सम्पादकको भूमिका फेरिंदा समाचारको गुणस्तरमा प्रभाव पर्यो (अडियो सहित)
पत्रकारले तयार पारेको सामग्री पनि सधैं प्रश्न र असहमतिबाट टाढा हुँदैन। तर, त्यसरी प्रश्न गरिंदा विश्वसनीयतामा शङ्का हुन भएन।
प्रविधिमा आएको परिवर्तनले सञ्चार माध्यमको मात्र नभई पाठक र दर्शकको भूमिकामा पनि परिवर्तन आइरहेको छ। पहिले म समाचार पढ्ने गर्थें, अचेल हेर्न पनि थालेको छु। डिजिटल प्लेटफर्ममा पढ्ने मात्र हुँदैन, मोबाइलमा सामग्री खोल्नासाथ हेरिन्छ पनि। भिडिओ सामग्री मात्र होइन, अक्षर पनि ठूलो-सानो बनाएर हेरिन्छ। त्यसैले पाठक अब दर्शकमा परिवर्तन भएको छ।
केही समयअघिसम्म अनलाइनलाई छापा माध्यममा प्रकाशित सामग्री जस्ताको तस्तै पुनःप्रकाशन गर्छ भनेर आरोप लगाइन्थ्यो। अहिले त अनलाइन सञ्चार माध्यम आफैंमा टेलिभिजन स्टेशन जस्ता भएका छन्। एकदमै द्रुत गतिमा परिवर्तन भइरहेको छ।
म आफ्नै जीवनकालमा पाठकबाट दर्शक भएको छु। सम्प्रेषण गर्ने माध्यममा आएको त्यो परिवर्तनले प्रकाशन, प्रसारण गर्ने सामग्री र तिनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुँदै गएको छ।
सन् १९९० पछि दर्शक र पाठक दुवै परिवर्तन हुँदै गएका छन् र ती सहभागी हुँदै गएका छन्। एक पटक नागरिक पत्रकारिताको अवधारणा आएको थियो। नागरिक पत्रकारिताको अर्थ हो, नागरिक पहरेदार। उसले निगरानी गरिरहेको हुन्छ। त्यसैले सानोतिनो केही घटना हुनासाथ पठाउन सक्नुपर्छ भनेर ‘युथ इनिसिएटिभ’ का युवा भाइबहिनीलाई हामीले मोबाइल दिएर खटाएका थियौं।
नागरिक पत्रकारिताले हामीलाई तरङ्गित बनाएको थियो। स्थापित संस्था र संरचनामा पत्रकारिता गर्ने पत्रकारलाई ठाउँका ठाउँ मानिसहरूले प्रश्न गर्न थालेका थिए। त्यसले सञ्चार माध्यमले सम्प्रेषण गरेको विषयमा दर्शक-पाठकको सहभागिता बढाएको थियो।
नागरिक पत्रकारिताको अवधारणा के हो भने नागरिकहरू समाचार सामग्रीका उपभोक्ता मात्र होइनन्, आफैं त्यसका उत्पादक पनि हुन्। त्यसैले हरेक नागरिकले अब भन्न सक्छ- कसैले मलाई केही पनि थोपर्न सक्दैन, किनभने त्यसमाथि मैले प्रश्न गर्छु। यो अवधारणाको मुटुमा जवाफदेहीको खोजी छ। जे मलाई पस्केर दिइन्छ, टाठाबाठा, अंग्रेजीबाज, सुसंस्कृत भाषा प्रयोग गर्नेले जे दिन्छ, त्यसमाथि प्रश्न गर्छु भन्ने अवधारणा हो।
हिजो सम्पादकलाई पत्र कसले लेख्छ र कसको पत्र प्रकाशित हुन्छ भन्ने पनि अरूकै हातमा थियो। अब त्यो अवस्था रहेन। सहभागिता बढ्यो।
समाज परिवर्तन हुने क्रममा प्रविधिले मात्र भूमिका खेलेको छैन। हामीले पनि त्यसको आकार निर्माण गर्दै गएका छौं। नेपालकै सन्दर्भमा हेरौं, धेरै मानिस ‘भ्यालू न्यूट्रल’ भनेर अनुसन्धान गर्न जान्छन्, खासगरी मानवशास्त्रीय अनुसन्धानमा। तर, पछि आफूले अनुसन्धान गरेको विषयमा उसको यति धेरै लगाव बढ्छ, आफैं अभियन्ता भएर निस्कन्छ। पत्रकारितामा पनि त्यस्तो देखिन्छ।
पत्रकारिता तटस्थ हुन्छ, मान्यताबाट मुक्त हुन्छ भनियो (जुन आफैंमा हुँदैन, तर संस्थागत रूपमा मान्यतामुक्त हुने अवधारणा राख्यौं)। त्यो केही हदसम्म कायम पनि रह्यो, किनभने सञ्चार माध्यम निश्चित सम्भ्रान्तको हातमा थियो। के पस्किने, के नपस्किने निर्धारण उसैले गर्थ्यो। कतिसम्म भने प्रकाशन हुने पत्रिकाका रूपको आधारमा कस्ता सामग्री प्रकाशन हुने भन्ने अवधारणा बनाइएको थियो। ट्याबलोइडमा गसिप छापिदिन्थ्यो। दैनिक पत्रिकामा भने त्यस्तो पाइँदैनथ्यो।
मैले एक पटक भवानी सेन गुप्ता जस्तो पत्रकारसँग सङ्गत गर्ने अवसर पाएँ। उहाँको खल्तीमा लेमिनेसन गरेर राखिएको एउटा पत्र हुन्थ्यो। त्यो उहाँले पहिलो पटक लेखेको सम्पादकीयमा गरेका त्रुटिहरूमा आफ्नै बुबाले रातो लगाएर पठाउनुभएको थियो, त्यो पत्र। बुबाले लेख्नुभएको थियो- तिमीले यो मन परायौ भने तिमी सम्पादक हुन योग्य छौ।
गुप्ताले हरेक पटक लेखिसकेपछि त्यो पत्र हेर्ने गर्नुहुन्थ्यो। एउटा वसूल, परम्परा, नैतिक मान्यतामा अडिएको थियो, पहिलेको पत्रकारिता। अहिले त्यो नैतिक मापदण्ड चाहिंदैन भन्ने होइन। नैतिक मान्यता पनि समय अनुसार परिवर्तन हुँदो रहेछ। जहिले पनि भारतको द स्टेट्सम्यानको कार्यालय रहेको भवन नजिकैबाट जाँदा ‘यो त्यही ठाउँ हो, जहाँ मैले पहिलो पटक उपसम्पादकका रूपमा काम गरेको थिएँ भन्ने लाग्थ्यो। संस्थासँग त्यस्तो खालको भावनात्मक सम्बन्ध थियो।
अहिले त्यस्ता मान्यताहरू फेरिएका छन्। पत्रकारहरू आफूले काम गर्ने सञ्चार माध्यम छिटो छिटो फेरिरहेका छन्। यो पत्रकार फलानो संस्थामा काम गर्छ भन्न सक्ने अवस्था छैन।
अर्को, कस्तो भाषामा पाठक, दर्शकले सञ्चार माध्यमसँग संवाद गरिरहेछन् भन्ने महत्त्वपूर्ण छ। हिजो संवाद एकोहोरो थियो। यसको अर्थ संवाद नै हुँदैनथ्यो भन्ने होइन। पाठकको अनुभूति बेवास्ता गरिन्थ्यो भन्ने होइन। ‘सम्पादकलाई पत्र’ निकै महत्त्वपूर्ण पाटो थियो। ज्ञान प्रवाहको अभिन्न पक्ष पनि थियो।
नेपालमा सन् १९९० पछि सञ्चारगृह बढे। समय निकै द्रुत गतिमा बढ्यो। हामीलाई एनालगबाट डिजिटलमा जान निकै समय लाग्यो। डिजिटलबाट ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ मा चाहिं निकै छिटो गयो। यी सबै विषय एकै ठाउँमा आउँदा अप्ठ्यारो अवस्था सिर्जना भएको छ।
हिजो सम्पादकको काम संवाददाताले ल्याएको सूचनाको पुन:पुष्टि, त्यसको सम्पादन र प्रकाशन मात्रै थियो। आज सम्पादक आफैंले लगानी खोज्नुपर्ने अवस्था पनि आएको छ। भूमिका परिवर्तन भएको छ। यो निकै ठूलो अप्ठ्यारो हो। सम्पादक अब ‘म्यानेजिङ एडिटर’ भएको छ। उसले समाचार व्यवस्थापन गरेर मात्र भएको छैन, न्यूजरूम नै व्यवस्थापन गर्नुपर्ने भएको छ। पत्रकार राख्ने/निकाल्ने सबै उसको हातमा आएको छ। हिजोका सम्पादकहरू त्यो दायित्वमा थिएनन्। त्यसैले ‘सेन्स एन्ड सेन्सिबिलिटी’ पनि परिवर्तन भएको छ।
यी सबै परिवर्तनले समाचारको गुणस्तरमा प्रभाव पारेका छन्। हिजो राम्रो थियो, आज राम्रो भएन भन्ने होइन। हामी अहिले तरल अवस्थामा आएका छौं। कहाँनेर ध्यान दिने भन्नेमा अलमल जस्तो सिर्जना भएको छ। त्यसैले अहिले मैले कुनै समाचार पढ्दा त्यहाँ के लेखिएको छ भन्नेमा मात्र ध्यान दिन्नँ। यो समाचार कहाँबाट आयो? कस्तो परिस्थितिमा आयो? यावत् पक्षमा ध्यान दिन्छु। हामीसँग कुनै विषयमा निरन्तर रिपोर्टिङ गर्ने अवस्था छ कि छैन?
हाम्रोमा बिटको अवस्था छ। एउटा पत्रकार एउटा विषयमा दशकौंदेखि लागेको छ भन्ने गर्छौं। तर, हाम्रो अभ्यास खहरे जस्तो छ, किनभने परिस्थिति पनि त्यस्तै छ। न्यूयोर्क टाइम्समा लेख्ने पत्रकारहरू बीसौं वर्षदेखि एउटै विषयमा लेखिरहेका हुन्छन्। उनीहरूलाई त्यो सुविधा पनि छ, किनभने संस्थागत सुनिश्चितता छ।
हामीकहाँ त्यो सुविधा छैन। त्यसैले केहीअघि औषधिबारे खोज गरिरहेको पत्रकार अलि दिनपछि वातावरणीय विषयतिर लागेको हुन्छ। सामाजिक विज्ञानमा पनि त्यस्तै छ। हिजोसम्म ‘जेन्डर एक्सपर्ट’ भएको मानिस अलिक दिनमा ‘टेन्डर एक्सपर्ट’ हुन पुग्छ।
यसले गर्दा गुणस्तर केही हदसम्म खस्केको पनि पाइन्छ। गुणस्तर खस्किँदा विश्वसनीयताको प्रश्न पनि उठ्छ। निरन्तर खोजी नै खोज पत्रकारिताको सबैभन्दा ठूलो मर्म हो, धर्म हो। विडम्बना, हिजो एउटै विषयमा निरन्तर लागिपर्ने पत्रकार आज सम्पादक भएपछि केही गर्न सकेका छैनन्। ती व्यवस्थापनकै पाटोमा अल्झिएका छन्।
हामीले समाजसँग कसरी सम्बन्ध राख्ने? घर, परिवारमा आइरहेको भन्दा छिटो समाजको परिवर्तन भएको छ। त्यसैले यो तरल शब्द हो। तरल पदार्थ उकालोबाट ओरालोतिर झर्छ, तर समाज कताबाट कता जान्छ भन्न सकिंदैन। त्यसैले म समाज राम्रोबाट नराम्रो भयो वा नराम्रोबाट राम्रो भयो भन्न सक्दिनँ, किनभने राम्रो वा नराम्रो भनेर केले छुट्याउने? हिजोका अवधारणा भत्किरहेका छन्। हिजोका दार्शनिक अवधारणामा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने मान्यता बनेका थिए, ती आज छैनन्। त्यसैले प्रश्न अब तथ्य (फ्याक्ट्स)मा जान्छ।
पत्रकारितामा रहेको सबैभन्दा ठूलो अन्योल हो, सत्य र तथ्यमा फरक छ भन्ने थाहा नपाउनु। सत्य अटल हुन्छ, तर त्यसको व्याख्या गर्ने आफूले हो। तथ्यमा त्यस्तो व्याख्याको सम्भावना कम छ। जे भएको हो, त्यो भएको नै हो। तर, आजभोलि नयाँ प्रश्न उठेको छ- कस्तो तथ्य? कसको तथ्य? कसले बनाएको तथ्य?
