‘दुई वर्षपछि आँखा देख्दा खुशीले भक्कानिएछु’
मोतीबिन्दुको शल्यक्रियापछि आँखा देखेका मकवानपुर र बाराका ७० जनाले नयाँ जीवन पाएको बताएका छन्।
दुई वर्षदेखि मोतीबिन्दुको कारण आँखाको ज्योति गुमेपछि अप्ठ्यारोमा परेका मकवानपुरको बकैया गाउँपालिका-५ का ४५ वर्षीय माने माझी अहिले दोस्रो जन्म पाए जस्तै भएको बताउँछन्। “यो जन्ममा मेरो संसार अन्धकार नै होला भन्ने सोच्या थिएँ, अहिले म त फेरि जन्मे जस्तो भएको छु,” आँखाको शल्यक्रियापछि माझीले भने, “पट्टी खोल्दा झिलिक्क उज्यालो देखें, म त कता कता खुशीले भक्कानिएछु।”
दुई वर्षअघि आँखाको ज्योति गुम्दा पनि उनले उपचार गरेका थिएनन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेको उनले बताए। अहिले भने नयाँ जीवन पाएको उनी सुनाउँछन्।
५७ वर्षीया सुन्तली खड्काले पनि १६ महीनापछि आँखा खोलेर संसार हेर्न पाइन्। “उपचार गर्न खर्च लाग्छ भन्थे, मसँग पैसा थिएन,” आँखाको शल्यक्रियापछि खड्काले भनिन्, “अब भीरपाखाबाट आँखै नदेखेर लडिएला भन्ने पीर हट्यो।”
दुवै जनाको आँखाको ज्योति फर्काएको हेटौंडास्थित हेटौंडा सामूहिक आँखा अस्पतालले हो। यो अस्पतालले विकट गाउँमा आँखा शिविर सञ्चालन गरेर निःशुल्क शल्यक्रिया सेवा दिंदै आएको छ।
गाउँमा आँखा शिविर सञ्चालन गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्थाका व्यक्तिलाई हेटौंडा बोलाउने गरेको छ। उनीहरूको निःशुल्क शल्यक्रिया गरिन्छ। यस पटक ७० जनाको आँखाको शल्यक्रिया गरिएको छ।
यसरी हरेक वर्ष दुई हजारदेखि दुई हजार पाँच सय जनाको आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिंदै आएको अस्पतालले जनाएको छ।
बागमती र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आँखा उपचारका लागि सेवाग्राही आउने गरेको अस्पतालका प्रमुख डा. सुनील थकालीले बताए। यसपटक मकवानपुरको बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी र बारामा गरिएको शिविरबाट मोतिबिन्दु पहिचान भएका ७० जनाको शल्यक्रिया गरिएको डा. थकालीले बताए।
अस्पतालले हरेक वर्ष तीनदेखि पाँच स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा आँखाको समस्या पहिचान गर्ने र उपचारमा सघाउने गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख सुधीर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, मोतीबिन्दु र अन्य गरी वर्षमा पाँच हजार जनाको शल्यक्रिया हुने गरेको छ।
आँखाको समस्या भएर उपचारमा आउनेमध्ये ३० प्रतिशतमा मोतीबिन्दुको समस्या देखिने गरेको अस्पतालका डा. थकालीले बताए। त्यसमा ६५ प्रतिशत महिला हुने गरेका छन्।
सामान्यतया आँखामा मोतीबिन्दु भएपछि उपचारमा आठदेखि १० हजार खर्च लाग्छ। शिविरबाट पहिचान भएका बिरामीको भने निःशुल्क शल्यक्रिया गरिन्छ।
यसरी शिविर सञ्चालन गर्दा अस्पतालले स्थानीय संघसंस्थासँग सहकार्य गर्दै आएको छ। यसपटकको शल्यक्रियाको सबै खर्च हेटौंडाका माधव र राधिका राजभण्डारीले बेहोरेका छन्। उनीहरूले छोरा आशिषको सम्झनामा आँखा शिविर सञ्चालनमा सहयोग गरेका हुन्।
पहिलो पटक स्थानीय दाताको सहयोगमा शिविर र शल्यक्रिया गरिएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए।