सयौं बालबालिकाकी ‘आमा’ लाई उपसभामुखको जिम्मेवारी
साहित्यकार पारिजातको सामाजिक सेवाबाट प्रभावित भएर समाजसेवामा लागेकी इन्दिरा राना मगरले देशभित्र र बाहिर थुप्रै अवार्ड पाएकी छन्।
सयौं बालबालिकालाई लालनपालन र शिक्षादीक्षा दिंदै आएकी समाजसेवी इन्दिरा राना मगर सबैले सुनिरहेको नाम हो। सामान्य परिवारमा जन्मिएकी इन्दिरा आफू भने ११ वर्षमा बल्ल विद्यालय जान पाएकी थिइन्। उनै इन्दिरा प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद बनेकी इन्दिरा सत्ता साझेदार दलको समर्थनमा उपसभामुख चुनिएकी छन्। प्रतिनिधि सभामा माघ ७ गते भएको निर्वाचनमा उनको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो। मतदानमा सहभागी २६४ सांसदमध्ये एक जना तटस्थ बसे।
उनी केही महीनाअघि मात्रै राजनीतिमा जोडिएकी थिइन्। गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनबाट सामानुपातिक सांसद निर्वाचित भएकी हुन्।
नेपालको संसदीय इतिहासमा १२औं उपसभामुख बन्ने अवसर पाएकी इन्दिरा यसअघि समाजसेवामा समर्पित थिइन्। आमाबाबुसँगै कारागारमा रहेका बालबालिकालाई आश्रय दिंदै आएकी उनलाई सयौं बालबालिकाले ‘आमा’ भन्ने गरेका छन्। उनकी एक छोरी छिन्।
साहित्यकार पारिजातको सामाजिक सेवाबाट प्रभावित भएर उनी समाजसेवामा लागेकी थिइन्। उनले देशभित्र र बाहिर थुप्रै अवार्ड पाएकी छन्, सफल समाजसेवीका रुपमा।
३३ वर्षदेखि सयौं बालबालिकाकी आमा बनेकी इन्दिरा समाजसेवामा लाग्नुअघि शिक्षण पेशामा आबद्ध थिइन्। झापाबाट काठमाडौं आएपछि अध्यापनमा लागेकी थिइन्। शिक्षकका रूपमा काम गरिरहेकै अवस्थामा कारागारमा रहेका राजबन्दीको अधिकारको पक्षमा काम गरिरहेकी साहित्यकार पारिजातसँग भेट भएको थियो। पारिजातले नै कारागारमा लगेर आफूले गर्दै आएको कामबारे जानकारी दिएको इन्दिरा सुनाउँछिन्।
त्यही क्रममा उनले नेपालको न्याय निरूपण प्रणालीसँग परिचित हुने मौका पाइन्। र, कारागारमा कैद भुक्तान गर्दै आएका कैदीबन्दीको अधिकारका पक्षमा काम गर्न थालिन्। त्यसपछि उनी कारागारमा रहेका बालबालिकासँग परिचित भएकी थिइन्।
अहिले पनि दुई हजारभन्दा बढी बालबालिकाकी आमा समेत रहेकी इन्दिरा बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष हुन्। उनको संस्थाले काठमाडौं, भक्तपुर, झापा लगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ।
यसका साथै उनले आफ्नै गाउँमा पठन संस्कृतिको विकास गर्न डेढ दशक पहिले जुनकिरी पुस्तकालय स्थापना गरेकी थिइन्। सोही पुस्तकालयलाई उनले आफ्नो नामको डेढ कट्ठा तथा दाजुहरू जगत र रणबहादुर राना मगरबाट एक कट्ठा गरी दुई कट्ठा १० धुर जमीन उपलब्ध गराएर जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका रूपमा विकास गरेकी छन्। जुनकिरी विद्यालयमा १०७ बालबालिका अध्ययनरत छन्।
उनी सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन्। त्यसअघि सन् २०१४ मा स्वीडेनको ‘वर्ल्डस् चिल्ड्रेन्स फाउन्डेशन’ ले प्रदान गर्दै आएको वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पाएकी थिइन्। उनले एशिया-२१ लिडर्स, अशोक फेलो लगायत दुई दर्जनभन्दा बढी अवार्ड पाएकी छन्।
झापाको शनिश्चरेकी इन्दिराले स्नातकसम्म अध्ययन गरेकी छन्।