व्यापारीसँग पाँच करोड फिरौती माग्ने गिरोह पक्राउ
व्यापारीसँग पाँच करोड फिरौती मागेको आरोपमा प्रहरीले ललितपुर र भक्तपुरका तीन जनालाई पक्राउ गरेको छ।
ललितपुरको गोदावारीमा ३३ वर्षीय महेश केसीको सानोतिनो चिया पसल छ। गोदावरीकै बासिन्दा केसीलाई ११ वर्ष पुरानो घटनामा प्रहरीले आफूलाई पछ्याउला भन्ने लागेको थिएन।
तर, पुसको अन्तिममा साता उनलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्यो। “अब त यो केसबारे प्रहरीले पनि बिर्सिसक्यो होला भन्ने लागेको थियो,” पक्राउपछि केसीको प्रतिक्रिया उद्धृत गर्दै नयाँ बानेश्वर वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव भन्छन्।
केसी सहित तीन जनालाई नयाँ बानेश्वर प्रहरी वृत्तले इन्द्रेणी वर्ल्डका सञ्चालक शम्भु श्रेष्ठ (दिलबहादुर)लाई फिरौती मागेको र बम विस्फोटनको अभियोगमा पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य दुई जना चापागाउँकै सन्तोष केसी र भक्तपुरका सूर्य तामाङ छन्।
फिरौती नदिएपछि यो समूहले २०६८ वैशाख १३ गते इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको थियो। नेपाली सेनाले डिस्पोज गरेकाले क्षति भने भएन। फिरौती नदिएपछि बम राखेको तत्कालै प्रहरी अनुसन्धानबाट खुले पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको थिएन।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्विकारेको डीएसपी श्रीवास्तवले बताए। “शुरूमा पाँच करोड रुपैयाँ फिरौती मागिएको भए पनि यो समूह तीन करोडमा झरेछ,” डीएसपी श्रीवास्तवले हिमालखबरसँग भने, “रकम नपाएपछि बम राखेर आफैंले खबर गरेछन्। पैसा नदिए घर र अफिसमा बम हान्ने भन्दै धम्काएका रहेछन्।”
घटनामा पाँच जनाको संलग्नता रहे पनि दुई जना भने फरार छन्। फरार दुई जनामध्ये एक जना घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। दुवै जना मुलुक बाहिर रहेको श्रीवास्तवको भनाइ छ।
आपराधिक घटनामा आपसी सहकार्य गर्ने प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोल मार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेर उनीहरूलाई नेपाल ल्याउने तयारी भइरहेको छ। मुख्य योजनाकार हाल विदेशमा सरकारी जागीरे रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी बम राखेकै राति विदेश उडेका थिए। अर्का फरार अभियुक्त पनि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्।
प्रहरीले इन्द्रेणी कम्प्लेक्समा राखिएको विस्फोटक पदार्थमा कुन र कस्ता क्षमताका सामग्री प्रयोग भएको थियो भनेर नेपाली सेनाबाट जानकारी मागेको छ।
यो समूहमा भएकाहरूको त्यसभन्दा अघि कुनै आपराधिक घटनामा संलग्नता नखुलेकाले ‘सजिलै पैसा कमाउने’ लोभले फिरौती मागेको हुन सक्ने प्रहरीको अनुमान छ।