'कान्छा' को सङ्गीतयात्रा
हामीकहाँ सङ्गीत सुनिने कला मात्र भएको, पढिने/लेखिने/खोज–अनुसन्धान गरिने विषय अझै पनि नभइसकेको अवस्थामा रञ्जित गजमेरबारेको पुस्तक महत्त्वपूर्ण छ।
सङ्गीतज्ञ पिटर जे. कार्थकको नेपाली सङ्गीतस्रष्टा पुस्तकभित्र ‘दार्जीलिङको विशिष्ट सङ्गीत’ शीर्षकमा लेख छ। त्यसमा उनले सङ्गीतकार रञ्जित गजमेरबारे लेखेका छन्– ‘रञ्जित गजमेर शास्त्रीय र सुगम दुवै शैलीको तबलावादनमा जादूगर नै थियो।’ दार्जीलिङ छँदा गजमेरको तबलाको जादूले अम्बर गुरुङदेखि लुई ब्याङ्ससम्मलाई प्रभावित पारेको थियो। कार्थकसँगै शरण प्रधान, कर्म योञ्जन, गोपाल योञ्जन, जितेन्द्र बर्देवा, अरुणा लामा जस्ता सङ्गीतकर्मी गजमेरका समकालीन थिए। अम्बरले नेतृत्व गरेको ‘आर्ट एकेडेमी’ का रिहर्सल, प्रस्तुति र रेकर्डिङहरूमा गजमेर जोडिन्थे। पछि उनले लुई ब्याङ्सको क्वार्टेटमा जोडिएर ड्रम बजाए।
तबलावादक र ड्रमर हुँदै अघि बढेको गजमेरको परिचयमा केही वर्षपछि अर्को बाजा थपियो, मादल। उनी काठमाडौं हुँदै मुम्बई पुगेपछि कालान्तरमा मादल उनको परिचयको पर्याय बन्न पुग्यो। उनले हिन्दी सिनेमा सङ्गीतका हस्ती एसडी बर्मन, आरडी बर्मन (पञ्चम) लगायत धेरै दिग्गज सङ्गीतकारको सान्निध्यमा रहेर काम गरे। र, बलिउडमा मादलको धून स्थापित गर्ने ‘कान्छा’ का रूपमा ख्याति कमाए।
सन् १९७० को अन्त्यमा मुम्बई पुगेका गजमेरले दार्जीलिङमा भन्दा बढी समय मुम्बईमै बिताए। यो अवधिमा उनले आफूलाई नेपाली सिनेमामा पनि अब्बल सङ्गीतकार सावित गरे। मुम्बई बसेरै सधैं नेपालसँग जोडिएका गजमेर दार्जीलिङ–काठमाडौं–मुम्बईको सङ्गीतलाई गाँसिराख्ने मियो हुन्। उनै सर्जक गजमेरको व्यक्तित्व र काम खुलाउने पुस्तक मोहनी मादलको पुसको पहिलो साता नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा गजमेरकै उपस्थितिमा सार्वजनिक भयो। शेखर खरेल लिखित पुस्तकलाई आत्मकथा भनिएको छ, जुन प्रथम पुरुषमा वाचित छ।
पुस्तक बाल्यकालबाट शुरू हुन्छ। दार्जीलिङका गजमेर परिवार सुन व्यापारी थिए। रञ्जितलाई भने सुनभन्दा धून प्यारो लाग्यो। उनको परिवारमा सङ्गीतप्रतिको धारणा नकारात्मक थियो। तर, रञ्जित हुर्कंदै गरेको समयको दार्जीलिङ सङ्गीत र साहित्यका लागि उर्वर थियो। त्यसैले उनको सङ्गीतप्रतिको लगाव छेकेर छेकिने कुरा थिएन। गजमेरलाई उनका भिनाजु हिराकुमार सिंहले आफ्ना साथीसँग सङ्गीत सिक्ने मेसो मिलाइदिए। त्यो सिकाइपछि उनी मञ्चमा तबला बजाएर प्रस्तुति दिन सक्ने भए।