सत्य केही हदसम्म दार्शनिक अवधाणा हो। त्यसका मानकहरू धेरै छन्। तथ्यका मानक कम छन्। त्यसैले सत्य-तथ्य भनेर एकै ठाउँमा भन्नु उचित हुँदैन।
म सानो छँदाको प्रसङ्ग सम्झिन्छु। नौ-दश वर्षको थिएँ। हाम्रो घरमा हिन्दी दैनिक पत्रिका आज आउँथ्यो। रेल दुर्घटना भयो, करपुरी र बीपीहरू पनि त्यहीं थिए भन्ने समाचार थियो। रेल दुर्घटना पनि भएको थियो। करपुरी र बीपी पनि त्यहीं ठाउँमा थिए। तर, रेल दुर्घटनामा परेका होइनन्। भाषाले खेल खेलेको थियो।
यस्तै, तथ्य र विचारमा पनि फरक छ। आजभोलि पत्रकारले निरन्तर रिपोर्टिङ गर्दागर्दै आफ्ना विचार पनि पस्किने अभ्यास छ। पक्कै पनि उनले त्यसमा निरन्तर लेखिरहेका छन्। उनी त्यस विषयका जानकार पनि हुन्। तर, उनले तुरुन्तै आफ्नो विचार पस्किहाल्छन्। एक वाक्य समाचार लेख्दा अर्को वाक्य विचार राख्छन्। त्यसले तथ्यलाई उनको विचारको रङ दिन्छ। विचारले रङ्गिएका तथ्यहरू आउन थालेका छन्। जसले गर्दा हिजोका मान्यता फेरिएका छन्।
हिजो लेखिएका जति तथ्यपूर्ण हुन्छ भन्ने मानिन्थ्यो, अहिले त्यस्तो रहेन। कसले बनाएको तथ्य भनेर प्रश्न गर्न थालियो। उदाहरणका लागि, बस दुर्घटना भएको, त्यसमा निश्चित संख्याको निधन भएको, घाइते भएको तथ्य हो। तर, के कारणले गर्दा बस दुर्घटना भयो भन्ने चाहिं विचार हो।
अहिले आरोप लगाउने हतार हुन थालेको छ। यो हतारोले सञ्चार माध्यमलाई जोखिमतर्फ लगिरहेछ। चौबीसै घण्टा समाचार दिने दबाबले पनि यस्तो जोखिम बढाएको छ। उदाहरणका लागि, माघ १ गते विमान दुर्घटना भयो। यति छिटोछिटो पाइलटबारे, पाइलटको परिवारलाई परेको प्रभावबारे मानवीय संवेदनासित जोडिएका समाचारहरू प्रकाशन हुन थाले। जसले गर्दा अनुसन्धानलाई प्रभाव पारिरहेको छ।
एउटा प्राविधिक समूहले त्यसको अनुसन्धान गरेर कुनै प्रतिवेदन ल्यायो भने पनि हामी पत्याउनेवाला छैनौं। किनकि, त्यस विषयमा यति धेरै चर्चा भइसकेको छ, हामी आफैंले मान्यता बनाएका छौं। यो सञ्चार माध्यमको मात्रै दोष होइन, सिङ्गो समाजलाई त्यस्तै चाहिएको छ।
अहिले सञ्चार माध्यमलाई भएको सबैभन्दा ठूलो क्षति भनेको तथ्य मार्फत निचोडसम्म पुग्ने प्रणालीमै क्षति पुगेको छ। त्यसका लागि सञ्चार माध्यम मात्रै जिम्मेवार छैनन्। हिजो हामी सबैका हातहातमा मोबाइल पुग्दा खुशी थियौं। अब नागरिक पत्रकारिताका विकास हुने भयो। कसैले सञ्चार माध्यमबाट शासन गर्न नपाउने भयो भन्ने लागेको थियो। अब त्यो खुशी कायम छैन। एउटा नयाँ प्रश्न खडा भएको छ, पत्रकारका रूपमा हाम्रो धर्म कतिसम्म हो? यहाँनेर सबैले आआफ्नो परिधि आफैं तय गर्ने हो।
यो प्रश्नको हृदयमा छ- हामी कसका लागि लेख्छौं? हाम्रो जवाफदेही कोप्रति हो? सबैभन्दा पहिलो जवाफदेही आफैंप्रति हो। ऐनामा आफैंलाई हेर्दा जवाफ दिन सकिन्छ कि सकिंदैन? मैले आज जे लेखें, त्यससँग उठेका प्रश्नलाई जवाफ दिन सक्छु कि सक्दिन?
