राज्यले अब बालशिक्षामा लगानी गर्नुपर्ने शिक्षाविद्हरूले बताएका छन्।
ललितपुरमा आइतबार आयोजित ‘प्रारम्भिक बालशिक्षा किन महत्त्वपूर्ण छ’ भन्ने विषयक संवाद कार्यक्रममा सहभागी वक्ताले नेपालमा बालशिक्षामा राज्यको लगानी पर्याप्त नभएको औंल्याएका हुन्।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले चार वर्ष उमेर पुगेका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गरिने भनेको छ। त्यसमा चार वर्षमुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक, सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था पनि गरेको छ।
नीतिमा प्राथमिकता भए पनि यसको महत्त्व अभिभावक, विद्यालय, शिक्षक र स्थानीय सरकारले अझै परख्न नसकेको प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्यले बताए।
त्यस्तै, रातो बंगला स्कूलकी अध्यक्ष डा. शान्ता दीक्षितले बालबालिकाको प्रारम्भिक शिक्षामा हुने लगानी र प्राथमिकताले उनीहरूको सिङ्गो जीवन सार्थक बनाउने बताइन्। डा. दीक्षितले भनिन्, “बालबालिकाको यही उमेरमा मस्तिष्क विकास हुने भएकाले उनीहरूलाई तीक्ष्ण बनाउन, भावनात्मक र व्यावहारिक रूपमा पनि बलियो बनाउन खास ध्यान दिइनुपर्छ।”
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले संघीयतापछि बालशिक्षामा सामाजिक र विद्यालय अन्तर्गत विभिन्न प्राथमिकताको कार्यक्रम बनाए पनि शिक्षक, अभिभावक र विद्यालयको बुझाइ नै प्रारम्भिकभन्दा आधारभूत तहपछिको शिक्षामा मात्र केन्द्रित भएको पाइएको बताए। “नीतिले प्रारम्भिक बालशिक्षामा परीक्षा नगर्ने भने पनि अभिभावकलाई परीक्षा लिइदिनुपर्ने र एक वर्षको यस अध्ययनबाटै आफ्ना छोराछोरीले सबै सिक्नुपर्ने होड गर्नाले यसको महत्त्व अझै बुझाउन नसकिएको अनुभव हुन्छ,” डा. शर्माले भने।
प्रारम्भिक बालशिक्षा भनेर चार वर्षको उमेरका बालिबालिकालाई एक वर्षसम्म दिइने शिक्षा भनिएको छ। नेपालमा बालशिक्षा अध्ययन गर्न धेरै बालबालिका सामुदायिक विद्यालयमा जाने गरेको डा. शाक्यले बताए।
यद्यपि, प्रारम्भिक बालशिक्षामा राज्यको भने २ प्रतिशत मात्र बजेट छ। जबकि, विकसित मुलुकहरूले यही शिक्षाका लागि १० प्रतिशतसम्म बजेट छुट्याएका छन्। “जरामा लगानी गरेको वृक्ष मात्र बलियो र फल दिन योग्य हुन्छ। त्यसैले राज्यको लगानीको प्राथमिकता पनि फेरिनुपर्छ,” शिक्षाविद् डा. शाक्यले भने।
रातो बंगला स्कूलकी प्रिन्सिपल मिलन दीक्षितले यस उमेरका बालबालिकालाई घर र समाजको वातावरणले पनि उत्तिकै फरक पार्ने बताइन्। अभिभावक, विद्यालय र सरकारले ध्यान दिनुपर्ने बताउँदै दीक्षितले भनिन्, “सम्पन्न परिवारको अभिभावकले मात्र आफ्नो बच्चालाई विद्यालय जानुअघि राम्रो हुर्काउँछन् भन्ने गलत बुझाइ छ। खासमा यहाँ आफ्नो छोराछोरीलाई घरमा नै राम्रो व्यावहारिक शिक्षा दिन अभिभावकका लागि सरकारले लगानी गरेकै छैन। जुन महत्त्वपूर्ण छ।”
रातो बंगला फाउन्डेशनको २०औं वार्षिकोत्सवको अवसरमा संवाद कार्यक्रम आयोजना गरिएको हो।