दुई युवकको अपहरणपछि हत्या आरोपमा पाँच जना पक्राउ
जनकपुरधाम उपमहानगरका दुई युवकको भारतमा अपहरणपछि हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले दुई जना नेपाली र तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए। नेपालमा पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका-२ इटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन्।
हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक भारतमै पक्राउ परेका छन्। उनीहरूको विस्तृत जानकारी आउन बाँकी रहेको क्षेत्रीले बताए।
प्रवक्ता क्षेत्रीका अनुसार, गत पुस २७ गते रोहित र विष्णु साह भारतको सीतामढीस्थित आफन्तको घरमा गएका थिए। ज १२ प ८०४ नम्बरको पल्सर मोटरसाइकलमा घुम्न गएका उनीहरूको मोबाइल अफ भएको थियो।
त्यसको दुई दिनपछि विष्णुकै फोनबाट विष्णुका बुबाको मोबाइलमा फोन आएको थियो। फोन गर्नेहरूले विष्णुलाई छाड्न १० लाख रुपैयाँ लिएर आउन भनेका थिए।
अपहरणकारीको फोन आएकै दिन पीडितले प्रहरीमा मौखिक जानकारी गराएपछि जिल्ला र प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले खोजबिन शुरू गरेको थियो। भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान गर्दै जाँदा आइतबार बिहान साढे २ बजे भारतको बिहार राज्य अन्तर्गत पर्ने सीतामढी जिल्लाको पर्सा ग्राम थाना वेलामा दुई वटा शव गाडिएको अवस्थामा फेला परेको प्रवक्ता क्षेत्रीले बताए।
आइतबार बिहान नेपालबाट गएका रोहित र विष्णुका आफन्तले शव पहिचान गरेका हुन्। यसमा थप अनुसन्धान भइरहेको क्षेत्रीले जानकारी दिए।