यहाँनेर आचारसंहिताको कुरा पनि आउँछ। मिडियाको आचारसंहिता सय वर्षको अभ्यासबाट सिर्जना भएको हो। तर, गएको २०-२५ वर्षमा हाम्रो आचारसंहिता निकै छिटो फेरिरहेको छ। त्यो थिग्रिनै पाएको छैन।
कानून र राज्यको एकरूपता संहिता निर्माणमा हुन्छ। संहिता निर्माणका क्रममा कानून स्थापित हुन्छ। हामी द्रुत गतिको जमानामा आइपुगेकाले हाम्रा मूल्यमान्यता थिग्रिन र संहिताबद्ध हुन नपाउँदै परिवर्तन हुन थालेका छन्।
अफवाहबाट हटेर तथ्यपरक सूचना सम्प्रेषण गर्ने अभ्यास नै पत्रकारिताको जग हो। त्यो लोकतन्त्रका लागि आवश्यक थियो, किनभने कुनै पनि सूचना लिन सही सूचना चाहिन्थ्यो। आफूलाई शासन गर्ने नियम, कानून तयार पार्न सहभागी हुने क्रममा नै लोकतन्त्रको स्थापना भएको हो। हुन त अहिले हामी एकदमै समानतायुक्त समाजमा छौं।
अहिले लोकतन्त्र एकदमै समावेशी प्रणाली हो भन्ने ठानिन्छ, तर यसको शुरूआत असमावेशी थियो। अहिले पनि लोकतन्त्र हामीले सोचे जति समावेशी भइसकेको छैन। यसले माग गर्छ। राष्ट्र-राज्यको सन्दर्भ हो भने यसले नागरिक खोज्छ। लोकतन्त्रको परिधि हुन्छ र कोही न कोही यसबाट पर हुन्छ। लोकतन्त्र फराकिलो हुँदै गएको छ र त्यो परिधि भत्किरहेको छ।
जवाफदेहीको प्रणाली स्थापित हुँदै जाँदा लोकतन्त्र फराकिलो हुन्छ। जवाफदेहीको प्रणाली बसाउन सूचना चाहिन्छ। विडम्बना, हाम्रोमा सूचना विना नै अभिव्यक्ति दिने चलन छ। संसद्मा बोल्ने सांसदहरू विना सूचना भावनामा बोलिरहेका देखिन्छन्। सार्वजनिक संवादमा सूचना चाहिन्छ। प्रमाणित सूचनाको अभावमा संवाद अघि बढ्दैन। संवाद अघि नबढ्दा लोकतन्त्र अघि बढ्दैन। अनि हामी षड्यन्त्रको सिद्धान्ततिर जान्छौं। नेपाली समाजमा अहिले विश्लेषणको ठूलो पाटो षड्यन्त्रको सिद्धान्त (कन्सिपिरेसी थ्योरी) बनेको छ।
कसले, कोसँग, कुन बैठकमा बसेर के निर्णय गर्यो भनेर लेख्दालेख्दै ‘होइन, को थियो’ भन्न थालियो भने षड्यन्त्र सिद्धान्ततिर जान्छ। त्यसैले सूचना कहाँबाट आयो भनेर ख्याल गर्न जरुरी छ। तर, हामीकहाँ सूचनाको स्रोत लुकाउने अभ्यास हुन थाल्यो। त्यो लुकाउँदा लुकाउँदै षड्यन्त्र सिद्धान्ततिर गयो।
षड्यन्त्र सिद्धान्तमा भर पर्ने समाज सबैभन्दा कमजोर हुन्छ। जसरी अन्धविश्वासमा विश्वास गर्ने समाज कमजोर हुन्छ, त्यसरी नै लोकतन्त्रमा पनि षड्यन्त्रमा विश्वास गर्ने समाज कमजोर हुन्छ। षड्यन्त्र सिद्धान्तको आधारमा विश्लेषण गर्न थालियो भने त्यसको कुनै अन्त्य हुँदैन।
त्यसैले नै खोज पत्रकारिताले सूचनाको विश्वसनीयताको माग गर्छ। अहिले त झनै मिथ्या र भ्रामक तथ्यको महामारी छ। अर्कोतर्फ ‘तैंले के गरेको थिइस्’ को अभ्यास पनि बढेको छ। कसैले केही भन्यो भने ‘तैंले के गरेको थिइस्’ भनेर मुख थुन्ने अभ्यास चलेको छ।
कुनै पनि मानिसले इतिहासको सबै जिम्मा लिन सक्दैन। इतिहास उतारचढाव र विवादहरूले भरिएको हुन्छ। वर्तमानको विषयमा कुरा गर्दा विगतको कुरा ल्याएर चूप लगाउने संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउँदैन।
नेपालको कुनै पनि समाजशास्त्रीय-राजनीतिक अध्ययन हेर्ने हो भने मार्क्सवादी दृष्टिकोणबाट प्रभावित पाइन्छ। म मार्क्सवादी विचारको सौन्दर्यलाई कदर गर्छु, तर हाम्रो प्राज्ञिक अभ्यासमा त्यो फलदायी हुन सकेको छैन। खालि हुनेखाने र हुँदाखानेको द्वन्द्व भनेर टुङ्ग्याउने गरिन्छ। माओवादी द्वन्द्वबारेका अध्ययनमा यस्तै दृष्टिकोण हावी भएको पाइन्छ। यस्तै ‘बाइनरी’ (श्यामश्वेत) दृष्टिकोण तथ्यबारे पनि छ। कसको तथ्य, कसले बनाएको तथ्य भनेर खोज्दाखोज्दै हामी यो वा त्योमा पुगिहाल्छौं।
यहाँनेर अर्को समाजशास्त्रीय अवधारणा पनि राख्छु- आवश्यक परिस्थिति (नेसिसिटी कन्डिशन) र पर्याप्त परिस्थिति (सफसिएन्ट कन्डिशन)। माओवादी द्वन्द्वका पछाडि वर्गीय, क्षेत्रीय, भाषिक विभेद थियो होला। तर, के यो पर्याप्त परिस्थिति थियो त? भारतको बम्बईमा पनि त धनी-गरीबको ठूलो खाडल छ। त्यहाँ किन सशस्त्र द्वन्द्व भएन त? किन शहर र गाउँबीच द्वन्द्व छैन त?
आवश्यक र पर्याप्त परिस्थितिका आधारमा मूल्याङ्कन गर्नासाथ सही तथ्यको नजिक पुग्छौं। त्यो नहुँदा षड्यन्त्र सिद्धान्त हावी भएको छ। हिजोको पत्रकारिताले समाजलाई बलियो बनाएको थियो। तर, षड्यन्त्र सिद्धान्तमा आधारित विश्लेषणहरूले समाजलाई कमजोर बनाएका छन्। मानिसलाई बोल्न नसक्ने, काँतर बनाइदिएको छ।
अहिले सबैभन्दा ठूलो आवश्यकता हो, बोल्ने ‘स्पेश’ खुम्चाइदिनु भएन। पत्रकारिताले त्यो स्थान दिनुपर्छ। यसको अर्थ पत्रकारिताका आधारभूत परिधिलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन।
संवाद र सहभागिता बढाउने सन्दर्भमा केही अप्ठ्यारा पनि आइपर्छन्। जस्तो- एउटा निकै नै यौनिक अभिव्यक्ति भएको गीत युवा पुस्तामा लोकप्रिय भएको छ। ‘साली’, ‘ससुराली’ जस्ता शब्दहरू प्रयोग भएको गीत चर्चित छ। कुनै समुदायमा बच्चाले त्यो गीत गाएको भिडिओ पनि निकै चर्चित भयो। त्यहाँनेर प्रश्न उठ्छ- त्यो बच्चा आफैंले सिक्यो वा कसैले सिकायो? त्यहाँ कसैको स्वार्थ देखिन्छ भने प्रश्न खडा गर्नुपर्छ। होइन, कुनै वयस्कले आफैं बुझेर त्यस्तो गीत सिर्जना गर्छ भने हामीसँग नसुन्ने छूट त हुन्छ, तर सिर्जनशीलता रोक्न हुन्छ, हुँदैन भन्ने प्रश्न उठ्छ।
