन सक्छ।
अब तपाईंको विशेषज्ञताको विषय ‘क्षमता अभिवृद्धि’लाई महिलाको सशक्तीकरणसँग जोडेर कुरा गरौं, नेतृत्व वा मूल प्रवाहमा आउने दृष्टिले अहिले महिलाको स्थिति कस्तो छ?
महिलासँग क्षमता भएर पनि त्यसलाई प्रस्तुत गर्ने ठाउँ नपाइरहेको देखिन्छ। महिलाहरू अगाडि बढ्न नसक्ने होइनन्, बढेका पनि छन्। तर, आम रूपमा हेर्दा उनीहरूलाई आफैं गर्ने ठाउँ दिने सोचको अभाव छ। कहिलेकाहीं बाबुआमाले नै विशेष गरी छोरीलाई अगाडि बढाउने कुरामा सहयोग नगरेको देखिन्छ। गाउँघरको कुरा छाडौं, शहरमा पनि कतिपय बाबुआमामा छोरी विवाह भएर जाने भएकाले पढाएर अर्थ छैन भन्ने सोच देखिन्छ।
अर्कातिर, कम्पनी वा संस्थाहरूले विवाह नगरेका युवतीलाई सकेसम्म काममा नराख्ने प्रवृत्ति पनि छ। किनकि, उनीहरूको विवाह हुँदा बिदा दिनुपर्ने हुन्छ र बच्चा जन्माएपछि उनीहरू लामो समय कार्यालय आउँदैनन्। महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा तीन पक्ष जोडिएका छन्ः नीति, परिकल्पना र परिवेश। पहिलो, आमाको नामबाट नागरिकता पाइँदैन भने त्यहाँ नै एउटा अवरोध भयो। दोस्रो, छोरीको सशक्तीकरण गर्ने परिकल्पना नै देखिँदैन। छोरीहरूको क्षमता वृद्धिका लागि खर्च नै नगरेको पाउँछौं, अवसर नै नदिएको पाउँछौं। तेस्रो, परिवेश। महिलाले राति ८/९ बजेसम्म काम गरेर घर फर्कंदा फरक नजरले हेरिन्छ। यद्यपि, बिस्तारै केही परिवर्तन भएको हामी पाउँछौं। परिवारको साथ पाएमा महिलालाई कुनै पनि अवरोध हुँदैन।
(हिमालको २०७९ माघ अङ्कबाट।)