प्रहरीले मानेन सांसद पक्राउ गर्न गृहमन्त्रीले दिएको निर्देशन
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
मधेश आन्दोलनका क्रममा घाइते भएका सहस्त्र प्रहरीका असई थमन विकलाई अस्पताल लग्दै गर्दा एम्बुलेन्सबाट बाहिर निकालिएको थियो। एम्बुलेन्सबाट निकालेर हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।
यसमा सांसद कोइरी विरुद्ध मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत, महोत्तरीले कोइरीलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, पछि २०७७ मंसीरमा उच्च अदालत, जनकपुरले जिल्ला अदालतको आदेश उल्टाउँदै थुनामा राख्न आदेश दिएको थियो। तर, कोइरी अहिलेसम्म पक्राउ परेका छैनन्। प्रतिनिधि सभामा उपस्थित भएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको दिएका थिए।
उनलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका थिए। तर, प्रहरीले गृहमन्त्री लामिछानेको निर्देशन नमानेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।
प्रवक्ता पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘लक्ष्मी महतो कोइरीलाई कानून बमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
प्रहरीले गृहमन्त्री लामिछानेको निर्देशन नमानेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भनेका छन्, ‘निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’