सामाजिक सञ्जाल, टिकटकले समाजलाई कता लैजाँदै छन् भन्नेमा ध्यान दिनुपर्छ। कसैलाई यो ठीकै हो, यसले अभिव्यक्तिको माध्यम बढाइदिएको छ भन्ने लाग्न सक्छ। कसैलाई यो बेठीक हो, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने लाग्न सक्छ। दुवै विचारलाई स्थान दिन सक्छौं कि सक्दैनौं? सबैको मनमा कुन ठीक, कुन बेठीक भन्नेमा अन्तर्द्वन्द्व छ भने कसरी हामी कुनै विचारलाई प्रोत्साहन र कुनैलाई निषेध गर्न सक्छौं? कोही कसैलाई यही नै ठीक भन्ने लाग्न पनि सक्छ। उसले त्यही सम्प्रेषण गर्छ। तर, त्यसको मूल्याङ्कन गर्ने काम पाठक, दर्शकको हो।
पत्रकारले बारम्बार मैले लेखेको विषयले के प्रभाव पार्यो भनेर जाँच्नुपर्छ। तर, म यस्तो मूल्यमान्यता राख्छु भन्न डराउन हुँदैन। त्यसो गर्न सकिएन भने समाजबाट परपर गइन्छ। पक्कै पनि हरेक सञ्चार माध्यमले कस्तो विचार प्रवाह गर्ने, नगर्ने भन्ने निर्धारण गर्न सक्छ। तर, पाठकलाई त्यस सञ्चार माध्यमको सम्पादकीय मूल्यमान्यता के हो भन्ने थाहा हुनुपर्छ। समाजमा भिन्नाभिन्नै मूल्यप्रणाली भएका मानिस छन्। सबैलाई एउटै धागोमा बाँध्ने मूल्यप्रणाली चाहिं ‘हामी सबैको विचार सुन्छौं, फरकहरूलाई पहिल्याउन सक्छौं’ भन्ने हो।
वर्तमान समाजको सबैभन्दा ठूलो चुनौती फरक विचारको स्वीकार्यता हो। पहिले फरक विचार बुझ्न नसक्नु चुनौती हो कि भन्ने लाग्थ्यो। त्यो त निकै परको विषय रहेछ। फरक विचारलाई स्विकार्नु ठूलो कुरा हो। गान्धीले भनेका थिए, ‘जो तुम हो हो, जो मै हुँ हुँ’ (जे तिमी हौ, त्यही हौ। म जे हुँ, त्यही हुँ)। त्यतिमा पनि सभ्यतागत संवाद हुँदो रहेछ।
जो जे हो, त्यसैलाई स्विकारेर संवाद गर्न सक्नु नै ठूलो चुनौती भएको छ। फरक विचारलाई बुझ्न चाहिं निकै जटिल हुन्छ। त्यसको शुरूआत फरक विचार छन् भन्ने स्वीकार गरेर नै हुन्छ। फरक विचारलाई बुझ्ने मामिलामा मिथकहरू बनाउन थाल्यौं भने चाहिं फेरि षड्यन्त्र सिद्धान्ततिर लाग्छौं। ‘तिमी मसँग असहमत छौ’ भनेर स्विकार्न सक्ने प्रवृत्ति नै उदार चिन्तनको थालनी हो।
अहिले हाम्रो समाजमा धेरै प्रकारका बाराबार पाइन्छ। जसले गर्दा छलफल गर्ने थलो नै साँघुरिंदै गएको छ। एउटा त तथ्य निर्माणको प्रणाली नै फेरिएको छ। कसले केका लागि बनाइरहेछ भन्नेले अर्थ राख्न थालेको छ।
अब ध्यान दिनुपर्छ, पत्रकारितामा नयाँ को आइरहेको छ? त्यसो त पत्रकारिता गर्न पत्रकारिता नै पढेको हुनुपर्छ भन्ने अवधारणा पनि आएको छ। पत्रकारले जाँच दिनुपर्ने भन्ने पनि सुनिन्छ। अहिले पढेका मानिसहरू आउनुपर्छ भन्ने अवधारणा आएको छ। त्यो ‘स्युडोमोडर्निस्ट’ (छद्म आधुनिक) अवधारणा हो। यो देश त पढेकै मानिसहरूले त बिगारेका हुन्। इमानदार, समाज बुझेको मानिस हुनु र पढेको मानिस फरक हो।
मैले फरक फरक कोणबाट व्याख्या गरिरहेको छु। यी सबै प्रसङ्गबाट मैले निकाल्न खोजेको निचोड हो- समयसन्दर्भ फेरिएको छ, तपाईं कहाँनेर हुनुहुन्छ? जुन बिन्दुमा उभिए पनि तपाईं स्पष्ट हुनुपर्छ। त्यसो हुन सक्यो भने मात्रै संवाद बलियो हुन्छ। तपाईं कुन धारमा उभिएर कुरा गर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुँदा मात्रै पत्रकारिता विश्वसनीय हुन सक्छ।
