उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्।
प्रतिनिधि सभामा शनिबार भएको निर्वाचनमा मगर बहुमतले उपसभामुख निर्वाचित भएकी हुन्। उनको पक्षमा १६६ मत पर्यो भने विपक्षमा ९७ मत परेको छ। एक जना सांसद तटस्थ बसे। मतदानमा २६४ सांसद सहभागी थिए।
उनलाई स्वतन्त्र पार्टीसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनतम पार्टीका सांसदले मत दिएका छन्।
उनलाई उपसभामुख चयन गर्न स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले प्रस्ताव गरेकी थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका थिए।
समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी राना मगर समानुपातिकबाट सांसद निर्वाचित भएकी हुन्। झापाकी ५२ वर्षीया राना मगरले आमाबुबासँग कारागार पुगेका बालबालिकालाई आश्रय र शिक्षा दिंदै आएकी छन्। उनी संस्थापक रहेको बन्दी सहायता नेपालले काठमाडौं, भक्तपुर र झापा लगायतका जिल्लामा १२ बालगृह र दुई विद्यालय सञ्चालन गरिरहेको छ।
उपसभामुखमा नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन्। यादवलाई उपसभामुखमा निर्वाचन गर्न कांग्रेस सांसद बद्री पाण्डेले प्रस्ताव गरेका थिए भने नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले समर्थन गरेका थिए।
स्वतन्त्र पार्टीकी सांसद राना मगर बहुमतले निर्वाचित भएपछि यादवलाई उपसभामुख बनाउन दर्ता गरिएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएन।