नयाँ सडकको इतिहास 'जङ्क्सन पिपलबोट' सार्वजनिक
कवि तथा पत्रकार प्रकाश गुरागाईंको गैरआख्यान कृति जङ्क्सन पिपलबोट सार्वजनिक भएको छ।
माघ ७ गते काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा कविद्वय पुरुषोत्तम सुवेदी, लक्ष्मी माली र मानवशास्त्री सुरेश ढकालले पुस्तक लोकार्पण गरे।
पुस्तकबारे टिप्पणी गर्दै कवि सुवेदीले पुस्तक नयाँ सडकको इतिहासको जीवन्त दस्तावेज भएको बताए। कुनै वेला शहरकै केन्द्र रहेको नयाँ सडकको पीपलबोटसँग जोडिएको सामाजिक, सांस्कृतिक, राजनीतिक र साहित्यिक इतिहास खोज्न र जोरजाम गर्न लेखक गुरागाईंले धेरै मिहिनेत गरेको भन्दै उनले सराहना पनि गरे।
नयाँ सडकमै जन्मे-हुर्केकी कवि मालीले पीपलबोट आसपासको इतिहासलाई सजीव रूपमा समेटेको पुस्तकले आफूलाई विगतमा पुर्याएको बताइन्। नयाँ सडकमा रूपान्तरित हुनुअघिको नच्छे गल्लीको स्मरण गर्दै उनले राणाकाल र त्यसपछिको समयमा सुनेका र देखेका घटना र सन्दर्भहरू पनि सुनाइन्। पुस्तकले नयाँ सडकको विस्तृत इतिहास समेटे पनि तत्कालीन पुस्तकालय, संकटा फूटबल टीम लगायत कतिपय पाटो भने छुट्न पुगेको औंल्याइन्।
अर्का वक्ता ढकालले विभिन्न पुस्तक तथा लेखोटका सामग्रीलाई आधार बनाइनुका साथै नयाँ सडकको विभिन्न कालखण्डका उतारचढावका साक्षी रहेका अनेकौं व्यक्तिसँग कुराकानी गरेर तयार पारिएकाले यो पुस्तकलाई आधिकारिक दस्तावेज मान्न सकिने बताए।
लेखक गुरागाईंले गैरआख्यान लेख्ने क्रममा थाहा हुने नयाँ नयाँ कुरा समेट्दै जाँदा लम्बिरहने अनुभव सुनाउँदै पुस्तक लेख्न चार वर्ष लागेको बताए। पत्रकारिता गर्ने क्रममा कवि-लेखकहरूले साहित्यसँगै विभिन्न क्षेत्रका व्यक्तिको भेटघाट र जमघट हुने अखडाका रूपमा पीपलबोटबारे गरेका चर्चा, सुनाएका किस्सा र लेखेका लेख सुन्दै, पढ्दै आउँदा यसको इतिहास खोज्न आफूलाई प्रेरित गरेको बताए।
फिनिक्स बुक्सले प्रकाशन गरेको ३१६ पृष्ठको पुस्तकको मूल्य ४५० रुपैयाँ छ। गुरागाईंको यसअघि २०७५ सालमा खुट्टामा श्रीपेच कविताकृति प्रकाशित छ।