लखनउ: जहाँ अझै बाँकी छ नवाबी स्वाद
मुगल राज्यका मुख्य खानाका लागि प्रसिद्ध तीन ठाउँ लाहोर, दिल्ली र लखनउमध्ये अहिलेसम्म आफ्नो वैभव र गुणस्तर बचाएर राख्न सफल चाहिँ लखनउ मात्रै हो।
प्राकृतिक सौन्दर्य बोकेका हिमाल, पहाड, मरुभूमि, नदी, समुद्री किनारा एवं सभ्यता र संस्कृति बोकेका पौराणिक, सम्पदा, धार्मिक स्थल, नाचगान, संस्कृति, खाना संसारभर नै पर्यटकका लागि आकर्षणका विषय बन्ने गरेका छन्। यस्ता ठाउँमध्ये कतिपय रोमाञ्चक यात्राका लागि रोजाइमा पर्छन् भने कतिपय शान्तिपूर्वक केही दिन बिताउनका लागि। केही ठाउँ जान्न र भोग्नकै लागि सपरिवार पुगिन्छ। गन्तव्यको छनोट समय, साथ र स्रोतमा भर पर्छ।
यसपटक यस्तै भयो, एकाएक लखनउ जाने योजना बन्यो। त्यसो त भारत भन्नासाथ प्रायः नेपालीका लागि धार्मिक स्थलपछि गोवा जस्ता पर्यटकीय स्थल पहिलो प्राथमिकतामा पर्छन्। समुद्रसँग नछोइएकाले पनि होला नेपालीलाई समुद्री किनारले तान्ने गरेको छ।
पुसको मध्य भइसकेको थियो। अफिसमा बिदा मिलिसकेको थियो। विद्यालयको हिउँदे बिदा पनि शुरू हुन लागिसकेको थियो। तैपनि कहाँ जाने टुङ्गो लागिसकेको थिएन। हामी चाहन्थ्यौं, कुनै गज्जबको सांस्कृतिक स्थानमा जाउँ जहाँको खाना, संस्कृति र घुमघाम परिवारका लागि जिन्दगीभर स्मृतिपटलमा बसिरहोस्। साथै, स-साना छोराछोरीका लागि दिक्कलाग्दो पनि नबनोस्।
फेरि हामी बुकिङ गरेर बनाएको ‘गाइडेड’ टुर भन्दा आफ्नै तरिकाले घुम्न चाहन्थ्यौं ताकि हामीले बनाएको ‘सेडुल’ ले हामीलाई नै नसताओस्। यस्तो घुमघाममा केही जोखिमसँगै स्वतन्त्रता पनि उत्तिकै हुन्छ। अनि छोराछोरीका लागि पनि अनौठो अनुभव पनि।
अन्ततः यात्राको योजना तय भयो, नेपालगञ्जबाट निस्केर लखनउ, राजस्थानको जयपुर, शोधपुर, उदिपुर-दिल्ली हुँदै काठमाडौं फर्कने।
शुभ शुरूआत
यात्रा थाल्ने तय गरिएको भन्दा अघिल्ला दिन तराईमा बाक्लो हुस्सुका कारण जहाजहरू समयमा उड्न सकिरहेका थिएनन्। त्यसैले मनमा केही भय थियो, कति घण्टा एअरपोर्टमा बस्नु पर्ने हो!
केही गरी ढिलो भइहाले त्यो दिन नेपालगञ्ज नै बस्ने भनेर होटल समेत बुक गरेका थियौं। तर, सुखद संयोग, त्यो दिन नेपालगञ्जको एअरपोर्ट बिहानै खुल्यो। काठमाडौंबाट जहाज पनि समयमै उड्यो। कस्तो रमाइलो। बिहानको घाम ताप्दै हामीले नेपालगञ्जमा खाना खायौं र सडक यात्राबाट लखनउतिर लाग्यौं।
अनलाइनमा महँगो
हामीले हिंड्नुअघि बस्ने होटलको खोजी गरेका थियौं। करीब सात हजार भारतीय रुपैयाँ प्रति दिनको खर्च थियो। तर, हामीलाई नेपालगञ्जमा सुझाव दिने साथीले बुक गर्नुभन्दा धेरै होटल भएको गोमती नगर क्षेत्रमा जाने र त्यहीं कुरा गरेर बस्ने सल्लाह दिनुभयो।
होटल नपाइए के गर्न भन्ने तनाव हुँदाहुँदै पनि हामीले त्यो जोखिम उठायौं। ट्याक्सीमा सीधै गोमती नगर पुगेर अनलाइनमा हेरेकै होटलमा गयौं। रोचक त अनलाइनमा सात हजार भारुभन्दा बढी रकम देखाइरहेको सुविधा तीन हजारमै पायौं।
लखनउमा घुमघाम
३८ लाख जनसंख्या भएको लखनऊ भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको राजधानी हो। साथै, नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बासिन्दाका लागि रोजगारी, औषधोपचार र शिक्षाको गन्तव्य पनि।
त्यसैले धेरै नेपालीका लागि लखनउ विशुद्ध पर्यटनको गन्तव्य होइन। हामी भने ट्रिप एड्भाइजर र लोन्ली प्लानेट जस्ता अनलाइनको सुझाव पढेर त्यहाँ पुगेका थियौं।
