सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले २७, डल्ली भट्टले २२, कविता जोशीले १९, कविता कुँवरले १२, रुबी पोद्दारले आठ र बिन्दु रावलले सात रन बनाइन्। प्रदेश १ का लागि शवनम राई, रुविना क्षेत्री, संगीता राई र हिराणमायी रोयले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले पाँच विकेटको क्षतिमा १०१ रन बनाएको थियो। प्रदेश १ का लागि काँजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुबिना क्षेत्रीले १४ रन बनाएकी थिइन्। अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।