पत्रकार किन विश्वसनीय हुनुपर्छ त? किनभने, उसले जवाफ दिनुपर्छ। सबैभन्दा पहिले आफैंलाई जवाफ दिन सक्नुपर्छ, तथ्यमा, विश्लेषणमा। पत्रकारहरू पनि एकअर्कालाई प्रश्न गर्न सक्ने, टिप्पणी गर्न सक्ने हुनुपर्छ।
हाम्रो समाजमा विभाजन बढ्दै गएको छ। हामी ध्रुवीकृत मात्र भएका छैनौं, त्योभन्दा बढी विभाजित भएका छौं। त्यसैले नेपाली राजनीतिको एकता कमजोर हुँदै गएको छ। नेपाली राजनीति मूलतः ‘लेफ्ट’ र ‘राइट’ (वामपन्थी र दक्षिणपन्थी)मा ध्रुवीकृत छ। तर, ती ध्रुवहरू पनि विभाजित छन्।
पत्रकारको मुख्य भूमिकामा ‘हिस्ट्री अफ प्रिजेन्ट’ (वर्तमानको ऐतिहासिकता) प्रस्तुत गर्ने हो, इतिहासकार हुने होइन। पत्रकार इतिहासकार होइन। पत्रकारले समकालीन इतिहासलाई कसरी व्याख्या गर्ने र दस्तावेजीकरण गर्ने भन्नेमा ध्यान दिने हो। म पत्रकारलाई भारतीय इतिहासकार रोमिला थापरको ‘सीडी देशमुख मेमोरियल लेक्चर’ पढ्न वा यूट्युबमा हेर्न अनुरोध गर्छु। ‘हिस्ट्री अफ प्रिजेन्ट’ र ‘हिस्ट्र अफ पास्ट एज अ भोकेसन’ फरक हुन्। पत्रकारले पनि वर्तमानको ऐतिहासिकता लेख्ने हो।
त्यसरी लेख्दा पनि कुन धरातलमा उभिएर लेख्छ भन्नेले भिन्नता निर्माण गर्छ। त्यसलाई विधिले समन्वय गर्छ। विधि भनेको सूचना ग्रहण गर्ने तरिका, पृष्ठभूमि आदि हुन्। तपाईं निरन्तर परीक्षणमा खडा हुन चाहनुहुन्छ कि चाहनुहुन्न भन्नेले अर्थ राख्छ।
प्राज्ञिक लेखनमा ‘पियर रिभ्यू’ लाई निकै महत्त्व दिइन्छ। ‘पियर रिभ्यू’ को अवधारणा नै एउटा समुदायले सत्य निर्माण गर्छ भन्ने मान्यताले सिर्जना गरेको हो। तपाईं डाक्टरकहाँ जाँदा ‘जिब्रो निकाल्नुस्’ भन्दा निकाल्नुहुन्छ। तपाईंलाई थाहा छ, डाक्टरले त्यसरी नै जाँच्छ। तर, उसले ज्वरो जाँच्ने बहानामा पाइताला छाम्न थाल्यो भने अस्वीकार गर्नुहुन्छ। त्यसैले बेलायती दार्शनिक कार्ल पोपर भन्छन्, ‘विज्ञान सधैं गलत प्रमाणित हुन तयार हुन्छ। विज्ञान सधैं प्रश्नभन्दा पर हुँदैन।’
पत्रकारिताको लोकतन्त्रसँगको सम्बन्ध यहींनेर छ। लोकतन्त्रले प्रश्न गर्ने, असहमति प्रकट गर्ने छूट दिन्छ। अचेल सूचना, विज्ञान र ज्ञानलाई अधिनायकतन्त्र स्थापना गर्न प्रयोग गर्ने अभ्यास बढेको छ। त्यो प्रवृत्तिले ज्ञानलाई अस्वीकार गर्छ। र, ‘पढेर के हुन्छ’ भन्छ।
पत्रकारले तयार पारेको सामग्री पनि सधैं प्रश्न र असहमतिबाट टाढा हुँदैन। तर, त्यसरी प्रश्न गरिंदा तपाईंको विश्वसनीयतामा शङ्का हुन भएन। त्यसका लागि सूचनाको सङ्कलन कसरी गरिएको छ भन्नेमा स्पष्ट हुनुपर्छ।
(खोज पत्रकारिता केन्द्रद्वारा आयोजित कार्यक्रममा राजनीतिशास्त्री शर्माको ‘समाचार र समाज’ शीर्षकको मन्तव्यमा आधारित।)