रञ्जितको बुबाको मृत्युपछि उनीहरूको संयुक्त परिवार छिन्नभिन्न भयो। चमेनाघर चलाइरहेकी आमाको निधनपछि उनीमाथि आर्थिक दबाब बढ्यो। सन् १९६४ मा उनको बिहे कुसुमसँग भयो। अर्को वर्ष जेठी छोरी भारती जन्मिइन्। सङ्गीतबाट नामसँगै दाम पनि कमाउनुपर्ने दबाब बढ्यो। यही पृष्ठभूमिमा उनी नेपाल आए। ‘नेपाल एकेडेमी प्रवेश’ र ‘रेडियो नेपालको सेसन’ शीर्षकमा गजमेरले काठमाडौंमा बसेर काम गरेको समयको जानकारी छ।
प्रतिभाशाली गजमेरलाई यहाँ कामको अभाव थिएन, तर उनी आफ्नो दायरा बढाउन चाहन्थे। ‘अन्य सङ्गीतकारहरूका कम्पोजिशनमा वाद्यवादन गरिरहँदा मभित्र किन आफैं पनि सङ्गीत कम्पोज नगर्ने भन्ने भावना जागिरहेको हुन्थ्यो,’ उनले भनेका छन्। त्यसपछि, आफ्नो सङ्गीतमा प्रेमध्वज प्रधानको स्वरमा तीन वटा गीत रेकर्ड पनि गराए, तर चलेन।
सम्भवतः गजमेरले आफ्नो क्षमता त्यही वेला चिनिसकेका थिए, त्यसैले काठमाडौंमा खुम्चिन उनको मन मानेन। उनले बलिउड सङ्गीतमा ख्याति कमाएका स्याक्साफोनवादक मनोहरि सिंह काठमाडौं आएको मौका छोपी मुम्बई जाने इच्छा व्यक्त गरे। यसअघि कोलकातामा गीत रेकर्डिङका क्रममा भेटेका गजमेरलाई सिंहले मुम्बई आउने भए आफूले सहयोग गर्ने वाचा दिए। दिदी–भिनाजु मुम्बईमै हुनु र पत्नी कुसुमले पनि आँट थप्नु गजमेरका लागि थप हौसला बन्यो।
मुम्बईमा सिंहले एसडी बर्मन र उनका छोरा आरडी बर्मनसँग भेट गराइदिएपछि गजमेरको नयाँ चरण शुरू भयो। ‘डेस्टिनेशन बम्बई’, ‘अप्रतीम बाबु–छोरा’, ‘बम्बईमा संघर्ष अनि सद्भाव, ‘केही गीत, केही गायक’ आदि शीर्षकमा गजमेरले त्यहाँका दिग्गजहरूसँग काम गर्दाका अनुभव पढ्न पाइन्छ।
त्यस वेला सङ्गीत निर्देशक र वाद्यवादकहरूको टोली एकसाथ बसेर लामो समय अभ्यास चल्थ्यो। गजमेरले बर्मन बाबुछोराका स्थायी ‘सिटिङ म्युजिसियन’ बन्ने अवसर पाए। बाबुछोराका वाद्यवादक टोली एउटै हुने भएकाले गजमेर दुवैको सीटिङ र रेकर्डिङमा हुन्थे। उनी करीब पाँच वर्ष एसडी बर्मनसँग निकट रहे। पञ्चमसँग हरे राम हरे कृष्ण (१९७१) देखि उनको सङ्गीत रहेको अन्तिम फिल्म १९४२ अ लभ स्टोरी (१९९४) सम्म दुई दशकभन्दा बढी काम गरे। यसर्थ गजमेर बर्मन परिवार र बलिउड सङ्गीतबारे बोल्न सक्ने आधिकारिक पात्र हुन्।
गजमेरमा आफ्नो पहिचानको भोक थियो भने प्रयोगशील पञ्चम नयाँ ‘साउन्ड’ को खोजीमा थिए। पञ्चमसँगको पहिलो साक्षात्कारमा गजमेरले मादल बजाउँदै दार्जीलिङमा सुनेको लोकधुनमा आधारित ‘कान्छा रे कान्छा रे’ गीत सुनाएका थिए। पञ्चमले त्यही बोल र लयमा आधारित ‘कान्छी रे कान्छी रे’ गीत लता मंगेशकर र किशोर कुमारको स्वरमा रेकर्ड गराए। त्यसमा गजमेरले मादल बजाएका थिए। रेकर्डिङ सकिएपछि पञ्चमले प्रफुल्लित मुद्रामा हौस्याउँदै ‘कान्छा’ नाम दिएकोबारे गजमेरले यसरी बताएका छन्, ‘उहाँले यस्तो ठप्पा, अझ् लालमोहर नै ममाथि लगाइदिनुभयो, जसबाट म इन्डस्ट्री (बलिउड)मा आजपर्यन्त चिनिन्छु।’ त्यसपछिका गीतहरूमा पञ्चमले कान्छाको मादललाई आफ्नो ‘सिग्नेचर’ बनाए।