लखनउलाई भारतमा राज गर्न पुगेका नवाबहरूले बनाएका हुन्। उनीहरूले बनाउन लगाएका सुन्दर भवन, बगैंचाका साथै संगीत र नृत्यले लखनउ चर्चित भएको थियो। त्यही वैभवलाई पछि शासन गर्न पुगेका बेलायतीले विस्तार गरे। त्यसैले अहिले पनि लखनउ कलाप्रेमीका लागि उत्कृष्टमध्ये एक गन्तव्य हो।
भुलाउने भुलभुलैया
आश्चर्यजनक तथा उत्कृष्ट शिल्प प्रयोग भएको इमामबडा इश्लामी शासनताकाको उत्कृष्ट सिर्जना हो। सन् १७७३ मा शुरू गरेर १८८४ मा निर्माण सम्पन्न भएको यो संरचना मुगल शैलीको सुन्दर मस्जिदका साथै लुक्नका लागि बनाइएको विचित्रको भुलभुलैया र सुरक्षाका लागि निर्माण गरेको पानीको तलाउका कारण चर्चित छ। जहाँको भुलभुलैयामा पसेपछि पथप्रदर्शकको सहारा विना बाहिर निस्कन गाह्रै हुन्छ।
यति महत्त्वपूर्ण सम्पदाको संरक्षण भने व्यवस्थित रूपमा भएको छैन। दैनिक हजारौं मानिसले हेर्न जाने यहाँका पर्खाल ठाउँ ठाउँमा भत्किएका छन्। भारतको राजनीतिमा धार्मिक अतिवादी राजनीतिक नेतृत्व भएकाले हो कि मुसलमान शासनको अवशेष राज्यको प्राथमिकतामा नपरे जस्तो देखिन्छ।
मनै हर्ने शहरी पार्क
लखनउको अर्को विशेषता हो, ठूला ठूला पार्क। इस्लामी शासनकालदेखि नै लखनउमा विशाल पार्कहरू निर्माण गरिएका रहेछन्। ती पार्कलाई पछि अंग्रेजले थप संरक्षण र विस्तार गरे।
शहरको केन्द्र आसपासमा रहेका सानाठूला गरी करीब ११ वटा पार्कबाटै अहिले लखनउले सास फेरिरहेको छ। भर्खरै निर्माण भएको जनेश्वर मिश्र पार्क एशियाकै सबैभन्दा ठूलो शहरी पार्क ९१.५२ वर्ग किलोमिटर हो, जसलाई सौर्य बिजुलीको प्रयोग गरी व्यवस्थापन गरिएको छ।
पार्कमा घाम तापिरहेका वृद्धवृद्धा, आफैंमा निमग्न प्रेमिल जोडी, साइकल चलाइरहेका मानिस, खेलिरहेका बच्चा, पिकनिक मनाइरहेका परिवार देख्दा लाग्थ्यो, केन्द्रमा यत्रो पार्क हुनु शहरकै गौरव, शान र प्रतिष्ठा हो।
दुई स्वादको संगम
लखनउको अर्को विशेषता हो, यहाँको परिकार। त्यसो त मुगल साम्राज्य उत्कृट परिकारको कारण पनि इतिहासमा अभिलिखित छ। त्यही मुगलकालीन नवाबी खाना झनै प्रसिद्ध छ। मुगल राज्यका मुख्य खानाका लागि प्रसिद्ध तीन ठाउँ लाहोर, दिल्ली र लखनउमध्ये अहिलेसम्म आफ्नो वैभव र गुणस्तर बचाएर राख्न सफल चाहिं लखनउ मात्रै हो।
कबाब, बिरयानी, कुल्फी, चिकेन मसाला, मलाई मखन, खस्ता कचोरी, चाट जस्ता खाना लखनउका लोकप्रिय परिकार हुन्। अमिनावादमा रहेको झण्डै १२० वर्ष पुरानो टुँडे कबाब वा अरसिदको बिरयानी वा प्रकाशको मुसुद कुल्फी वा शर्माजीको चिया लखनउ पुगेपछि पुग्नैपर्ने ठाउँ हुन्।
शताब्दी पुरानो चिडियाघर
लखनउमा छुटाउनै नहुने अर्को ठाउँ हो त्यहाँको चिडियाघर। करीब सन् १९२१ तिर स्थापित यो चिडियाघरमा उष्ण हावापानीमा पाइने थुप्रै जनावर छन्। खास गरी सिंह, सेतो बाघ, पुतली, मृग, बाघ, माछा, सर्प यहाँका विशेषता हुन्।
किनमेल नगरी हुन्छ र भ्रमण
जुनसुकै भ्रमणको विशेषता हो, किनमेल। पुगेको ठाउँको स्थानीय उत्पादन नबोकी फर्किने पर्यटक कमै हुन्छन्। त्यसमाथि लखनउ त नेपालीहरू किनमेल गर्न जाने पुरानो शहर।
खासगरी सुतीका सामान, चिकेनकारी साडी र कुर्ता, हिरा र सुनका गहना, स्थानीय अत्तर, झोला, परम्परागत नग्रा जुत्ता र हस्तकलाका सामानको लागि प्रसिद्ध छ लखनउ।
त्यस बाहेक अहिले खुलेका नयाँ आधुनिक सपिङ मलमा थुप्रै अन्तर्राष्ट्रिय ब्रान्डका सामान सजिलै किन्न पाइन्छ। परम्परागत र आधुनिक दुवै सामग्री किन्न चाहनेका लागि यो नजिकको गन्तव्य हो।