अनिरुद्ध भट्टाचार्जी र बालाजी भित्तालले पञ्चमबारे लेखेको पुस्तक आरडी बर्मन: द म्यान एन्ड द म्युजिकमा समेत गजमेर र उनको मादलबारे चर्चा पाइन्छ। ‘हरे राम हरे कृष्ण’का दुई गीत ‘कान्छी रे कान्छी रे’ र ‘ओ रे घुंघरु का बोले रे’को सन्दर्भ जोड्दै यी गीतबाट बलिउडमा पहिलो पटक नयाँ ‘साउन्ड’ सुनिएको उल्लेख गरेका छन्। गजमेरले बर्मनका अलावा खय्याम, नौसाद, रवीन्द्र जैन, जगजित सिंह, भूपेन हजारिका, एआर रहमान जस्ता दिग्गजसँग समेत काम गरेको कुरा थाहा नहुने पाठकका लागि रोचक जानकारी हुन सक्छ।
बर्मन अकेस्ट्रामा जमेपछि गजमेरभित्र आफ्नै सङ्गीतमा नेपाली गीत बनाउने पुरानो रहर ब्युँतियो। यो रहर मुम्बई बसाइक्रममा तुलसी घिमिरेसँग घनिष्ठता बढेपछि सजीव बन्यो। सन् १९७५ मा घिमिरेसँग भेट भएपछि उनीहरूको सम्बन्धले पारिवारिक रूप धारण गर्यो। गजमेरपुत्री भारती र घिमिरेबीच प्रेमविवाह भयो। मुम्बईमा फिल्म सम्पादन सिकिरहेका घिमिरे र गजमेरले सँगै नेपाली फिल्म निर्माणको सपना देखे। यसमा गजमेरपत्नी कुसुम, दीपा झ, उदितनारायण, बनी प्रधान लगायत जोडिए।
बर्मन अर्केस्ट्राका कलाकारको साथ र पारिवारिक सम्बन्धका मानिसहरूको संलग्नताले कम खर्चमा स्तरीय काम हुन कसरी सहज भयो भन्ने कुरा ‘बाँसुरीको धुन’ शीर्षकमा पढ्न पाइन्छ। गजमेरले बाँसुरी फिल्मका लागि पञ्चमकै स्टुडियोमा गीत रेकर्ड गर्न पाए। उनले आशा भोसलेलाई गीत गाउन मनाए। कुसुम सफल गीतकार बनिन्। बाँसुरीका गीत चलेपछि कुसुमे रुमाल, सम्झना, चिनो, दक्षिणा, दर्पण छायाँ जस्ता फिल्मका सदाबहार गीत–सङ्गीत सिर्जना गर्ने सिलसिला नै चल्यो।
पुस्तकमा थोरै तर राम्रा नेपाली गीत गाएका डेनी डेन्जोङ्पाबारेको संस्मरण छोटो–मीठो छ। तर, गजमेरका फिल्ममा सबैभन्दा धेरै गीत गाएका उदित नारायणसँगको सहकार्यका कुरा विस्तारमा नआउँदा खल्लो लाग्छ। आफ्नो जीवनकालमा अनगिन्ती सर्जकसँग काम गरेका गजमेरले धेरैलाई सम्झिएका छन्, तर ती स्मृति सिलसिलाबद्ध छैनन्। अम्बर गुरुङबारे उनले गरेको छ्यासमिसे चर्चा एउटा उदाहरण हो।
पुस्तकमा रञ्जित दुई पटक मजाले रोएका छन्। एक पटक पञ्चमको निधनमा, अर्को पटक कुसुमको मृत्युमा। पुस्तकको आखिरी चर्चा उनले जीवनसाथी कुसुमप्रति समर्पित गरेका छन्। नेपाली श्रोताले कुसुमलाई कर्णप्रिय गीतका रचनाकारका रूपमा गुनगुनाउँदै आएका थिए। पुस्तकले कुसुमलाई गीतकारभन्दा फराकिलो दायरामा चिनाएको छ।
गजमेरको जीवनमा दार्जीलिङ–काठमाडौं–मुम्बईका सङ्गीत मिसिए झैं उनका सिर्जनामा पनि यी ठाउँका सङ्गीतको प्रभाव परेको छ। पुस्तक गजमेरको आत्मकथा भए पनि यसले यी तीन शहरको सङ्गीत–संस्कृतिको कथा भन्छ। तर, दार्जीलिङ, काठमाडौं र मुम्बईका सङ्गीत उनका लागि कहाँनेर उस्तै र कहाँनेर फरक थियो भन्ने खालका धारणा पढ्न पाइँदैन। उसो त गजमेरका धेरै फिल्मी गीतमा भाषा नेपाली भए पनि काम गर्ने जनशक्ति कि प्रवासी नेपाली कि भारतीय छन्। उनैले लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ जस्तो सशक्त कवितामा कालजयी सङ्गीत पनि बनाएका छन्। गजमेरलाई ठाउँ, मान्छे र सन्दर्भले सङ्गीत सिर्जना गर्ने वेला केही फरक पार्यो कि पारेन होला ? गजमेर नेपाली र हिन्दी सिनेमा सङ्गीतको ‘स्वर्णकालीन’ समयका सक्रिय साक्षी हुन्। उनले मुम्बईमा सिर्जना गरेका ‘नेपाली’ सङ्गीत, त्यही समयमा दार्जीलिङ र काठमाडौंमा उनका समकालीनहरूले जन्माएको ‘नेपाली’ सङ्गीतभन्दा कहाँ समान र कहाँ अलग छन् ? प्रथम दृष्टिबिन्दुमा लेखिएको पुस्तकमा यस्ता प्रश्नको जवाफ लेखक खरेलबाट अपेक्षा गर्ने वा स्वयं गजमेरबाट?
पुस्तकका धेरै खण्डमा समयक्रम अनुसार खास समय र पात्रको कथा भन्ने प्रयास त भएको छ, तर पढ्दै जाँदा संरचना खुकुलो लाग्छ। पुस्तकका रूपमा आउँदा कतिपय पक्षको विस्तृतीकरण खोजिन्छ, तर अति संक्षिप्त चर्चाले तृप्त पार्दैन। सङ्गीत जस्तो धेरैलाई मन्त्रमुग्ध बनाउने विषयको किताबमा सूचना अलि बढी र भावना वा आत्मा कम भएको हो कि ! किताबको उठान जति बलियो लाग्छ, बैठान अपूरो लाग्छ। पञ्चमको निधनपछिका गजमेरको कहानी कम छ। हिज्जेगत त्रुटि पनि बग्रेल्ती भेटिन्छन्। प्रथम पुरुषमा लेखिएको किताबका धेरैजसो क्रियापदमा चन्द्रबिन्दु/शिरबिन्दु देखिँदैनन्। एउटा शीर्षकभित्र भनिसकिएका कुरा अर्को शीर्षकभित्र दोहोरिएका छन्।
गजमेरको पूर्ण आत्मकथा भन्न नसकिए पनि यो पुस्तक महत्त्वपूर्ण छ। किनकि, हामीकहाँ सङ्गीत सुनिने कला हो, पढिने/लेखिने/खोज–अनुसन्धान गरिने विषय अझै भइसकेको छैन। हाम्रा सबैजसो सङ्गीतज्ञको प्राथमिक अनुभव उनीहरूसँगै बिलाएर गएको छ। यस्तोमा यो पुस्तक आउनु स्वागतयोग्य छ। पाठक तथा अध्येताका लागि गजमेरसँगै थप शोधखोज गर्ने अवसर पनि जीवित छ।
मोहनी मादलको लेखकः शेखर खरेल प्रकाशकः वी रिड पृष्ठः २४० मूल्यः रु.५५०
(गौतम रैथाने सङ्गीत समूहमा आबद्ध छन्। हिमालको २०७९ माघ अङ्कबाट। )